नारायणगढ–मुग्लिन सडक निर्माण, लेनदेनकै कारण समस्याः मुख्यमन्त्री 

२०७४ फाल्गुण २ बुधबार ०६:१६:०० मा प्रकाशित

चितवन, २ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षणपछि मंगलबार  पत्रकारहरुसँग कुराकानी गर्दै उनले सबै क्षेत्रका कानुनहरुमा केहि त्रुटि रहेकाले अब त्यसलाई सच्चयाउनुपर्ने बताए । 

मुख्यमन्त्री पौडेलले भने, “कहाँबाट भ्रष्टाचार गर्ने हो, बाटोहरु कानुनले नै खोलिदिएको छ ।” 

“सबै कुरा गएर पैसामा अडिएको छ,” उनले भने, “लेनदेनकै कारण यी सबै भएको हो, त्यसैले कानुनलाई परिवर्तन नगरेसम्म परिवर्तनको अनुभूति दिलाउन सकिदैन् । 

मुख्यमन्त्री पौडेलले “जे जस्तो समृद्धिको कुरा गरिरहेका छौँ, विधमान कानुनबाट त्यो सम्भव देखिएको छैन,” भन्दै त्यस्ता कानुन प्रदेशसभाले परिवर्तन गर्ने तर त्यो परिवर्तन आजको भोलि नभएर केही समय लाग्ने बताए । 

सडक विस्तारको काममा ढिलाइ भइरहेकाप्रति इङ्गित गर्दै उनले मिति थप्दै जाने र काम नहुने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । 

उनले भने, “अब फेरि पनि तीन महिनाको मिति थप्ने हो भने त्यो अन्तिम हुनुपर्छ । त्योभन्दा पनि पछि मिति थप्ने काम भयो भने त्यो राम्रो हुँदैन ।” 

एकले अर्कोलाई दोष दिएर काममा ढिलाइ गर्न नपाइने बताउँदै मुख्यमन्त्री पौडेलले परियोजना, परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिए । 

निरीक्षणमा आएका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेलले कम मूल्यमा टेण्डर पार्ने प्रवृत्तिको अन्त्य नभएसम्म समयमा काम नहुने बताउँदै समयमा सडक नबन्दा जनताले दुःख पाएको र त्यसको दोषी राज्य र कानुन भएको बताए । 

सो अवसरमा आयोजनाका डिभिजनल इञ्जनियर गोविन्द खनाल, परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मी र ठेकेदार कम्पनीका प्रतिनिधिले आआफ्नो प्रगति विवरण र समस्याका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी दिएका थिए । 

निरीक्षण टोलीमा प्रदेश सांसद विजय सुवेदी, दावा लामा, रिना गुरुङ, पार्वती सिलवाल पनि थिए । 

नारायणगढ–मुग्लिन सडक आयोजनाको तेस्रो पटक थपिएको मिति यसै साता सकिन लागेकाले पुनः मिति थपका लागि प्रक्रिया अगाडि बढेको छ । तीन महिना मिति थप्नका लागि विभागमा प्रस्ताव गरिएको छ । 

दुई वर्षका लागि ठेक्का दिइएको सो सडक आयोजनाको मिति तीन पटक गरी १० महिना थप गरिसकिएको छ । हालसम्म उक्त आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भएको छ 

ताजा खबर