महाशिवरात्रि पर्व : डोलेश्वर, आशापुरी र कैलाशनाथमा भीड

२०७४ फाल्गुण १ मंगलबार १२:३७:०० मा प्रकाशित

भक्तपुर, १ फागुन । महाशिवरात्रि पर्वका अवसरमा मंगलबार यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । 
सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ । लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको समितिका वरिष्ठ उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए। 

भक्तजनका लागि डोलेश्वरकोे पञ्चस्नान गर्न र चारै प्रहर पूजा गर्न सशुल्क व्यवस्था गरिएको जानकारी दिए। स्वयंसेवकका रुपमा नेपाल स्काउट र सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । मन्दिरमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको छ । महाशिवरात्रि पर्वका लागि भारतबाट आएका ४०० नागा बाबा एवं साधुसन्तलाई खानेबस्ने व्यवस्थाका साथै धुनी बाल्न दाउराको व्यवस्था गरिएको छ । 

बुधबार बिदाइ गरिने जोगीहरुलाई दक्षिणास्वरुप ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७७७ र ‘ग’ वर्गकालाई रु ५५५ सहित एक एक थान कम्बल एवं धोती दिइनेछ । 

आशापुरीमा मेला 

परापूर्वकालदेखि नै मनको इच्छा पूरा गर्ने महादेवका रुपमा परिचित सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज दर्शनार्थीको घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकको सिमाना नैचालसँग जोडिएको आशापुरी महादेव मन्दिरमा आज दर्शनार्थीका साथै रुद्री पाठ र होम गर्नेको समेत भीड लागेको छ । सहज दर्शनका लागि स्वयंसेवक परिचालन गरेर व्यवस्थापन गरिएको छ । 

आशापुरीसम्म कालोपत्रे सडकको पहुँच पुगेपछि दर्शनार्थीको भीड बढेको छ । डोलेश्वर आउने भक्तजन आशापुरी र आशापुरी आउने भक्तजन डोलेश्वर आउने भएकाले पनि दुवै मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको बताइएको छ । 

कैलाशनाथमा उस्तै 

सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । एक सय ५५ फिट अग्लो कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको भीडलाई ध्यानमा राखी दोहोरो आवागमनको व्यवस्था गरिएको सञ्चालक कमल जैनले जानकारी दिए। 

उनले भने, “विगत वर्षमा जस्तै यस वर्ष पनि एक लाख दर्शनार्थी आउने अनुमान गरेर सहज रुपमा दर्शन गर्ने व्यवस्था गरिएको छ, । भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका छौँ ।” महाशिवरात्रि, संक्रान्ति र मंगलबार एकैदिन परेकाले आजको दिनलाई यहाँ विशेष दिनका रुपमा लिइएको छ । रासस 

ताजा खबर