शिवरात्री मनाउने थरीथरीका छन् योजना

२०७४ माघ २९ सोमबार १८:३१:०० मा प्रकाशित

  काठमाडौं,२९ माघ । शिवरात्रीको आफ्नै ‘चार्म’ छ । विशेषगरी युवामाझ । यससँग गाँसिएको धार्मिकतासँग उनीहरुलाई खासै मतलब छैन । तर, शिवरात्री उनीहरुका लागि गाँजा–महोत्सव भइसकेको छ । चाबहिलका दीपेन्द्र क्षेत्री भन्दै थिए, ‘जोगीहरुका चिलिमबाट गाँजा तान्नुको आनन्दै अर्काे छ ।

‘यसपालिको शिवरात्रीमा एकदमै रमाइलो गर्ने मुडमा छौँ हामी । म्युजिक र मारिऔना (संगीत र गाँजा) को पर्व हो यो । तर, म गाँजाको अम्मली भने होइन । बर्षमा एकचोटी ‘शिवबुटी’ त खानैप¥यो नि ।’ अर्का विद्यार्थी  राजीव राईको योजना पनि त्यस्तै छ । शिवरात्रीमा रातभरि घुम्ने, गाँजा तान्ने, भजन सुन्ने र मस्ती गर्ने । ‘म चुरोट पनि नतान्ने मान्छे हुँ । तर, शिवरात्रीमा एक÷दुई स्टिक गाँजा हान्न थालेको चाहिँ तीन÷चार वर्ष भयो,’ उनले भने ।  

शिवरात्री हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि शहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई छपक्कै छोप्छ । कट्टर नास्तिकहरु पनि यस पर्वमा रमाउने गरेका छन् । पुरानो बानेश्वरका जुत्ता पसले विनोद घिमिरे आफूलाई कट्टर माक्र्सवादी भन्छन् । तर, शिवरात्रीमा भने उनी ‘इन्जोय’ गर्न चुक्दैनन् । भन्छन्, ‘कार्ल माक्र्स मेरा आदर्श हुन् । उनले धर्मलाई अफिम भनेका छन् । तर, मलाई शिवरात्री असाध्यै मन पर्छ । गाँजाको मुस्लो उडाइरहेका जोगीहरु, रंगीचंगी सारीमा ठाँटिएका महिलाका लाइन, यी सब कुराले मलाई शिवरात्रीका दिन पशुपतिमा तान्छन् । जीवनका अनेक रंग र आयाम देख्न पाइन्छ यस पर्वमा ।’  

गौशालाकी पार्वती अर्यालको पीडा भने अर्कै छ । उनी दिनहुँ पशुपति जान्छिन् । ‘तर, शिवरात्रीकै दिन भने दर्शन गर्न नपाइएला भन्ने पीर लाग्छ,’ उनी भन्छिन्, ‘पोहोर आठ घन्टा लाइनमा बसेकी थिएँ । तर, यसपालि त्यसो गर्न सक्दिन होला । टिकट काटेर दर्शन गर्ने विचार छ ।’ एक हजार रुपैयाँको टिकट काट्नेले अत्यासलाग्दो लाममा बस्नुपर्दैन । सानेपाकी दर्शनार्थी शोभा बस्नेतको पीर पनि उस्तै छ । ‘गएको वर्ष पनि सकिनसकी दर्शन गरेकी थिएँ,’ उनी भन्छिन् । 

कोटेश्वरका राम निरौलाको आफ्नै खाले शिवरात्री प्लान छ । चाडपर्वमा अलिअलि मादक पदार्थ सेवन गर्ने उनी शिवरात्रीमा घरमा साथीभाइ बटुलेर भाङ बनाउने र रमाइलो गर्ने मुडमा छन् । ‘गाँजा पनि खाने तर बेलुका पशुपति घुम्न गएको बेलामा मात्र,’ उनले भने ।

पशुपतिमा  शिवरात्रीको अघिल्लो दिनदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । भारतीय बाबाहरुको आउने क्रम भने सुरु भइसकेको छ । धेरै बर्षदेखि शिवरात्रीमा नियमित पशुपति आउने गरेका एक बाबा भन्छन्, ‘यहाँके युवालोग हमसे गान्जा मागते हैँ और थोडा रुपियाँ भि देते हैँ । मुझे तो यहाँके युवा बहुत अच्छे लगते हैँ ।’ 

शिवरात्रीमा पशुपति जाने र नयाँ नयाँ सामान किन्ने योजना बनएकी छिन् बागबजारकी समिता खड्काले । समितालाई यसरी सामान किन्न खुब मन पर्छ । ‘त्यतिबेला सामान सस्ता हुन्छन् र नयाँ नयाँ पाइन्छन्,’ उनी भन्छिन् । 

शिवरात्री साँस्कृतिक पर्व हो । तर वदलिँदो समयमा यसले आफ्नो मौलिकता गुमाउँदै गएको छ । मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुका सेवनमा शिवरात्री केन्द्रित देखिनु पक्कै पनि शुभ संकेत होइन । हरेकवर्ष यस पर्वमा हुने विकृति र विसंगतिबारे आवाज उठ्ने गरेपनि यी समस्याका  निराकरणका लागि यथेष्ट पहल हुन सकेको छैन । यसवर्ष पनि विगतमा देखिएका विकृति शिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसर अछुतो रहला भन्न सकिने बलियो आधार छैनन् । 

पशुपति दर्शनलाई सहज र सुलभ गर्ने भन्दै आएको पशुपति क्षेत्र विकास कोषले कस्तो काम गर्ने हो, हेर्न बाँकी छ । शिवरात्रीमा सहज ब्यवस्थापन हुन नसक्दा दर्शनार्थीहरुको धार्मिक आकर्षण घटेको जानकारहरु वताउँछन् । शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न पछिल्ला वर्षहरुमा कम भक्तजन आउने गरेको पशुपतिक्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव डा. गोविन्द टण्डन बताउँछन् । उनका अनुसार यो अवस्था आउनुका पछाडि नेपाली राजनीति जिम्मेवार छ । भन्छन्, ‘अहिले राजनीतिक स्थिरता छैन । जसले जे गर्दा र जे बोल्दा पनि हुन्छ । धार्मीक कुरालाई राजनीतिमा मुछ्न खोजिएको छ ।’

डा. टण्डन शिवरात्रीमा विशेषरुपले आउने भारतिय दर्शनार्थीहरुका लागि ब्यवस्थित धर्मशाला नभएको वताउँछन् । पशुपति क्षेत्र विकास कोषमा राजनीतिक भागबण्डा हुने उनको गुनासो छ । ‘त्यहाँ काम थोरै र राजनीति धेरै हुन्छ,’ उनी भन्छन्, ‘ अहिले भयो भनिएको तयारी लोकाचार मात्र   हो ।’ 

पशुपती क्षेत्र बिकास कोषका एक कर्मचारी विगतमा भन्दा यसपालि दर्शनार्थीहरुको उपस्थिति अलि कम हुने कुरा स्वीकार्छन् । उनको विचारमा यसवर्ष भारतीय दर्शनार्थीहरुको उपस्थिती कम हुने सम्भावना छ । उनी भन्छन् ‘यसपाली भारतीय नागरिक त्यती आएका देखिएका छैनन् । शिवरात्रीको दिन मात्र सजिसजावट गर्ने हुनाले पनि मानिसहरुले खासै ध्यान दिएका छैनन् । सरकारले पनि शिवरात्रिका लागि खासै महत्वपूर्ण योजना ल्याउन सकेको छैन ।’   

शिवरात्रीमा पशुपतिमा देखिने अव्यवस्था र अस्तव्यस्तता पुरानै कुरा हो । आशा गरांै, यसपालीको शिवरात्रीमा पशुपति विकास कोषले पुराना गल्ती दोहो¥याउने छैन । 

ताजा खबर