फागुन २६ मा सलमान खान हेर्न ५० हजार दर्शक आउने दावी

२०७४ माघ २९ सोमबार १८:०७:०० मा प्रकाशित

काठमाडौं । फागुन २६ गते बलिउड कलाकार सलमान खान आफ्नो दलबल सहित ‘द दबङ टूर’ लिएर काठमाडौं आउँदैछन्। उनीसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने पक्कापक्की भइसकेको छ। सलमान सहितको टोली तीन दिन यहाँ बस्ने छ। सलमान टोलीले टुँडिखेलमा ‘द दबङ टूर’ अन्तर्गत सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछ।

 भारतीय कलाकार टोलीलाई ओडिसी इन्टरटेन्मेन्टले  काठमाडौं ल्याउने प्रवन्ध मिलाएको हो। यसअघि हलिउडका गायक ब्रायन एडम्सलाई पनि ओडिसी इन्टरटेन्मेन्टले नै नेपाल ल्याएको थियो। त्यसबेला ३० हजार दर्शक ब्रायन एडम्सलाई हेर्न आएका थिए भने यसपटक ५० हजार दर्शक उपस्थित हुने ओडिसी इन्टरटेन्मेन्टका अध्यक्ष सिमान्त गुरुङले अपेक्षा गरेका छन् । यो कार्यक्रमको उदेश्य र तयारीबारे गुरुङसँग सरलपत्रिकाका सुकृत नेपालले गरेको यो संक्षिप्त कुराकानी :

तयारी कस्तो हुँदैछ ? 

एकदमै राम्रो तयारी भइरहेको छ। हाम्रो प्रोडक्सन लगायतका सबै कुराहरु फाइनल भइसकेको छ। लगभग ३२ ट्रक जति सामानहरु भारतबाट आउने भयो। बाँकी सामान जस्तै स्टेज लगायत यहाँ लाग्ने प्रोडक्सनका सामानहरु हामीले यहीँको प्रयोग गर्छौं। यसको लागि हामीलाई पर्यटन बोर्डले भन्सार छुट दिएर पनि सहयोग गरेको छ।  सुरक्षाको कामहरु केही बाँकी छन्। त्यो पनि चाँडै नै सकिन्छ। 

कति दर्शक आउने आशा गर्नुभएको छ?

पहिला ब्रायन एडम्स आउँदा ३० हजार देखि माथि दर्शक आएका थिए। अब यसपटक पहिलाको भन्दा कन्सर्टको क्रेज बढेकाले ५० हजार दर्शक आउने हामीले आशा गरेका छौं ।

बलिउड कलाकार त निकै महँगा हुन्छन् रे?

यो लगभग हाम्रो १० देखि १२ करोडको प्रोजेक्ट हो। यसमा प्रोडक्सन खर्च ५ करोड नेपाली रुपैंयाँ हो। उनीहरुको १ सय १० जनाको टोली छ। त्यसमा १० जना त प्रमुख नै भए। मुख्य कुरा उनीहरुको खर्च देखि लिएर सबै कुराहरु आवत जावत टिकट, यहाँ बस्ने खाने सबै हामीले नै मिलाउनु पर्ने हुन्छ। यसमा पनि हामीले सलमानलाई ३ करोड र बाँकीलाई २ करोड भारतीय रुपैंयाँ पहिला नै पठाईसकेका छौं।

सलमान आफैंले नेपाल आउने इच्छा देखाएका हुन् कि ओडिसीले प्रस्ताव गरेको हो?

सलमान आफ्नो शो ‘द दबङ टूर’ लिएर दुई वर्ष देखि नै विभिन्न देशहरुमा घुमिरहेका छन्। बिदेशमा जस्तै हाम्रो देशमा पनि उनका प्रशंसकहरु अत्यधिक संख्यामा छन्। त्यसैले हामीले एकपटक उनलाई नेपाल आउन अनुरोध गरौं न त भनेर प्रस्ताव गरेका हौं। उनले पनि सहजै खुशी भएर नेपाल आउने ईच्छा व्यक्त गरे। त्यसपछि यो तयारी शुरु भएको हो।

सुरक्षाको तयारी कस्तो छ त?

ब्रायन एडम्स आउँदा ३० हजार दर्शक आउनु भएको थियो । जुन हाम्रो पहिलो स्टेज कार्यक्रम थियो। त्यसमा केही हुलदंगा, झगडा होला कि भन्ने ठूलो डर थियो तर केही पनि भएन। सबैकुरा  शान्तिपूर्ण रुपमा सम्पन्न भयो। त्यसैले अहिले पनि शान्तिपूर्ण रुपमा नै कार्यक्रम सम्पन्न हुन्छ भन्ने आशा गरेको छु। सुरक्षा निकायसँग पहिलाको भन्दा अझ व्यवस्थित तरिकारले सुरक्षाकर्मी परिचालन गर्ने प्रस्ताव गरेका छौं। यसमा सबै कुराहरु सकारात्मक नै भएको छ। सुरक्षा निकायले पनि यसमा निकै सकारात्मक तरिकाले सुरक्षा व्यवस्थापनको संयोजन गरिरहेको छ।

टिकट अलि महँगो भयो भन्ने गुनासो सुनिएको छ नि?

यसबारे सुरक्षा निकायसँग सल्लाह गर्दा हजार रुपैयाँको टिकट राख्यो भने २ लाख दर्शक टुँडिखेल आउँछन्। त्यति ठूलो जमघट सुरक्षाका हिसाबले पनि धान्न नसकिने हुन्छ भनेर टिकटको मूल्य ५ हजार राखेका हौं। फेरि अहिले हाम्रो प्रोडक्सन खर्च पनि महँगो छ। त्यसैले सुरक्षाका हिसावले टिकट महँगो हो भन्ने मलाई लाग्दैन। यसमा भीआईपीका लागि सिटिङ अरेजमेन्ट सहित २० हजारको टिकट राखिएको छ। त्यस्तै पछाडि १० हजार र त्यो भन्दा पछाडि ५ र ३ हजार रुपैयाँको टिकट राखिएको छ।

नेपाली कलाकारहरुको पारिश्रमिकको कुरा पनि विवादमा देखिन्छ नि? 

नेपाली कलाकारहरुसँग पारिश्रमिकको कुरा नै भएको छैन। सलमान खानसँग कोरस डान्समा तपाईँहरु डान्स गर्नुहुन्छ भनेर छ सात जनालाई एकपटक हामीले सोधेका थियौं। उहाँहरुले गर्दिन भन्नुभयो। त्यसपछि यो बिषयमा केही कुराकानी भएको छैन। हामी चाँडै नै नेपाली कलाकारहरुको बारेमा टुंगो लगाउँछौं।  


 

ताजा खबर