गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द

२०७४ माघ २९ सोमबार १३:०८:०० मा प्रकाशित

त्रिशूली, नुवाकोट, २९ माघ। चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । 

फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलु–स्याफ्रुबँेशी–रसुवागढी सडक योजनाले जनाएको छ । 
यसअघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । बिहानको समयमा काठमाडौँ जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घण्टा थप गरी सडक बन्द गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको सो योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । रासस
 

ताजा खबर