मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

२०७४ माघ २७ शनिबार १२:१०:०० मा प्रकाशित

 जाजरकोट, २७ माघ ।  पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । 

तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतिपुरका स्थानीयले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन माग गरेका हुन् । 

जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन माग गरेका हुन् । 

सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय सरकार र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र प्रदेशसभाका सांसद कृष्णा शाहमार्फत सरोकार भएकाको ध्यानाकर्षण गराएको स्थानीय अटल आचार्यले जानकारी दिए ।  । करोडौँ रकम खर्च गरेर सडक बनाउने र गुणस्तर कायम नगर्ने अनि जनताले दुःख पाइरहने गरेको आचार्यले बताए। 

सडकको अवस्था निकै नाजुक बनेको तर सरोकार भएका निकायले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ । लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् । 

रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको स्थानीयको गुनासो छ । 

यसबारे मध्यपहाडी लोकमार्ग आयोजनाका कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनियर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताए। 

भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको ९२ किमी सडकको कालोपत्र गर्ने, सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली बनाउने कामका लागि माघ महिनाभित्र टेण्डर आह्वान हुन लागेको छ । 

सडकको कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआरको रिपोर्ट आइसकेकाले अब टेण्डर आह्वान हुन् लागेको उनकोे भनाइ छ । प्रतिकिमी रु छदेखि १० करोडसम्मको बजेट खर्च गर्ने गरी ९२ किमी सडक आगामी तीन वषभित्र कालोपत्र गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनियर न्यौपानेले बताए । रासस

 

ताजा खबर