निर्माणाधीन तमोर पुलको काम रोकियो

२०७४ माघ २५ बिहीबार २०:१९:०० मा प्रकाशित

पाँचथर,२५ माघ । दक्षिणी पाँचथरसँग तेह्रथुम जिल्ला जोड्ने तमोर नदीको लुमुघाटमा निर्माणाधिन मोटरेवल पुलको काम स्थगित भएको छ । 
निर्माण कम्पनिले गुणस्तरहीन सामग्रीको प्रयोग गरेको स्थानीयको गुनासो आएपछि केही दिनअघि जिल्लाका जनप्रतिनिधिहरुले निर्माण स्थलमा पुगेर अनुगमन गरेका थिए । पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्त कुमार नेम्बाङको नेतृत्वमा गएको टोलीले निर्माण कार्यको अनुगमन गरेको हो ।

टोलिले निर्माणमा प्रयोग भएका सामग्रीको बिषयमा प्रश्न उठाएपछि निर्माण सामग्रीको परीक्षणपछि मात्र काम सूचारु हुने भएको हो । दुई साता अघि मात्र तेह्रथुम जिल्लाका जनप्रतिनिधिले पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा स्थानीयले गुनासो गरे जस्तै कमसल सामग्रीको प्रयोग भएको आशंका गरिएको अनुगमन टोलीले जनायो ।

स्थानीयले पुल निर्माणको जिम्मा पाएको स्वच्छन्द निर्माण सेवाले निर्माणमा प्रयोग गरेको बालुवा, ढुङ्गा र सिमेन्ट लगायतका सामग्रीको गुणस्तरीयतामाथि प्रश्न उठाएका छन् । अनुगमन टोलिको नेतृत्व गरेका प्रतिनिधिसभा सदस्य नेम्बाङले स्थानीयको गुनासो पछि अनुगमन गरिएको बताए । सो क्रममा प्रयोग भएका निर्माण सामग्री प्रति शंका लागेकाले सम्बन्धित निकायलाई पुनः परिक्षण गर्न भनेको नेम्बाङको भनाई छ । 
दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकासँग तेह्रथुम सदरमुकाम म्याङलुङ जोड्ने सडक खण्डको लुमुघाट स्थित तमोर नदीमा उक्त पुल निर्माण भइरहेको हो । पुल निर्माणको काम तीन वर्षमा सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवालाई ठेक्का दिएको थियो । तर साँढे चार बर्ष बित्दा पनि निर्माणको काम भने चालिस प्रतिशत मात्र सम्पन्न भएको छ । 

उक्त मोटरेवल पुल ९२ मिटर ढलान गरिने र ५७ मिटर स्टिल ट्रस्ट राखिने सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख विष्णु काफ्लेले बताए । काफ्लेका अनुसार निर्माणमा प्रयोग भएका सामग्रीको बिषयमा प्रश्न उठेपछि निर्माण सामग्रीको पुनः परिक्षण गर्न लागिएको छ । निर्माणको काम रोकिएपछि मजदुरहरु घर फर्किएका छन् । स्वच्छन्द निर्माण सेवाले उक्त पुलको काम १५ करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका साइड इन्जिनियर प्रमोद न्यौपानेले भने ल्याब टेस्ट गरेकै कच्चा पदार्थ प्रयोग भइरहेको दाबी गरे । गुणस्तरहीन सामाग्रीको प्रयोग केवल आरोप मात्र भएको साइड इन्जिनियर न्यौपानेले जिकिर गरे । नाकाबन्दी, बाढी–पहीरो र निर्माण सामग्री ढुवानीका लागि सडकको समस्या जस्ता कारणले सम्झौता अवधीमै काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनिले जनाएको छ । 

उक्त पुल निर्माण सम्पन्न भएपछि पाँचथर सदरमुकाम फिदिमदेखि तेह्रथुम सदरमुकाम म्याङलुङ पुग्न छोटों दुरी बन्नेछ । फिदिम–यासोक–लुमुघाट ४५ किलोमिटर छ भने म्याङलुङ–लुमुघाट सडकको दुरी १७ किलोमिटर मात्र रहेको छ ।

फोटो : तमोर नदीको लुमुघाटमा निर्माणाधीन  मोटरेवल पुल । 

ताजा खबर