बस, माइक्रोबस र कारमा अब वाईफाई 

२०७४ असार १२ सोमबार १९:१८:०० मा प्रकाशित

काठमाडौं, १२ असार । नेपालभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा वसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा आजदेखि संचालन भएसँगै अब गाडीमा यात्रा गर्दा इन्टरनेट चलाउन पाइने भएको हो।

एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दुरीका वस यात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताइन्।

एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ। बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा इन्टरनेट चलाउन यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गर्नुपर्ने छ।

एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिने प्रवक्ता वैद्यले जानकारी दिइन्। साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ । यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्डसहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

ताजा खबर