फेरि आयो माघ २३ !

२०७४ माघ २३ मंगलबार ०७:१७:०० मा प्रकाशित

माघको २३ गते आउँछ र चेताउनी दिएर जान्छ – तेरो एकपन्ना पात्रो पल्टियो है । यसरी पात्रो पल्टिँदै गएको निकै वर्ष भैसक्यो तर पल्टिरहेकै छ । निश्चित छ यो क्रम एकदिन टक्क रोकिने छ । कहिले हो त्यो दिन, उसैलाई मात्र थाहा छ,जो अदृश्य छ तर सर्बव्यापी !

त्यो दिनको आगमन चिन्ताको बिषय होईन,सम्झना आईरहने त्यो ठाउँ भने चर्चाको बिषय हो अहिले । इलामको तत्कालिन गोदक गाउँ बिकास समितिको वडा नंबर ४ मा एउटा सुन्दर गाउँ छ – माईबेंसी, जहाँ मेरो जन्म भएको थियो गाई गोठमा । माई र जोगमाई खोलाको दोभान नजिकै हाम्रो बेंसी थियो । मामा घरमा आमाका पिताजीको दशौं दिनको क्रियाकर्म चलिरहेका बेला आमालाई प्रशुति बेथाले च्यापेछ । अनि कान्छी माईजुले हतेर्दै उहाँलाई नजिकैको गोठमा लानुभएछ । त्यहीं मेरो जन्म भएछ माघ २३ मा ।

जन्म दिने आमा र मलाई पहिलोपल्ट देख्ने एकमात्र साक्षी कान्छी माईजुले केही वर्षको अन्तरालमा हामीलाई सदाका लागि छोडेर परलोक गैसक्नु भएको छ । पहिलोपल्ट प्राथमिक विद्यालयको पहिलो कक्षामा भर्ना गर्न लिएर जाने कान्छा मामा पनि हामीवीच हुनुहुन्न ! आमा हिरादेबी घिमिरे,मामा देबीप्रसाद निरौला र माईजु तुलसा निरौलाको नामका अगाडि स्वर्गीय शब्द लेख्नुपर्दा निकै कठिन भैरहेको छ । तर यो कटुसत्यसँग पौंठेजोरी खेलोस् कसले  ?

 यतिका वर्ष बितिसक्दा पनि माईबेंसी कहिल्यै बिर्सन सकिएन,सायद यो अटुट सम्झना आईरहने पीडादायी आनन्दले मलाई जस्तै सबैलाई सताउँदो हो । आमा र जन्मथलो कसले पो नसम्झेला र ? सदरमुकाम इलाम बजारमा घर भएपनि माईबेंसी नै धेरै बसियो । अलि पछि मात्र हामी बजारमा नियमितजसो बस्न थाल्यौं ।

आज पनि अर्को माघ २३ गते टुप्लुक्क आईपुग्यो स्मृतिको डायरी पल्टाईदिन ! र भरे राती विदा भएर जानेछ आघौं अर्को माघ २३ लिएर आउन । यसपटक यही प्रसंगमा आमा र माईबेंसीको अति याद आउँदा केही नलेखी चित्तै बुझेन ।  

 एकपटक बुवा काशी जाने हुनुभयो– पितृ तर्पणका लागि । काशी जाने उहाँको योजना वर्षौं देखि बन्दै थन्किँदै गरेको रहेछ । यो पटक भने कसैगरी नगइनछोड्ने अठोट थियो उहाँको । स्वस्थ शरीर र उमेर थियो, अहिले नगए कहिले भन्ने सोच पनि आयो होला उहाँलाई । बुवा यो हिउँदलाई यत्तिकै खेरजान नदिने पक्षमा हुनुहुन्थ्यो । उहाँको रोजाइ अनुसार,काशी जान बुवाका लागि सातुसामलको बन्दोबस्त पनि हुनथाल्यो । 
किसानी जीवन,वर्षभरीको खेतीपाती सकेर हिउँदका केही दिनहरुमात्र फुर्सदिला हुन्थे । बुवाले पनि यही हिउँदे सिजनलाई उपयोग गर्ने सोचबिचार गर्नुभयो । हिउँदे बाली थन्क्याएपछि त्यतिबेला खेतबारी प्रायः  खाली नै रहन्थे अर्को असारसम्म । बाली नलाएको फुर्सद्को समय माइबेसीं एककिसिमले गौचरण झैं हुन्थ्यो गाउँभरीका वस्तुभाउ चर्ने ।  हिउँदे बाली लगाउने चलन बसिसकेको  थिएन हाम्रो बेंसीमा । हाम्रो खेतमा भने दुई वर्ष अघिदेखि धान उठाएर खाली भएको खेतमा गहुँ छर्ने चलन सुरुभएको थियो । यो दोस्रो वर्षको गहुँ छर्ने जिम्मा आइलाग्यो मेरो अपरिपक्व काँधमा !

बुवाको आदेश थियो– “खेतको बाँझो जोतेर डल्ला फोरेर माटो मसिनु बुर्बुराउँदो भएको छ । अब गहुँ छर्न सजिलो भएको छ । गोदकबाट भिनाजुका हल गोरु ल्याउनु र गहुँ छर्नु ।”

आफू नफर्किउन्जेलका लागि सबै जोरजाम गरेर माघ महिनाको सुरुतिरै बुवा र कान्छा मामा साथीभाइसँग लम्किनु भयो काशीतिर सातुसामलको कुम्लो बोकेर । फर्किने कहिले हो थाहा थिएन । यातायातको बन्दोबस्त थिएन । इलामबाट पैदलै झापासम्म पुगेर भद्रपुर हुँदै मेची तरेर भारतको गलगलिया पुगेपछि बल्ल बेलायती उपनिवेशले छोडेका रेल चढ्न पाइन्छ भनेर कथा गर्थे बूढापाका । सायद बुवा र मामाको टोलीले पनि यही रुट समात्यो होला ।

मुख्य अभिभावक परदेशिएको न्यास्रोलाई पुरानो बनाउँदै हामीहरु रमाउन खोज्यौं । भर्खरै माइबेनी मेला उठेर बेहुली अन्माएको घर जस्तै उराठ देखिन्थ्यो शिवालयको खेत । तर हाम्रो सोराली डाँडाको घर पनि कम रमणीय थिएन,वारीपारी छ्यांगै देखिने । मलाई यस्तो दिनको बिरलै सम्झना छ,जुन दिन बिनापाहुना हामीले खाना खायौं होला ! त्यसैले बेंसीको घर पनि सुनसान महसुस गर्नुपरेन ।

एकदिन तपस्वी जस्ता एक साधु अचानक हाम्रो घरमा आए,आमाले श्रध्दा गरेर ढोग्नुभयो अनि पाकेको मेवा काटेर उनलाई खान दिनुभयो । साधुले मेवा खाए,आमासँग बात मारे अनि मेरो शीरमा हात राख्दै भने – ‘सबैले चिन्ने जान्ने हुनु ।’ म एघार वर्षको थिएँ,उनका कुरा धेरै बुझिन तर यो वाक्य जस्ताको तस्तै याद आईरहन्छ । साँझ पर्न लागेको थियो उनी बगरतिर झरे बास बस्न मानेनन् । हामीले सबैतिर जाने बाटोतिर आँखा नझिम्क्याईकन हेर्यौं तर साधु कतैपनि देखिएनन् ! चकित मुद्रामा आमा बोल्नुभो – ‘हे ईश्वर के अचम्म गर्यौ यस्तो !’

 विद्यालयको ढोका नटेकेकी आमालाई भगवद्गीता कण्ठ थियो । अठारै अध्यायको सारपूर्वक अर्थ लगाउनुहुन्थ्यो उहाँ । अरु शास्त्र र उपनिषद्को समेत चर्चा गरिरहनुहुन्थ्यो आमा । उहाँका पिताजी ब्रम्हलाल उपाध्याय उसबेलाका नामी पण्डित । त्यही संस्कार आमामा पनि परेछ सरेछ ।

यता सबै कुरा विर्सनेगरी बुवाले दिएको आदेश जो मनभरी भएर बसेको छ । एक खलो खेत जोतेर पार लगाउनु छ । यो मेरो बूताभित्रको विषय त थिएन । तर पार जसरी पनि लाउनै थियो । बुवाले आदेश दिएर पहिलोपल्ट कुनै काम अह्राउनु भएको थियो । तैपनि म आत्तिएको थिईन किनभने मसँग भरोसायोग्य साथी हुनुहुन्थ्यो – आमा । अनि भातभान्सामा आमालाई भरपुर भरथेग गर्ने दिदीहरु कमला र इन्दिरा । अरु भाइ बहिनीहरु सरु,केशु,माधव र राधा ससानै थिए । आमाले भरोसा दिँदै भन्नुभयो –“केही छैन यति काम गरौंला । ”

आमालाई खेतीपातीका विषयमा कसले सिकाओस् । उहाँ निपुण हुनुहुन्थ्यो किसानी कर्ममा । आमाको हौसलाले फुरुंग परेको म चढें गोदकतिर गोरु लिन । अनि भोलिपल्ट रामचन्द्र भिनाजुका हल गोरु लिएर झरें माइबेंसी खेतमा । गोदक पुग्न निकै उकालो चढ्नुपर्छ सास फुल्नेगरी हिंडेर  । तर मेची राजमार्गलाई पुरै आफूभरी समेटेको यो गाउँ सुन्दर छ ।

गोरु ल्याएर बाँधे थलामा । आमा खुशी हुनुभयो, अब गहुँ छर्न कसैलाई गुहार्नु परेन भन्ने विश्वासले खुशी बनायो होला उहाँलाई । हल गोरुलाई दानापानी दिएपछि आमाले प्रशिक्षण दिनुभयो मलाई – गोरु कसरी नार्नु पर्छ, जोत्दा आवश्यक सामग्री केके हुन् । वृत्तान्त उपाय बताईसकेर भन्नुभयो –“गोरुको पुच्छर निमोठ्नु हुँदैन नि । धेरै दगुर्छन् अनी अचेट्न संिकदैन । नकुट्नु तर हातमा एउटा सिर्कनु चैं बोक्नु । हातमा केही न केही हतियार चाहिन्छ नत्र गोरुले पनि टेर्दैन । ”

गोरु नार्नु अघिको तयारीका लागि आमाले दिएको प्रशिक्षणसँगै केही गहकिला सन्देश पनि पाएको थिएँ मैले । बातचित गर्दा परिवारजन र गाउँलेलाई समेत प्राय सन्देशमूलक उखान जोडेर सम्झाउँने बुझाउने बानी थियो उहाँको । आज पर्यन्त तिनको सान्दर्भिकता छँदैछ जीवनमा । जीवनोपयोगी त्यस्ता सन्देशबाट पाठ सिकियो र कति त उलंघन पनि गरियो । मानिसले प्राय उलंघन गर्नु मै आफ्नो जीत ठान्ने भूल गर्छ र अगाडिको बाटोमा बारम्बार ठक्कर खाइबस्छ । मैले पनि त्यसै भूल गरेको छु अनेक पल्ट !

अब मुख्य काम त बाँकी नै छ । एउटा पहिलो र ठूलो परीक्षाको सामना गर्नैछ । गोरु थलामा छन् । उनीहरुको प्रचुर स्याहार भएको छ मीठोमसिनु खाएका छन् आमाको हातबाट । उसैपनि हाम्री आमा परिवार र पाहुनाको ध्यानपूर्वक खानपिनको ख्याल गर्नुहुन्थ्यो । उसैगरी चौपाया  समेत स्याहार्नु हुन्थ्यो । हल गोरु मल्खुको खोले तन्काएर पुटुस्स भैसकेका थिए । तिनलाई जोत्ने हली म भने लुगलुग थिएँ । तर आँट गरेर पहिलोपल्ट खेतमा लगेर हल गोरु  नारें, आमाको प्रशिक्षण अनुसार । अनि थालेँ कनिका झैं बुर्बुर पारेको खेत जोत्न । म गराको ओल्लो छेउदेखि पल्लो छेउसम्म जोतेर पार लगाउन सक्ने भएको थिएँ । आमा पोल्टामा बोकेको गहुँको बीउ छर्दै हामीलाई पछ्याइरहनुहुन्थ्यो गाइड गर्दै ।

यसरी पहिलो दिनको मध्याह्नसम्ममा सात गरा खेतमा गहुँ छरेका थियौं हामीले । तर, त्यसदिन मलाई यस्तो लाग्यो, आँट गर्दा गर्न नसकिने काम हुँदो रहेनछ । मैले घुक्र्याएकै भए पनि छुट पाउँथेँ होला तर आमाको स्नेहपूर्ण दबाब र प्रेरणाले मैले त्यति ठूलो जिम्मेवारी पूरा गरेको थिएँ जीवनमा पहिलोपल्ट । यसैगरी केही दिनमा हामीले एक खलो खेतमा गहुँ छरिसकेका थियौं । पछि गहुँ पनि राम्ररी फल्यो । त्यसको रोटी र ढिँडो पनि खाइयो । शरीर पनि पोषियो र एउटा काम फत्ते गरेको आत्मविश्वासले जरो पनि हाल्यो मनभित्र । त्यही माघको संक्रान्तिमा हाम्रो माईवेंसी नजिकै वर्षेनी लाग्ने माईवेनी मेलामा मेरा कलिला गोडाले एकजोर कपडाको जुत्ता स्पर्श गर्न पाएका थिए पहिलोपल्ट ।

बुबा काशीबाट कहिले फर्किनुभयो यकिन तिथिमिति त मलाई थाहा छैन । तर, उहाँ घर फर्केपछि हरियो हुँदै गएको गहुँबारी कम्मरपछाडि हात बाँधेर फन्को मार्नुभएको थियो– हलुका स्वरमा सुसेल्दै ।

यो प्रिय विगतले आज पनि मलाई चिथोर्छ, आँसुले भिज्नेगरी । यस्ता एक हैन अनेक स्मरणयोग्य घटना र चित्रहरु छन्, एक किसान परिवारको सन्तानका रुपमा मेरो स्मृतिपटमा ताजा ।

बनारस गएर बुबाहरुले के–के कर्म गर्नुभयो मलाई सम्झना छैन । तर, उहाँ बनारसका गल्ली र गंगातटका घाटहरुको खूबै चर्चा गर्नुहुन्थ्यो । अनि शहरको विशालता र मानिसहरुको घुइँचोमा घुमफिर गरेको सुनाउनुहुन्थ्यो । मलाई शहरको विशालता र भीडप्रति त्यसैबेलादेखि रुचि बसेको  थियो । कहिले देख्न पाइने होला ठूलो शहर र मानिसको भीड ? यस्तो प्रश्न उठिरहन्थ्यो मनमा । वर्षमा एकपटक लाग्ने माईवेनी मेलामा केही हजार मानिसको भीड त देखिरहेकै थिएँ । देखेको मात्र हैन, भीडमा हराएर भेटिएको पनि थिएँ । तर, कहाँ देख्न पाउनु ठूलो शहर ।

दशैंमा टीका लगाउन इलाम बजार उक्लिने अवसर मिल्थ्यो । तर, हामी धेरैजसो वेंसीमै बसोबास भने गथ्र्यौं । मलाई भने इलाम धेरै ठूलो शहर जस्तो लग्थ्यो बुबाले वर्णन गरेको बनारसजस्तै । जहिले पनि इलाम पुगेपछि मलाई माईवेंसी फर्कन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । कहिलेकाहीँ त बुबाआमा फर्किने बेलासम्म ठूलो टुँडिखेलतिर घुमेर अँध्यारो पाथ्र्यौं र ढिलो घर फर्किन्थ्यौं हामी भुराहरु ।

लेखेको कसैगरी टर्दैन भन्ने पुरानो भनाई छ । यही भनाईलाई सार्थक तुल्याउन होला । जीवनको मध्यान्तरतिर  नियतिले ठूलो शहर देखाउन मलाई काठमाण्डौ लिएर आयो । काठमाण्डौ आएपछि यहाँ शहर पनि देखें भीड पनि देखें ! काठमाण्डौले आफ्नो मात्र दर्शन दिएन मलाई,उसले चुनौतीहरुको विराट स्वरुपहरुको दर्शन पनि दियो । धेरैपटक त्यसको दर्शन गरेको छु मैले यहाँ । लाखौंको भीडमा मानिसहरु सल्बलाएको दिनहुँ देखिरहेकै छु, त्यहीँभित्र आफु पनि सल्बलाएर । देशका मात्र हैन, विदेशका भीमकाय शहरहरु फन्को मार्दा बुबाले देखेको बनारस सम्झिएको छु ।

अनुभवले के सिकायो भने,समय भनेको च्युँडोमा फुलेको दाह्री र शीरमा फक्रिएको कपालसँग मोलतोल गर्ने चीज होइन रहेछ । यो घडीमा घुम्ने सेकेन्ड, मिनेट र घण्टा बताउने काँटाहरुमा गणना गर्ने वस्तु पनि होइन रहेछ । दिनहुँ झुल्किँदै अस्ताउँदै गर्ने घामले पनि समयको परिभाषा गर्दो रहेनछ । मानिसको एउटा छोटो जीवनले कसरी नाप्न सक्छ र समयको लम्बाइ, चौडाइ र उचाइ । बितेको समय, यो भोगिरहेको समय र भोलि आउने समय भनेर गणना गर्नु नै एउटा हास्यास्पद भूल रहेछ जीवनमा । मलाई यहीबेला एउटा भूल गर्न मन लागिरहेको छ ।

कुनैबेला इलामबाट फर्किन मन नलागेको त्यही माईवेंसी गएर कहिले पनि फर्र्किन नपरे हुन्थ्यो । त्यहीँ बसेर तामे ढुकुर कुर्लिएको सुन्दै हुटिट्याउँको तुफानी उडान हेर्दै, माई र जोगमाई खोलाको दोभानमा नागडुबी हान्दै, काँश फक्रिएको चौडा बगरमा गोठाला गर्दै र अर्को एउटा हिउँदमा गहुँ छर्दै त्यहीँ बस्नपाए हुन्थ्यो र यो क्षणिक जीवन त्यहीँ बिसर्जन गर्न पाए हुन्थ्यो । तर थाहा छ,यस्तै इच्छाहरुको अन्तिम फैसला पनि त्यही समयले नै  गर्छ । जसलाई चिन्न नसकेर जीवन र जगत समयको फन्को मारिरहेका छन् !


 

ताजा खबर