प्रथम राष्ट्रपति रामबरण यादवलाई खुल्ला पत्र

२०७४ माघ २२ सोमबार १२:५२:०० मा प्रकाशित


आदरणीय डाक्टर साहेब 
जय नेपाल ।

सवैभन्दा पहिला त यहाँलाई जन्मदिनको मंगलमय शुभकामना !

हुन त यहाँलाई सम्वोधन गर्दा सम्माननीय लेख्नुपर्ने थियो होला । तर किन किन डाक्टर साहेब भन्दा महसुस मिठास अरुमा भेटिन । त्यसैले यही सम्वोधन गरें ।

तपाईँसँग मेरो भावनात्मक सम्वन्ध छ । २०५६ सालतिर तपाईं काँग्रेसको नेता छँदा दोलखा पुग्नु भएको थियो । त्यहीबेला मेरो बुबालाई हर्ट एट्याक भयो । काँगे्रस नेता स्वर्गीय भीमबहादुर तामाङले तपार्इंलाई मेरो घरमै लैजानु भएको थियो । तपार्इँले बुबालाई जाँच गरेर तुरुन्तै काठमाण्डौं लैजान लगाउनु भयो । संयोगले अर्का नेता जिपछिरिङ लामाको  मोटरमा काठमाण्डौंसम्म ल्याइयो । समयमै उपचार हुँदा बुबा निको हुनु भएको थियो । धन्यवाद डाक्टर साहेब ! तपाईँलाई भेटेरै हृदय खोलेर धन्यवाद दिने मेरो चाहना अझै पुरा भएको छैन ।

  राष्ट्रपति हुँदा ‘हिमाल पहाड तराई, कोही छैन पराई’ भन्ने तपाईँको अभिव्यक्तिले तपाईँप्रति मेरो आदर अझै चुलिएको थियो । देशकै ऐतिहासिक पहिलो राष्ट्रपतिको जुन भूमिका तपाईँले निर्वाह गर्नुभयो । त्यो साँच्चीकै प्रशंसनिय थियो । अझ चुरे संरक्षण अभियानमा तपाईँले देखाउनु भएको चासो र संरक्षकत्वले तपाईँप्रति गर्व लागेको थियो ।

डा.साब माफ पाउँ !

पछिल्ला दिनमा तपाईँसँग खुशी हुने कुनै आधार भेटिएन ।

पत्रपत्रिका, अनलाईन मिडिया, सोसल मिडिया जताततै तपाईँको आलोचना भैरहेको पढ्नुपर्दा दुःख लागेको छ । निवर्तमान राष्ट्रपतिको रुपमा तपाईँ निकै आलोचित हुनुभयो । तपाईँको निवासको भाडा सरकारले नतिरेर त्यति धेरै अपमान खेप्नु पर्यो । तैपनि तपाईँ चुपचाप अपमानित भएर त्यही सरकारी निवासमा बसिरहनु भएको छ । सवैको प्रश्न जस्तै मेरो पनि उस्तै छ किन डा.साब ? किन ?

तपाईं स्वयं सुप्रशिद्ध डाक्टर हुनुहुन्छ । वीपी कोइरालाको निजी चिकित्सकको रुपमा काम गर्नुभएको तपाईँका लागि सरकारले दिने आवास, भत्ता र सवारी साधन कुनै ठूला कुरा होइनन् । आफैंमा सक्षम एक शिखर व्यक्तित्वलाई  सरकारले दिने सेवा सुविधाको के अर्थ राख्छ र ? त्यसमाथि तपार्इँको आफ्नै थातथलो र औषधिमुलोकै समस्या भैदिएको अलग्गै कुरा हुने थियो । तपाईँको पारिवारीक स्थिति हेर्दा तपाईँले राज्यको सुविधा विनानै देशको संरक्षक भएर बस्न सक्ने देखिन्छ । यस्तो व्यक्तित्वलाई किन चाहियो डाक्टर साहेब राज्यको थप सेवा सुविधा ?

केही दिन अघि कांग्रेस नेता डा. शेखर कोइरालाले विरामी जाँचेको तस्वीर समाचारमा देखेर खुशीले मन थाम्नै सकिन । आफ्नै नागरिक विरामी भएर उपचार अभावमा बस्दा चुनावमा पराजित एकजना नेताले देखाएको नागरिक प्रतिको प्रेम यो भन्दा बढी अपेक्षा गर्न सकिन्न । 
डा.साब ! 
यतिबेला भीमेश्वर नगरपालिकास्थित गौरीशंकर बोर्डिङ स्कुलका साना साना नानीहरु चोकमा चिया बेचीरहेका छन् । त्यो उनीहरुको रहर होइन । वाध्यता बन्यो । आफ्नै साथी मदन केसी व्लड क्यान्सरले मृत्युसंँग लडिरहँदा उनीहरुले आफुलाई सम्हाल्न सकेनन् । 

उपचारका लागि रुपयाँ संकलन गर्न उनीहरुले चालेको अभियानको जति प्रशंसा गरेपनि कम हुन्छ । सरकारसँग पहुँच भएकाहरु ज्वरो आएपनि उपचारकालागि विदेश धाइरहेको बेला एउटा वालकको उपचारका लागि साना स्कुले नानीहरुले चिया बेचेर भएपनि अर्थ संकलन गर्नुपर्ने वाध्यताप्रति तपाईँले के सोच्नु भएको होला ? जान्ने मन छ डा. साब । 

केही दिनअघि तराईमा चीसोले एक दर्जन गरीब नागरिहरुको निधन भयो । गरिवीको दुष्चक्रले गाँजेर पींडाको भूँमरीमा पिल्सिरहेका नागरिकले आफन्त गुमाउनु परेको पीडा कम्ती हृदयविदारक छैन । तर, तपाईं बेखबर झैं राजधानीको सरकारी निवासमा मौन बस्नु भएको छ । देशको संरक्षकको हैसियतले आफ्ना नागरिकको दुःखमा अलिकति पनि सहानुभूति नजाग्ने कस्तो मुटु छ डा. साब तपार्इँको ?

 उमेरका हिसावले तपाईँ अझैपनि केही वर्ष सक्रिय बन्न सक्नु हुनेनै छ । स्वास्थ र उमेरले साथ दिएसम्म अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, विल क्लिन्टन र जिम्मी कार्टर जस्तै तपाईँपनि सामाजिक रुपले केही न केही त गर्न सक्नुहुन्छ नि ?  आफैंले संरक्षकत्व ग्रहण गर्नु भएको चुरे संरक्षणका क्षेत्रमा पनि त काम गर्न सक्नु हुन्छ नि ? यसमा  तपाईँको निस्क्रियता कम्ती दुःख लाग्ने विषय छैन । 

डा. साब !

तपार्इँ जस्तै एकजना डाक्टर गोविन्द केसी आफ्नो जीर्ण शरीर लिएर स्वास्थसेवामा जुटीरहँदा, शेखर कोइरालाले स्वास्थ जाँच गरिरहँदा हामी नागरिकको आँखा तपाईँ सामु सोझिएका छन् । केही गर्न नसके पनि एउटा झोलामा केही औषधिमुलो बोकेर तराईका चिसो पीडित जनता सामु त पुग्न सक्नु हुन्छ नि हैन र ?

तपाईँको शुभचिन्तक 
भोजराज न्यौपाने

    
 

ताजा खबर