धर्मनिरपेक्षताको त्रुटी सच्याउन राष्ट्रपतिसँग माग

२०७४ माघ २१ आइतबार १६:०५:०० मा प्रकाशित

  देवघाट, २१ माघ । राष्ट्रपति विद्या भण्डारीसँग विभिन्न आश्रमका पीठाधीशहरुले नेपाललाई धर्मरिपेक्ष राष्ट्र बनाउनु त्रुटीपूर्ण कार्य भएकाले सच्याउन आग्रह गरेका छन् । यसरी धर्मनिरपेक्ष राष्ट्र सच्याउन माग गर्नेमा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी छन् ।

उनीहरुले आईतबार   देवघाटधाम पुगेकी राष्ट्रपति भण्डारीसँग आग्रह गर्दै भने नेपाललाई धर्मनिरपेक्ष बनाउनु त्रुटिपूर्ण भएकोले सच्याउन आग्रह गर्दछौं । 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले जवाफमा कुनै प्रतिक्रिया नजनाएकी थाहा भएको छ । 

उनले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याईन् ।
गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उनले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएकी हुन्। 

राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउन आवश्यक रहेको बताईन्। गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउँदै उनले सुखी र उन्नत समाज सिर्जना गरी आफ्नो मौलिक पहिचान कायम राख्न कटिबद्ध रहनुपर्ने औंल्याईन्।

महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी आश्रमले नै ५०० जना अट्न सक्ने धर्मशाला निर्माण गरेको हो । धर्मशाला रु दुई करोड ५० लाख लागतमा निर्माण गरिएको हो ।   

ताजा खबर