‘अहिले हामीलाई ‘साढे ७’ लागेको छ’

२०७४ माघ २१ आइतबार १०:१०:०० मा प्रकाशित

सत्यराज आचार्य र स्वरुपराज आचार्य । यो जोडीको नाम एकैचोटी वा अलग अलग जसरी लिए पनि नेपाली संगीतको सुपरिचित नाम हो । संगीत र चलचित्रमा पनि मज्जाले जमेका सत्य –स्वरुपलाई  चिनाउन थप कुनै विशेषणको जरुरत पर्दैन । सदाबहार स्वरका धनी भक्तराज आचार्यका यी सुपुत्र – बन्धु पिताको कीर्ति र संगीत साधनाको सुगन्धलाई बिस्तार गर्न सकिरहेको कुरालाई नै आफूहरुको ठूलो उपलव्धि मान्छन् र ठान्छन् । 
हामीले निकै अघिबाट एक न एक भाईसँग अन्तर्वार्ता गर्ने प्रयाश गरिरहेका थियौं । उनीहरुको व्यस्तताकै कारण समय मिल्न संभव भैरहेको   थिएन । यसपाली भने कसोकसो संयोगले दाजुभाईलाई नै झ्याप्पै फेला पार्न सफल भयौं । संगीत यात्रामा निरन्तर उकालोमा रहेका यी दाजुभाईसँग सरल पत्रिकाका लागि सुकृत नेपालले गरेको अन्तर्वार्ताको विवरण विस्तारमाः

आजकल के हुँदैछ ? 

सत्य  :  अहिले त हामी चलचित्रमै व्यस्त छौं । हाम्रो व्यस्तता ‘साढे ७’ मय छ । हाम्रो चलचित्र ‘साढे ७’ यही फागुन ११ गतेबाट देशभरीका चलचित्र घरहरुमा प्रदर्शन हुँदैछ । त्यसकै प्रमोसन र बजार व्यवस्थापनमा व्यस्त छौं ।

के हो यो ‘साढे ७’ भनेको, नाम नै अचम्मको छ त ? 

स्वरुप   :  ‘साढे ७’ ले दुई चिजलाई अंकित गर्छ ।  यो एउटा समय पनि हो र अर्को दशा पनि हो । तर दशा ‘साढे ७’ भन्ने बित्तिकै मान्छेहरु डराउने, एकदमै भयभित हुनेगर्छन् । यसलाई  नकारात्मक रुपमा मात्र लिने चलन छ । तर त्यो नभइकन आउने भवितव्यको सकारात्मक सूचक  हो   ‘साढे ७’ । ‘साढे ७’ भनेको व्यक्तिको चिना टिपनमा लेखेका कुराले आफूलाई आफैंलाई सचेत गराउने सावधान राख्ने एउटा मागदर्शक पनि हो । त्यस रुपमा हामीले साढे ७ भनेको नकारात्मक मात्र होइन सकारात्मक पनि हो र साढे ७ लाग्दा अलि होशियार हुनुपर्छ भन्ने कुरा पनि देखाउन खोजिरहेका   छौं ।

दाजुभाई नै गायन क्षेत्रबाट एकाएक चलचित्र क्षेत्रमा लाग्नु भयो नि ?

सत्य   : मेरो पहिलो चलचित्र आचार्य हो । मैले त्यसमा बुवाको बायोपिक गरेको थिएँ । त्यसपछि मैले ‘कर्कस’ गरें । मेरो तेस्रो भलचित्र ‘साढे ७’ भयो । अब चौथो चलचित्र निर्देशक सौगात बिष्टको ‘हैरान’ पनि आउँदैछ । संगीत हाम्रो रगतमै छ । तर हामी अभिनय पनि सानैदेखि गथ्र्याैं, किनभने अभिनय र संगीत एकअर्काका परिपूरक हुन् । यसमा धेरै कुराहरु मिल्छ, जस्तै नवरस । अभिनय नवरसमा हुन्छ । संगीतमा काउन्टर हुन्छ । अभिनयमा काउन्टर हुन्छ । फ्ल्याट अभिनय स्राप अभिनय हुन्छ । संगीतमा पनि फ्ल्याट मोड र सार्प मोड हुन्छ । धेरै कुराहरु मिल्छ ।
अर्को कुरा कुनै पनि चलचित्र या नाटक हामीले संगीतबिना कल्पना गर्न सक्दैनौं । चलचित्रहरुमा ८० प्रतिशत संगीतकै हात हुन्छ ।

नेपाल कै परिवेश होस् या अन्य कुनै देशको परिवेश हेर्ने हो भने गीतहरुले नै चलचित्रहरु चलिरहेको हुन्छ । सबै साउण्ड र नोट कै कुराहरु यी सबै संगीत कै कारणले चलिरहेका हुन्छन् । त्यसले गर्दा एउटा राम्रो कलाकार राम्रो गायक नहुन सक्छ तर एउटा राम्रो गायक जहिले पनि एउटा राम्रो कलाकार हुनसक्छ । किनभने एउटा गायकले गीत गाउँदा उसको हाउभाव सहित स्टेजमा गाउनुपर्छ । धेरै मान्छेहरुको अगाडि गीत गाउनु पर्छ । त्यसले गर्दा पनि हामीलाई सानै देखि नाटकमा पनि रुची थियो । हामीले सडक नाटकहरु पनि गर्यौं । अझ मैले त चार वर्षसम्म नेपाल एकेडेमीमा काम पनि गरें । त्यहाँ मैले लक्ष्मण श्रेष्ठ र हरिहर शर्मा जस्ता नाम चलेका कलाकारहरुसँग बालकृष्ण समको एउटा नाटकमा काम गरें । त्यसले गर्दा हामी सानै देखि नै संगीत भन्दा अझै अभिनय गर्ने, क्यारिकेचर गथ्र्यौंं । संगीत त हाम्रो रगतमा नै थियो ।

 ‘साढे ७’ मा तपाईंको कस्तो भूमिका छ ? 

स्वरुप    मेरो त निर्माण नै हो किनभने सत्य–स्वरुप इन्टरटेन्मेन्ट व्यानर अन्तर्गत नै अन्य विभिन्न अरु साथीहरुको पाँचवटा व्यानरको सहकार्यमा यो चलचित्र बनिरहेको छ । म चाहि यसमा पर्दा पछाडि नै बसेर काम गरिरहेको छु । मैले पुरै निर्माण पक्षलाई हेरेर काम गरिरहेको छु । 

तपाईंलाई नायक बन्न रहर भएन ? 

स्वरुप   :  अब नायक बन्ने रहर त कसलाई हुँदैन र ! पहिला मलाई पनि थियो । हरेक मान्छेले आफूले आफैंलाई नायक सोच्छ । जसलाई पनि हरेकको कथा चलचित्र बन्छ भन्ने हुन्छ । पहिला रहर पनि थियो तर पछि खासै स्क्रिन मै आएर अभिनय गरुँ भन्ने भएन । म एकदमै राम्रो र क्रिटिकल दर्शक हुँ । अभिनय त टाढाको कुरा हो । मलाई म्युजिक भिडियोमा आफ्नो अनुहार देखाउनसम्म पनि मन लाग्दैन किनभने हामी भनेको पर्दा पछाडि नै ठीक छौं । 

संगीत र चलचित्र दुबैलाई एकसाथ कसरी अगाडि बढाईरहनु भएको छ ? 

सत्य   :  यो भनेको समय व्यवस्थापनको कुरा हो । समयलाई मिलाउन जान्नुपर्छ जुन हामीले गरिरहेका छौं । किनभने रेकर्डिङ भइरहेको हुन्छ, कुनै समय हुँदैन । कतिपय समयमा संगीतको कामहरुमा ग्याप हुन्छ । कहिलेकाहीँ संगीतबाट आराम पनि लिईरहेका हुन्छौं । केही समय बे्रक गरुँ न भन्ने हुन्छ । गीतहरु दोहोरीरहेका हुन्छन् । त्यतिबेला के गर्ने भन्ने हुन्छ । हामी त व्यापारी होइनौं । हाम्रो रेस्टुराँ, पस्मिना पसल केही पनि   छैन । त्योसँग जोडिएको एउटा केही काम गरुँ न त भन्ने बेला हाम्रो रुचीको बिषय थियो चलचित्र । त्यसैले यसलाई गरुँ न भनेर त्यो बे्रकमा समयको उपयोग गरेर हामीले चलचित्र गरिरहेका हांै । त्यो बाहेक रेकर्डिङ छ । रचनाहरु छन् । नेपाल र बिदेशमा हाम्रो शोहरु भैरहन्छन् । यी सबै कुराहरुलाई हामीले व्यवस्थापन गरिरहेका छौं ।

यतिका वर्ष संगीतमा लागेर के उपलव्धि भयो त ?

स्वरुप  :  यसमा सबैभन्दा ठूलो उपलव्धि भनेको नाम नै हो । हाम्रो नेपालको परिवेशमा संगीत, चलचित्र र साहित्यमा काम गरेर भौतिक रुपमा सुविधासम्पन्न होऔं धेरै कमाउँ भन्ने जस्तो मलाई लाग्दैन । हामी दुबै दाजुभाईले बुवा (भजन शिरोमणि तथा सदाबहार स्वरका धनी भक्तराज आचार्य) को संगीतको बिरासतलाई अगाडि बढाउन सकेका छौं । हाम्रा लागि त्यो जस्तो ठूलो कुरा अरु कुनै पनि होईन । संगीतमा धेरैले गीत गाए, धेरैले गीत गाउँछन्, धेरैले संगीत बनाउँछन् धेरैले लेख्छन् तर हामीले दोस्रो पुस्तामा बसेर बुवाको सांगीतिक संस्कारलाई अगाडि बढाउन सकिरहेका छौं । त्यसमा केही हदसम्म भएपनि सुगन्ध छर्न सकिरेका छौं । सबैभन्दा ठूलो उपलव्धि हाम्रो लागि यही नै हो ।

 तपाईं मिडियामा अलि कम नै देखिनुहुन्छ नि ? 

स्वरुप  : त्यस्तो आउँदै नआउने पनि होइन । हामी दुईजना नै आईरहन्छौं ।  तर मिडिया भन्ने बित्तिकै हामी ह्वात्तै हामफाली हाल्दैनौं । आजभोलि कलाकारको श्रेणी भने जस्तै मिडिया र पत्रकारहरुको पनि श्रेणी छ । कसलाई समय दिने,कोसँग कुरा गर्ने भनेर सोच्नुपर्ने अवस्था छ ।  भेटवार्ता गर्ने भन्दैमा जोसँग पनि कुरा गर्ने भन्ने पनि हुँदैन । यसमा एउटा लेभल आफैंले बनाउने हो । हामी धेरै छानेर मात्र अन्तर्वार्ताहरु दिन्छौं । अब मैले अन्तर्वार्तामा गएर आफैंले आफ्नो परिचय दिनुपर्यो भने किन अन्तर्वार्ता दिनु ? त्यसैले मिडियामा जाँदा एकदमै सोचबिचार गर्नुपर्ने हुन्छ,अवस्था यस्तै छ ।

तपाईं दाजुभाईको प्रेमपूर्ण सहयात्राले अरुलाई ढाहा लगाएको होला हैन ?

स्वरुप   :  धेरै ढाहा गर्छन् नि । दाजुभाई एउटै क्षेत्रमा लागेको सफलता हासिल गरिरहेको,यसरी मिलेर हिँडिरहेका छौं । अब अहिले त गीत संगीतमा मात्र नभएर चलचित्र निर्माण देखि लिएर कलाकारितामा पनि हामी सँगै छौं । ढाहाको त कुरै नगरुँ । मैले जहिले पनि भन्ने एउटा कुरा के हो भने ‘असल मान्छेका मित्र धेरै, सफल मान्छेका शत्रु धेरै । ’ त्यसैले म हरेक पाईला चाल्दा धुलो फुकेर मात्रै चाल्ने गर्छु । 

तपार्इंहरुलाई संगीतको मेलोडी किङ्ग भनिन्छ नि, सही हो ? 

स्वरुप   :  जसले भन्नुभयो उहाँहरुलाई हामी धन्यवाद दिन्छौं । हामीले गरेको कामहरुलाई मन पराइदिनुभएको छ, त्यो हाम्रो लागि ठूलो कुरा हो । हामी के हौं भनेर आफूले आफैंलाई पगरी गुथाउने कुरा पनि भएन । कसैले मेलोडी किङ्ग भन्छन्, कसैले लाइन अफ नेपाली म्युजिक भन्ने टाइटल पनि दिएका छन् । हामी आफूलाई यतिमात्रै दावी गर्छौं कि हामी संगीतका बिद्यार्थी हौं । संगीतमा साधना गर्न रुचाउँछौं । संगीतमा पढ्न    रुचाउँछौं । 

अहिलेसम्म कतिवटा गीत गाउनुभयो ? 

सत्य  :  मैले यो क्षेत्रमा काम गरेको २५ वर्ष हुन लाग्यो । मैले चानचुन तीन हजार जति गीत गाएँ होला । स्वरुपको लगभग पाँच हजार जति पुग्यो होला । 

दाजुभाई नै व्यस्त हुनुहुन्छ, तपाईंहरुको दैनिकी चैं कस्तो छ ? 

सत्य   :  म त चलचित्रको प्रमोशनमा दौडिरहेको हुन्छु । भेटघाट र चलचित्रका सबैकामहरु आफैंले गरिरहनु परेको हुन्छ । घर पुग्दा कहिले १० त कहिले ११ पनि बज्छ । घर पुगेपछि पनि फेरि ओभरसिज राइटको लागि काम गरिन्छ । किनभने यहाँ राती भएपछि बिदेशमा दिउँसो हुन्छ । त्यहाँका साथीहरु र आफन्तहरुसँग कुरा गर्यो । अनि सुत्दा त कहिलेकाहीँ २ नै बज्छ । बिहान उठ्दा ८ देखि ९ नै बज्छ । बिहान उठेपछि खाना खायो र अनि काममा हिँड्यो । 

अरु बेला चाहिं म बिहान ४ देखि ४ः३० मा उठेर प्राणायाम गर्छु । त्यसपछि केही फलफूल र उसिनेको अण्डा खान्छु । चिया पिउँदिन । मैले चियालाई त्यागेको छु । कालो चिया पनि पिउँदिन । म कोक फेण्टाहरु पनि पिउँदिन । अब ४० कटिसकेपछि स्वास्थ्यको पनि हेरचाह गर्नुपर्छ । त्यसपछि एक घण्टा पनि रियाज गर्छु । म अहिले बुवाको बायोग्राफी लेखिरहेको छु । अनि १० बजेतिर खाना खाने समय हुन्छ । खाना खायो अनि लाग्यो नियमित काममा ।

स्वरुप  :  बिगत चार महिना यता मेरो दैनिकी उथलपुथलपूर्ण छ । तर प्राय म बिहान ७ बजे उठ्छु । उठ्ने बित्तिकै दुई मग मनतातो पानी पिएर फ्रेस भयो । बिहान बच्चालाई स्कूलको लागि तयारी गर्छु । त्यसपछि म एक घण्टा प्राणायाम गर्छु । मैले प्राणायाम गर्न थालेको लगभग दुई वर्ष    भयो । त्यसपछि आफूले रेकर्डिंगका लागि गाउनुपर्ने गीतहरु अभ्यास गरेर अपडेट हुन्छु । दिउँसो रेकर्डि्ङ हुन्छ । अनि भेटघाटमा पनि समय बित्छ । यही नै हो मेरो व्यस्तता । 
 
तस्बीर सौजन्य : सत्य - स्वरुप

  
 

        


 

ताजा खबर