वेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने 

२०७४ माघ २१ आइतबार ०८:०९:०० मा प्रकाशित

कञ्चनपुर, २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् । 

घरपालुवा गाई सडकमा छाडिएपछि उनले कठोर निर्णय लिएका हुन् । उनले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाडेका छन् । देशव्यापी भ्रमण पूरा गरी फर्किएका जगद्तगुरुले गाई छाडेर यातना दिइएकाले त्यसैका लागि अन्न त्यागेको बताए । “सडकमा छाडिएका गाई खानाको अभावमा मर्न थालेका छन्”, उनले भने,  “गौ हत्या भएको धर्तीमा अन्न खाँनै सक्दिन ।” जगदगुरु महाराजले भने,  “यस कार्यले असाध्यै दुःख लागिरहेको छ ।” 

भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन उनले  देशव्यापी भ्रमण गरेका छन् । जगगुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताए । 
उनले  अन्न छाडेपछि स्थानीयवासी पश्चाताप गर्दै छाडा गाई आफूहरुले पाल्ने जिम्मेवारी लिने बताउँदै जगगुरुलाई अन्न खान आग्रह गरेका छन् । 
भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरुले छाडिएका एक÷एक गाई पाल्ने माग गरेका हुन् । 

जगद्गुरु र भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा गाई व्यवस्थापनसम्बन्धी छलफललाई अगाडि बढाएका छन् । नगरपालिकाले भीनपा–१९ मा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित छाडा गाई–गोरु व्यवस्थापनका लागि भौतिक पूर्वाधार बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । 
यसैगरी शुक्लाफाँटा नगरपालिकाले समेत वनहरा नदी छेउको उपयोगविहीन जग्गामा व्यवस्थित गौशाला निर्माणको कार्य अगाडि बढाएको छ । रासस

ताजा खबर