दशदिनभित्र एक लाख घर बन्ने,तीन लाख पुग्ने दाबी

२०७४ माघ २० शनिबार १९:०२:०० मा प्रकाशित

काठमाडौँ, २० माघ । यही माघ मसान्तसम्म अर्थात दशदिनभित्र भूकम्पले भत्किएका एक लाख घर पुनःनिर्माण सम्पन्न हुने र निर्माणाधीन घरको संख्या तीन लाख पुग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले दावी गरेका छन् ।

 शनिबार एक कार्यक्रममा उनले आउँदो मनसुनअघि साढे चार लाख पीडितलाई आवासको व्यवस्था गर्ने गरी काम भइरहेको बताए। वर्षात् अगावै ६० प्रतिशत भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्ने लक्ष्य प्राधिकरणको छ । 

“हाल ९५ हजार घर पुनःनिर्माण सम्पन्न भएको र दुई लाख ८४ हजार आवास बनिरहेको छ, भूकम्प अति प्रभावित १४ र प्रभावित १८ जिल्लामा खटिएका इन्जिनियरलाई पाँच समूहमा बाँडेर भत्ताको व्यवस्था गरेपछि काम गर्न प्रोत्साहन मिलेको छ, हाल दुर्गममा खटिएकाले मासिक रु ५८ हजार र सुगममा खटिनेले रु ४२ हजार बुझ्छन्” प्रमुख कार्यकारी अधिकृत भुसालले भने। 

भूकम्प अति प्रभावित १४ जिल्लाका १३१ स्थानीय तहका एक हजार १८६ वडामा इन्जिनियर खटाइएको छ । पुनःनिर्माणमा आवश्यक पर्ने दक्ष निर्माणकर्मी बढाउन १४ जिल्लाका २१ हजारलाई तालीम दिइएको प्राधिकरणले जनाएको छ । प्रभावित १८ जिल्लामा पाँच हजारलाई तालीम दिइएको छ । 

प्राधिकरणले ७० वर्ष नाघेका वृद्ध, ६५ वर्ष नाघेका एकल महिला, अपांगताको परिचयपत्र भएका र १६ वर्षमुनिका नाबालक भूकम्पपीडितका आवास पुनःनिर्माण गरिदिने निर्णय गरेको छ । यससम्बन्ध कार्यविधि माघ ११ गते जारी गरिएको उनले जानकारी दिए। 

यसका लागि हालसम्म ४०० को नाम दर्ता भएको छ । सहुलियत दरको ऋण ६५९ पीडितले मात्र पाएकाले सहज बनाउन सरोकार भएका निकायलाई अनुरोध गरेको प्राधिकरणले जनाएको छ । 

पुनःनिर्माणका लागि बजेट अपुग हुने भएकाले मंसिर, पुसमा अर्को दाता सम्मेलनको तयारी गर्ने प्राधिकरणको योजना छ । धरहरा प्राधिकरणले नै निर्माण गर्ने भएको छ । बाहिरी संरचना परम्परागत र भित्री संरचनामा ‘लिफ्ट’ सहित आधुनिक शैली प्रयोग गर्ने गरी ‘डिजाइन’ भइरहेको जनाइएको छ । 

भुसालले पीडितलाई थप रु एक लाख दिने सरकारको निर्णय नयाँ बजेट नआएसम्म दिन नसकिने पनि उहाँले बताउनुभयो । शुक्रबारसम्म पीडितलाई रु एक लाख थप दिने निर्णयमा के छ भन्ने विषयमा प्राधिकरणमा कुनै जानकारी पुगेको छैन । 

हाल प्राधिकरणसँग रु ५३ अर्ब रहेकाले अझै रु ४८ अर्ब अपुग रहेको भुसालले सुनाए। “रु ४८ अर्ब व्यवस्था गर्न अर्थ मन्त्रालयमा म लगातार धाइरहेको छु, मन्त्रालयले आवश्यक रकम खोज्ने वचन दिएको छ” उनले भने । 

काष्ठमण्डप पनि यसै आर्थिक वर्षभित्रै पुनःनिर्माण शुरुवात् गर्ने प्राधिकरणको लक्ष्य छ । उपत्यकामा भत्किएका एक लाख एक हजार घरमध्ये ८० हजार बन्न बाँकी छन् । गल्लीगल्लीमा रहेका घर निर्माणका लागि बैंकले नदिएकाले प्राधिकरणभित्रै बैंकिङ एकाइ खडा गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी राखेर एकाइ खडा गरी ऋण प्रवाह गर्ने अन्तिम तयारीमा लागिएको उनले सुनाए। 

माघ २६ गते बस्ने प्राधिकरण निर्देशक समितिको बैठकले दोस्रो किस्ता पुस मसान्तसम्म लिइसक्नुपर्ने भनी तोकिएकोे म्याद थप्ने वा नथप्नेबारे निर्णय लिइने भुसालको भनाइ थियो । रासस

ताजा खबर