‘राजाले शेरबहादुर देउवालाई बर्खास्त गरेको कुरालाई गिरिजाबाबुले गंभीरतापूर्बक लिनुभएन ’

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘टेकओभर’ गर्नु अगाडि देखि नै केही हल्ला चलेको थियो । अनेक आशंकाहरु पैदा भएका थिए । राजाले ‘टेकओभर’ गर्दैछन्,तपाईंहरु जोगिनुहोला भनेर सूचनाहरु मलाई प्राप्त भईरहेका थिए । त्यो सूचना पाएपछि  मैले घर छोडेँ । म बालकुमारी पुगें । कृष्णलाल महर्जनको छिमेकीको घरमा लुकेर बसें । बिहान १० बजे राजाले ‘टेकओभर’ गरेको घोषणा गरे । 

त्यसपछि मैले एमालेको पार्टी कार्यालय बल्खुमा नेपाली कांग्रेस सहितको बैठक बोलाएँं । तर गिरिजाबाबु (नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला) आउनु भएन । सूर्यबहादुर थापा चाहि आउनु भयो । गिरिजाबाबु के आलटाल आलटाल गर्न थाल्नुभयो । उहाँं नआएपनि एक्लै अगाडि बढौं भने मैले । त्यसको भोलिपल्ट अरु वाम पार्टीहरुलाई पनि बल्खुमा बोलाएँ । राजाको कदम विरुद्ध अगाडि बढौं भनें । अर्को पटकको बैठकमा भने गिरिजाबाबु पनि आउनु भयो । राजाको कदमको बिरोध गर्ने बिषयमा सबैको सहमति भयो । तर सरकारको पुनर्बहालीको बिषयमा गिरिजाबाबुले मान्नु भएन । त्यसपछि राजाले प्रधानमन्त्री नियुक्त गरेको विरोधमा सहमति जुटायौं । पार्टीहरुको सिफारिसबाट मात्र प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भनेर हामीले माग राख्यौं । तर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनिसकेको थियो । त्यसको विरोधमा बिभिन्न कार्यक्रम लिएर अगाडि जान हामी तयार भयौं ।

राजाले ‘टेक ओभर’ गरेको दिन नै मैले बसौं भनें । तर गिरिजाबाबुले मान्नु भएन । राजाले शेरबहादुर देउवालाई बर्खास्त गरेको कुरालाई उहाँंले गंभीरतापूर्बक लिनुभएन ।

राजाले ‘टेक ओभर’ गरेको दुई दिनपछि मलाई घरमा नै नजरवन्दमा राखियो ।  मैले के छ आधार भनेर सोध्दा नजरवन्दको पुर्जी थमाईयो । त्यसपछि घरमा भेट्न आउने स्वदेशी तथा बिदेशीहरुको निकै चहल पहल बढ्यो । केही बिदेशीलाई भेट्न दिए पनि अरुलाई दिईएन ।  मैलै छतमा निस्केर सबैलाई आउनुस् भन्थे । तर प्रहरीले रोक्थ्यो । छतबाट हात हल्लाएर भेट्न आउनेलाई धन्यवाद दिन्थेँ ।

संचार सम्बन्ध बिच्छेद गरिएको थियो । भेटघाट बन्द गरिएको थियो । म भित्र भएपनि बाहिरका साथीहरुसँगको पत्राचार कायम राखेँं । मेरी श्रीमतिको माध्यमबाट चिठी लेखेर पठाउने गर्थेँ । हाम्रा पार्टीका साथीहरुमध्ये अमृत बोहोराको हातमा पुग्ने गरी पत्र पठाउथेँ । उहाँंहरुबाट बाहिर के भईरहेको छ भन्ने जानकारी लिन्थेँ । 

नजवन्दको समयभरी किताव पढियो ।  बीपी कोइरालाको जेल जर्नल, कर्ण शाक्यका केही किताब पढेँ । तीन महिना घरभित्र बस्दा त्यस्तो कुनै कठिनाई  भएन । हामी त पहिला भूमिगत बसेकै थियौं । प्रजातान्त्रिक व्यवस्थामा नेताहरुलाई थुनेर राखेको अवस्था देखेर मलाई राजतन्त्रको आयु सकिए जस्तो लाग्यो । बाहिर रहेका साथीहरुलाई दह्रो गरी आन्दोलनमा उत्रनुस् भनियो । 

त्यसपछि यसमा अर्को पक्ष पनि जोड्न चाहन्छु । मेरो आमाको निधन भयो । निधन भएको दिन बेलुका सूर्यबहादुर थापा आर्यघाटमा समवेदना दिन आउनु भयो । उहाँं मेरो आमाको निधन हुने अघिल्लो दिन राजाबाट प्रधानमन्त्री नियुक्त भईसक्नुभएको थियो । म किरियापुत्री घरभित्र बसिन । आमालाई जिउँदो हुँदा पो राम्रो गर्ने हो त । मरेपछि किरियापुत्री बस्नुको कुनै सम्बन्ध छैन । सबैका आ–आफ्नै मान्यता हुन्छन् । तर मान्छेले माधव नेपाल प्रधानमन्त्री हुनका लागि आमाको किरियामा बसेन भनेर प्रचार गरे ! सूर्यबहादुर थापा अघिल्लै दिन प्रधानमन्त्री बनिसक्नु भएकोथियो । प्रधानमन्त्री बन्ने र आमाको किरिया नगर्ने भन्ने कुराको कुनै सम्बन्ध नै थिएन । अहिलेसम्म पनि प्रधानमन्त्री बन्नका लागि किरिया बसेन भनेर लेखेको लेख्यै छन् । 

(१९ माघ २०६१ को कू पछि तत्कालै नजरबन्दमा परेका एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालसँग सरल पत्रिकाले गरेको कुराकानीमा आधारित)


 
 

ताजा खबर