'सेनाको आँखाले सेन्सर गर्न नसकेको त्यो तस्बीर याद आउँछ'

२०६१ माघ १९ गतेसम्म आइपुग्दा मैले पत्रकारितामा झण्डै २० वर्ष बिताइसकेको थिएँ । यसबीच माओवादीको हिंसात्मक आन्दोलन चलिरहेको थियो । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शेरवहादुर देउवालाई असक्षम घोषणा गरेर सरकार भंग गरिदिएका थिए । त्यसभन्दा अगाडि दरबार हत्याकाण्ड भएको थियो । यी सबै घटनाक्रमले गर्दा नेपाली समाज र हामी पत्रकारितामा काम गरिरहेका मानिसहरुको मानसिकता सामान्य अवस्थाको जस्तो थिएन । हामी केही अस्वाभाविक अवस्थामै थियौं । राजा ज्ञानेन्द्रले जुन ‘कू’ गरे, त्यो एकैचोटि गरेका थिएनन् । माघ १९ भन्दा अगाडिको ‘कू’ २०५९ साल असोज  १८ मै गरिसकेका थिए ।

पहिलो ‘कु’ असोज  १८

२०५९ असोजको राजा ज्ञानेन्द्रको जुन ‘कू’ थियो, त्यसलाई माघ १९ भन्दा कम ठान्दिन । मैले त्यतिबेला पनि त्यो कुरालाई धेरै गम्भीर ढंगबाट उठाएको थिएँ । २०५९ असोज अघिदेखि नै प्रजातन्त्र बच्ला के भनेर मैले कभर स्टोरी नै निकालेको थिएँ । यो हिमाल म्यागजिनको २०५९ जेठमा प्रकाशित भएको थियो । जब शेरबहादुर देउवाले संसद भंग गरे र चुनाव घोषणा गर्दिए । देशमा चुनाव हुने अवस्थै थिएन । उनले त्यो गर्दिसकेपछि अब देशमा चुनाव भएन भने त प्रजातन्त्र गयो भनेर हिमालमा कभर स्टोरी छापेको थिएँ । यो सबै भन्नुको मतलब के हो भने झन् झन् खराब र बरबादीतिर हामी घचेटिंदै छौं । मुलुक र प्रजातन्त्र झन् झन् बर्बादीतर्फ घचेटिंदै छ भन्ने कुरा हामीलाई थाहा थियो । हामी सचेत थियौं । त्यही क्रममा २०५९ असोज १० गते संसद भंग भयो । चुनाव घोषणा गरियो । कांग्रेस फुट्यो । प्रजातन्त्रको लागि त्यसैलाई नै सबैभन्दा ठूलो अपसकुन मानिसकेका थियौं । किनभने कांग्रेस फुट्यो, चुनाव घोषणा गरेको छ र चुनाव हुने स्थिति छैन । मैले प्रजातन्त्र बच्ला के भनेर कभर नै स्टोरी    गरेको छु ।

देउवाको बर्खास्तगी

असोज १८ आयो । त्यतिबेला राजाले प्रधानमन्त्रीलाई चुनाव गराउन नसकेको आरोप लगाएर बर्खास्त गरिदिए । आफ्नो मान्छेहरु नियुक्त गरे । त्यसपछि त झन् झन् क्षति हुँदै गयो । २०६१ माघ १९ को घटना एकदमै अप्रत्यासित थिएन । केही न केही घटना हुन्छ भन्ने थियो । कस्तो र कुन खालको घटना हुन्छ भन्ने मात्र यकिन थिएन । यो त्यतिमात्र थिएन । त्यस हिसाबमा एउटा पत्रकारको नाताले सम्पादकको नाताले मानसिक रुपमा तयार जस्तै थिएँ । किनभने एकातिर माओवादी थिए, अर्कातिर राजा ज्ञानेन्द्रको महत्वकांक्षा थियो । अब मुुलुकमा राम्रो हुने त केही गुन्जायस नै थिएन । 

पाकिस्तानको सिको र सेन्सरसीप

अब के गर्छन् भन्ने आशंका व्याप्त थियो । तर टेलिफोनको लाइन बन्द गर्लान्, इन्टरनेट बन्द गर्लान् यस्तो त हामीले सोचेका थिएनौं । त्यो उनीहरुले कहाँबाट सिकेर आए थाहा छैन । पछि हामीले ठाउँठाउँमा बुझ्दा पाकिस्तानमा पनि सैनिकले ‘कू’ गर्दा यस्तै गरेका थिए रे । परवेज मुसर्रफले अन्तबाट सिकेका रहेछन् । यस्ता कुरा गरे र त्यसले पक्कै धेरै ठूलो अफठ्यारो भयो । प्रत्यक्ष पञ्चायतको युग सकिएपछि प्रजातन्त्रको युग शुरु भएपछि त्यस किसिमको प्रत्यक्ष सेन्सर कहिले भोगिएको थिएन । त्यतिमात्र होइन कि कल्पना पनि गरिएको थिएन । यो मुलुकमा फेरि पत्रकारिताले सेन्सरमा पर्नुपर्ला भन्ने कल्पना पनि गरिएको थिएन । सेन्सर पनि कस्तो भने पञ्चायतकालको सेन्सर भन्दा कडा थियो । पञ्चायतकालमा सेन्सर गर्न अञ्चलाधीश कार्यालयबाट सिभिल कर्मचारी आउँथे । 

प्रेसमा सैनिक हस्तक्षेप 

त्यसबेला त सेनाको मान्छे आएर मसँग हतियार छ भनेर एक्लै खुसुक्क कानमा आएर हामीसँग भन्छ । सेनाको भए पनि आउने बेला सिभिल ड्रेसमा आउने अनि हामीसँग हतियार छ भनेर कानमा आएर भन्ने भनेको तर्साउने, दुःख दिने, मानसिक रुपमा आतंकित पार्ने काम हो । प्रत्यक्षतः सेनाले नै पत्रिका सेन्सर गर्ने काम गर्यो । त्यो भनेको मेरो मानसिकतालाई मैले कसरी लिन्छु भन्ने अघि मैले भने अपेक्षित थियो । कुनै दुरवस्था आउँछ भन्ने कुरा एउटा थियो । 

त्यो १९ माघमा आयो र त्यसलाई एक किसिमले स्वाभाविक रुपमा मैले लिएको थिएँ । तर मलाई विश्वास थियो राजाको यो शासन पनि धेरै दिन टिक्नेवाला छैन । यो अस्थायी हो । हामी धेरै आत्तिनु पर्दैन । यिनी धेरै टिक्दैनन् । यो बर्बादीको यस्तो खालको दुर्व्यवहार जनताप्रति आजको युगमा आएर ज्ञानेन्द्रको छुद्र व्यवहार धेरै दिन टिक्दैन भन्ने कुरामा म त ढुक्क थिएँ । 

फागुन १ को 'हिमाल'

१९ माघपछि निस्केको १ फागुनको हिमालको अंकमा एक पेज पुरै मैले एउटा बिज्ञापन राखेको छु । त्यो बिज्ञापन भन्दा पनि सन्देश राखेको छु । त्यो कसैले पैसा तिरेको बिज्ञापन पनि होइन । त्यसमा मैले दुईवटा फोटो राखेको छु । एउटा फोटोमा हिमाललाई बादलले ढाकेको छ र अर्को फोटोमा बादल हटेको छ र हिमाल छ्याङ्ग देखिएको छ । मैले सन्देश यतिमात्र राखेको छु । अरु थप केही पनि लेखेको छैन । हिमाल ढाकिन्छ, हिमाल उग्रिन्छ । त्यो सेन्सरबाट पनि पास भयो । किनभने त्यसमा अरु कसैलाई केही भनेकै थिएन । तर यसबाट पाठकले पर्याप्त सन्ेदश लिए । यसले जे सन्देश दिइरहेको छ यो धेरै दिन टिक्नेवाला छैन । राजाको निरंकुश शासन धेरै लम्बिने छैन भन्ने सन्देश दिएको हो भन्ने कुरा पाठकले बुझेछन् । 

ज्ञानेन्द्रले नै राजतन्त्र सिध्याए

जनताले राजालाई केही समय दिए । तर राजा त आफैं प्रधानमन्त्री भएर उपाध्यक्ष नियुक्त गर्न थाले । जुन खालका व्यक्तिहरु मन्त्री नियुक्ति गर्यो र अरु खालका भ्रष्टाचार नियन्त्रण टोलीदेखि लिएर दौडाहा टोलीमा जुन खालका मान्छेलाई ल्याउन थालियो अनि सबैले बुझ्न थाले कि राजाले ढाँटेका रहेछन् । असल नियतले देशलाई राम्रो बाटोमा डोर्याउँछु भनेर जनतासँग जे भनेका थिए त्यो पनि बेकारको कुरा रहेछ । हामीलाई राजाको शासनको एक दुई हप्तामा सबै कुरा प्रष्ट भईहाल्यो । त्यसपछि  लोकतन्त्रर प्रेस स्वतन्त्रताको लागि हामी पहिलादेखि नै लडेका थियौं । पञ्चायतकालमा पनि लड्यौं । अब फेरि त्यहि लडाईं शुरु भयो लडेको लडेकै गरियो । अन्तत उनीहरुले हार्नुपर्ने थियो हारे र नेपाली जनताले जित्नु पर्ने थियो जिते ।

राजा ज्ञानेन्द्रले १९ माघलाई असल नियतले प्रयोग गरेको भए एउटा ठूलो अवसर पनि थियो । तर त्यो गरेनन् । यसमा उनीहरुले असल नियतले ल्याएको रहेनछ भन्ने देखियो । त्यसले अब सजाय पनि पाए । राजतन्त्र नै सिध्याए । राजतन्त्र त नेपाली जनताको थियो नि तर ज्ञानेन्द्रले आफ्नो बुद्धिले गरेर राजतन्त्र नै सिध्याए । अब कसैलाई सहानुभूति देखाउनु पनि परेन र कसैलाई श्रद्धाञ्जली दिनु पनि परेन ।

भरपर्दो हुँदैन अन्तर्राष्ट्रिय समुदाय

अन्तर्राष्ट्रिय समुदाय भनेको कहिले पनि त्यो भरपर्दो हुँदैन । कहिले कुनै पनि मुद्दामा भरपर्दो हुँदैन । त्यो देशभित्रको अवस्था कस्तो बन्छ त्यसअनुसार उनीहरुले आफ्नो स्वार्थ सिध्द गर्न आउने हुन् । त्यतिबेला पनि अन्तर्राष्ट्रिय समुदायको काम हेर्ने मात्र थियो । राजा ज्ञानेन्द्र अघि बढे भने उनैको लहैलहैमा लाग्ने । अब उनको शासन चल्ने छाँट देखिएन भने हो लोकतन्त्र चाहिन्छ भन्ने । त्यतिबेलाका खेलाडी भारत र अमेरिका हुन् । यी दुबै देश त्यतिबेला एकदमै दोधारमा थिए । जब पछि ज्ञानेन्द्रको शासन चल्दैन भन्ने बुझे त्यसपछि ज्ञानेन्द्रलाई लखेट्न थाले र दलहरुलाई साथ दिन थाले । 

प्रेसमा एकता  

समग्रमा भन्दा आफ्नो अस्तित्व रक्षाका लागि सबै मिडिया त्यसबेला एउटा भएका थिए । कोही कसैले बहादुरीका साथ तर्कपूर्ण ढंगबाट मेरो स्वतन्त्रता हरण गर्न पाईँदैन भनेर जेहादै छेडेका थिए । कतिले आफूलाई यसो खुम्चाएर शासकलाई नचिढ्याउने र आफू पनि बाँच्ने काम गरेका थिए । शुरुका दिनका माघ १९ लगत्तै पछिका मिडियाहरु हेर्यो भने थोरै मात्र मिडियाको रोल आक्रामक पाइन्छ ।

राजाको प्रेस स्वतन्त्रता सिध्याउने कदमलाई चुनौती दिएको पाइन्छ । अरु चाहिँ खुम्चिएर बसेका थिए । अरुहरु केही त थाहा नपाएको जस्तो गरी मानौं मुलुकमा केही भएको नै छैन जस्तो गरी बसेका थिए । अलि पछि राजाको शासन चल्ने छाँट नदेखेपछि र अन्तर्राष्ट्रिय समुदाय पनि यतातिर लाग्यो भन्ने चाल पाएर राजामाथि आक्रमण गर्ने, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने काम शुरु भयो । त्यो स्वाभाविक हो । त्यो प्राय सँधै त्यस्तै हुन्छ र यहाँ पनि त्यस्तै देखिएको थियो । 

(प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष पत्रकार राजेन्द्र दाहालसँग सरल पत्रिकाले कू लगत्तै प्रेसले भोग्नुपरेको सैनिक सेन्सरसीपबारे गरेको कुराकानीको सार) तस्बीर साभार नेपाली टाईम्स


 

ताजा खबर