‘हामी कांग्रेस बदल्न चाहन्छौं’

नेपाल तरुण दल नेपाली कांग्रेसको भ्रातृ संगठन हो भन्ने कुराको महसुस गत निर्वाचनमा हुनसकेन भन्ने टिकाटिप्पणी सुनिन्छ। खासगरी निर्वाचनमा शर्मनाक परिणाम आएपछि कांग्रेसवृत्तमा एकअर्कामा त्यसको दोष थोपर्ने होडबाजी नै चलिरहेको छ। हालै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा समेत निर्वाचन परिणामकै बिषयमा छलफल हुँदा सभापति शेरबहादुर देउवाले चर्को आलोचना सहनुपरेको थियो। पार्टीको सन्यन्त्र र भ्रातृ संगठनहरु समुचित ढंगले परिचालन गर्न सभापति असफल भएको भन्ने एकथरीको आरोप पनि थियो। यसमा सबैभन्दा सशक्त भनिने युवा संगठन तरुण दलको भूमिका पनि आलोचनाको एक पक्ष थियो।

तरुण दलको नेतृत्वमा जाने र पठाउन चाहने खेलमा कांग्रेसका सबै तहका नेताले पूरै शक्ति प्रयोग गर्ने परिपाटी छ। सके संगठन नै कब्जा गर्ने नसके पनि पार्टीभित्रको विपक्षलाई कमजोर हैसियतमा मात्र आउन दिने कुटिलतापूर्ण खेल हुनेगरेपनि विशेष समयमा भने तरुण दलले उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको भन्ने टिप्पणी हुने गरेको छ। यही आन्तरिक कुटिलताकै कारण तरुण दलको केन्द्रीय समितिले आजसम्म पूर्णता पाउन सकेको छैन। चरजना पदाधिकारीले सशक्त भनिएको संगठन चलाईरहनु आफैंमा आश्चर्यको विषय हो। यसमा पनि सभापति देउवा नै मुख्य जिम्मेवार देखिन्छन्।

यही पृष्ठभूमिमा तरुण दलले करिब दुईसातापछि जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ। पहिलोपटक सबै जिल्ला अध्यक्षहरुलाई राजधानी नजिकै भेला गरेर तरुण दलले के उदेश्य पूरा गर्न खोजिरहेको छ भन्ने कुरा राजनीतिमा चासो राख्ने सबैको सरोकारको बिषय हो। हुन त तरुण दलका महासचिब भूपेन्द्रजंग शाहीका अनुसार भावी दिनमा तरुण दल कसरी परिचालित हुने भन्ने बिषय नै छलफलको मूल एजेन्डा हुनेछ। राजनीति सँगसँगै साहित्य सिर्जनामा पनि सशक्त कलम चलाईरहेका शाही यतिबेला संगठनको महत्वपूर्ण पदमा छन्। भक्तपुरको पर्यटकीय केन्द्र नगरकोटमा माघ २८ र २९ गते हुने राष्ट्रिय भेलाकाबारेमा सरल पत्रिकाले तरुण दलका महासचिब भूपेन्द्रजंग शाहीसँग गरेको संवादको संक्षेपः 

तरुण दलको राष्ट्रिय भेला हुँदैछ रे,किन हुँदैछ यो भेला?

हो तरुण दलको राष्ट्रिय भेला यही महिनाको अन्तिम साता हुँदैछ। अहिले म लगायत सबै साथीहरु आसन्न राष्ट्रिय भेलाको व्यवस्थापनमा व्यस्त छौं। अहिले मेरो दैनिक काम भनेकै राष्ट्रिय भेलाको तयारी भएको छ। तरुण दलको संगठनलाई बिस्तारित गरौं र अलि मजबूत बनाउँ भन्ने काममा लागिएको छ। यसकै लागि अहिले हामी जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला गर्दैछौं। हामीले पहिलोपटक सबै जिल्लाका अध्यक्षहरुलाई राजधानी नजिकै आमन्त्रण गरेर राष्ट्रिय भेला गरिरहेका छौं । आगामी भेला मार्फत केही बिशेष बिषयवस्तुमाथि छलफल गर्नेछौं। त्यहाँबाट भावी दिनमा तरुणदल कसरी परिचालित हुने र केकस्तो रणनीति लिएर अगाडि बढ्ने भन्ने बिषयमा एउटा ठोस निस्कर्ष निकाल्ने प्रयाश गर्नेछौं। अहिले धमाधम भेलाको तयारी भैरहेको छ।

भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते यो राष्ट्रिय भेला हुँदैछ। किन काठमाडौंमा भेला गरिएन भन्ने पनि कतिपयलाई लाग्न सक्छ। काठमाडौंमा भेला नगर्नुको कारण चाहिं व्यवस्थापनको चुनौतिले नै हो भन्नुपर्छ। किनभने अब काठमाडौं र भक्तपुरवीचको दूरी धेरै टाढा त छैन। तर पनि हाम्रो उदेश्य काठमाडौंमा भयो भने वास्तविक सहभागी भन्दा अरु धेरै संख्या बढ्ने देखियो। किनभने अरु कामले काठमाडौं आएका मान्छेहरु पनि नजिकै भएपछि भेलामा पनि सहभागी हुनसक्ने संभावना हुन्छ। त्यसैगरी यहाँ भेला गरियो भने सहभागीहरुलाई पनि बेलाबेलामा शहरतिर निस्कन मन लाग्ने हुन्छ। यसलेगर्दा मुख्य बिषयमा सबैको ध्यान केन्द्रित नहुने संभावना रहन्छ, यो अरुबेलाका अरु कार्यक्रमहरुबाट पनि अनुभव भएकै कुरा हो। यही कारणले नगरकोटलाई भेलाको स्थल छनौट गरिएको हो।

गत निर्वाचनमा तरुण दलको भूमिका खासै उल्लेख्य भएन भन्ने आलोचना सुनिन्छ नि,किन ?

यो साँचो हो। तरुण दलले जुन भूमिका निर्वाह गर्न सक्थ्यो त्यो हुनसकेन। हामीहरुमा केही कमीकमजोरी पक्कै पनि रह्यो। यसको पछाडिको मुख्य कारण केन्द्रीय समिति बिस्तार नहुँदा हामीलाई काम गर्न गाह्रो भयो। अहिले पनि हामी चारजनामात्र पदाधिकारी छौं। केन्द्रिय समितिमा पार्टीले नै मनोनयन गर्ने परम्परा भएको हुनाले हामीले सोचे अनुसार काम गर्न सकेनौं। अर्को कुरा, म तरुण दलको महासचिव र म आफंै पनि कालिकोटमा प्रतिनिधिसभाको सदस्यको उम्मेदवार थिएँ। त्यो भएको हुनाले पनि म कालिकोट जानुपर्यो र मतदाताताको बीचमा आफंैलाई मत माग्नु पर्ने भएको हुनाले मैले जति भूमिका निर्वाह गर्नुपथ्र्याे,त्यो सकिएन कमजोरी भएको नै हो।

अरु भ्रातृ संगठनको पनि खासै योगदान भएन भन्ने टिकाटिप्पणी सुनिन्छ नि? 

भ्रातृ संगठनहरुले सहयोग नै नगर्ने भन्ने कुरा त भएन। सहयोग त सबैले गरेकै हो। तरुण दलमा पनि म आफैं उम्मेदवार भएको कारण व्यस्त भएँ। तर हाम्रो अध्यक्ष लगायत साथीहरुले त निर्वाचनमा कांग्रेसलाई जिताउन आफ्नो तर्फबाट प्रयास गर्नुभएको हो। परिणाम सोचेजस्तो आएन, त्यो अर्कै कुरा भयो। हामीले चाहे जस्तो गर्न सकेनौं। यसमा कमीकमजोरी भएका होलान् तर जिताउन नै नचाहेको भनेर चाहि भन्न मिल्दैन।

तरुण दलमा सदस्यहरु कति छन् त ?

तरुण दलको साधारण सदस्यता अब अलि खुल्ला नै छ। त्यसको रेर्कड भन्दा पनि यो युवाको संगठन भएको नाताले यसमा लाखौं साथीहरु आवद्ध हुनसक्नुहुन्छ। यसको एउटा पूर्णकालिन सदस्य बन्ने प्रावधान पनि छ। अहिले तरुण दलमा बीस हजार जति पूर्णकालिन सदस्य हुनुहुन्छ।

तरुण दल केन्द्रले जिल्ला संगठन र सदस्यहरुलाई केही काम नै दिँदैन रे,किन यस्तो ? 

अब यो भन्दा अघि के भयो त्यो मलाई केही पनि थाहा छैन। हामी त नयाँ हौं। त्यसैले तरुण दलको केन्द्रिय समिति बिस्तार नहुँदा जति गतिविधि हुनुपर्थ्यो त्यो हुन नसकेको हो। तर अब त्यस्तो हुँदैन। अब हामी तरुण दललाई एकदमै गतिशिल बनाउँछौं। हाम्रो संगठन हामी चुस्त दुरुस्त बनाउँछौं। संगठनलाई एकदमै मजबूत बनाउँछौं। एउटा बलियो र सशक्त कांग्रेसको लागि एउटा बलियो तरुण दल हामी बनाउँछौं।
  नेपाली कांग्रेसलाई बलियो र सशक्त पार्टी बनाउनुपर्छ,त्यसका लागि कांग्रेस बदल्नु पर्छ। कांग्रेस बदल्ने अभियानको शूरुवात पनि हामी तरुण दलबाट गर्न चाहन्छौं। हामी अरुलाई मात्र यो भएन त्यो भएन भनेर औंला ठ्डयाउने भन्दा पनि आफैं केही गरेर देखाउन चाहन्छौ। अबको केही वर्षमा हामी देशभरी वडावडामा तरुण दल बिस्तार गरेर हरेक नागरिककोबीचमा तरुण दललाई पुर्याउँछौं।

यसमा सामाजिक, राजनीतिक या युवाहरुका अन्य मुद्दामा तरुण दल अग्रपंक्तिमा उभिएर संगठन बिस्तार गर्छौ। संगठन बलियो र प्रभावकारी बनाएर आगामी चुनावमा नेपाली कांग्रेसलाई बिजय गराउनका लागि योगदान गछौं। अब हाम्रो उदेश्य मजबूत तरुण दल हो। यही उदेश्यले हामीले जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला आयोजना गर्न गैरहेका छौं। किनभने जिल्ला अध्यक्षहरु भनेका संगठनका खम्बा हुन्,उनीहरुको अनुभव र सुझाव अनुसार देशभरीको संगठन परिचालन र भावी रणनीति निर्माण गर्दा मात्र सही काम हुनसक्छ भन्ने मेरो दृढ विश्वास रहेको छ।   
 
 
 


   

    

  
 

ताजा खबर