एसईई परीक्षाको नतिजा असार पहिलो साता

२०७४ जेठ २९ सोमबार ०७:२३:०० मा प्रकाशित

  भक्तपुर, २९ जेठ । विद्यार्थीहरुका लागि फलामे ढोकाको रुपमा रहेको विगतको एसएलसी परीक्षा अहिलेको एसईईको नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ ।
गत चैतमा लिईएको एसईईको परीक्षा नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भैरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले सरल पत्रिकासँग  बताए ।
परीक्षा नतिजा सार्वजनिक गर्नका लागि आवश्यक तयारीमा कर्मचारीहरु खटिरहेका बताउँदै रेग्मीले असार पहिलो हप्तामै नतिजा सार्वजनिक गर्ने जानकारी दिए । यसका लागि यतिबेला परीक्षाको तथ्याङ्क प्रशोधन र रुजूको काम भैरहेको नियन्त्रक रेग्मीले स्पष्ट पारे । ‘कुनै समस्या र अवरोध नआएको अवस्थामा असार पहिलो हप्तामै नतिजा सार्वजनिक गर्छौं,त्यसका लागि रातदिन काम भैरहेको छ ’ रेग्मीले भने ।
विगतका बर्षमा एसएलसी नतिजा प्रकाशित गर्दा केही त्रुटि आउने गरेको भएपनि यो पटक विगतको जस्तो त्रुटि नदोहोरियोेस् भनि होसियारीसाथ काम भैरहेको उनले बताए ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा एलएलसी भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुपान्तरण भएको होे ।
यो बर्षको परीक्षामा राजधानी काठमाडौंसहित देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
यस वर्षको एसइइको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

ताजा खबर