माधव नेपालको‘राजनीति कुण्ड’मा ठाकुरहरुको बली

२०७४ माघ १० बुधबार १५:३८:०० मा प्रकाशित

काठमाडौ,१० माघ । एमालेको बुटवलमा सम्पन्न आठौं महाधिबेशनपछिको पहिलो बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले मार्मिक मन्तब्य राखेका थिए। उनको भनाई थियो ‘मलाई पार्टीमा कुनै गुट रिसाउला भन्ने  चिन्ता छैन किन कि म स्वतन्त्रको तर्फबाट चुनाव जितेर आएको हुँ।’  बुटवल महाधिबेशन मात्र होइन अधिकांश महाधिवेशनमा एमालेले होइन गुटका नेताले चुनाव लड्थे। गुटका नेता नै चुनाव जित्थे। महाधिवेशनको परिणाम एमालेहरुको पक्षमा होईन गुटको पक्षमा हुन्थ्यो।

बुटवल महाधिवेशमा गुट बाहेक जितेका एकमात्र प्रतिनिधि पात्र थिए ठाकुर गैरे। उनी स्वतन्त्रबाट जिते पनि नेपाल गुटको पक्षम सधैं रहीरहे। उनले  गुटका अरु सदस्यले जस्तो चाकडी गरेनन् होला । तर उनले आफ्नो मान्यतामा तलमाथि गरेनन्। माधव नेपालको निष्ठाको राजनीतिको गीत गाएर गैरे थकेनन्।

हुन त पार्टी संगठन भनेको गुटहरुको मोर्चा हो। गुटहरुको ब्यवस्थित मोर्चाले पार्टीलाई सक्रिय पनि बनाउँछ। तर त्यसलाई संचालन गर्ने नेताको क्षमता पनि नाप्छ।

एमालेमा गुट नभएको कुनै समय थिएन। र संंसारका कम्युनिष्ट पार्टीहरुमा पनि गुट नभएको कुनै पार्टी थिएन। सबै पार्टीहरुमा गुट हुन्छ नै।  तर गुट समुन्द्रको डुंगा हो। चलाउन जाने पार लाग्छ,नजान्नेले सबै  यात्री डुबाउँछ।  

  एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको छविमा प्रश्न गर्ने ठाउँ छैन। उनले आफ्नो चरित्रमा प्रश्न गर्ने ठाउँ दिएका छैनन्। भ्रष्टाचारको आरोप पनि यिनले ब्यहोर्नु परेको छैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तारमा यिनको ब्यक्तित्व सबैले बुझेका छन्। यो नेता नेपालका राम्रा पक्ष मानिन्छन्। तर पार्टीभित्र गुट चलाउन नसक्नु यिनको महाकमजोरी भएको टिप्पणी सुन्ने गरिन्छ।

 कुनैबेला मदनभण्डारी र सीपी मैनालीका अलग गुट थिए। भण्डारीका गुटमा थिए बरिष्ठ नेता नेपाल, केपी ओली  ईश्वर पोखरेल, प्रदिप नेपाल र वामदेव गौतम।   नेपालमा चलेको चलन अनुसार मैनालीको भन्दा संस्थापन गुट नै बलियो  थियो।

तर संस्थापन पक्ष नै गुट संचालन गर्न सक्षम थियो। त्यसबेला मैनालीका पछि लागेका नेता कार्यकर्ताको बिचल्ली हुँदै गयो। उनीहरु माउबिनाको चल्ला जस्ता बन्दै गए। राजनीतिको मूलधारमा उनीहरुको भूमिका सुक्ने बेलाको पानी जस्तै बन्दै गयो। अन्तिममा सीपी मैनाली गुट सक्षम कार्यकर्ताको समूह बन्न सकेन ।  सीपी मैनाली चौतारोमा रोपेको रुख जस्ता भए। उनको चौतारो असन्तुष्टहरुले बसेर सुस्केरा हाल्ने केन्द्र मात्र बन्यो।

 यो त कुनै बेलाको एमालेभित्रको प्रसंग थियो। अहिलेको एमाले त यो भन्दा खतरनाक अवस्थामा छ। पार्टीको नवांै महाधिवेशनमा पचास भोटले मात्र  ओलीसँग चुनाव हारेका नेपाल उ बेलाको  सीपी भन्दा कम्जोर बन्र्दै गएका छन्। उनका पछि लाग्ने सक्षम  कार्यकर्ता नेपाल गुटको नाममा शहीदको लाईनमा छन्।  अध्यक्ष केपी ओलीले आफुले बुटवलमा चुनाव हारेपछि मदन भण्डारी प्रतिष्ठानको नाउँबाट देशव्यापी समानान्तर पार्टी चलाए। यसरी पार्टी चलाए भनेर मुखको चिलाई मार्नु उचित हँुदैन। प्रतिष्ठानको नामबाट उनले आफ्ना गुटका कार्यकर्तालाई आत्मनिर्भर बनाए। रोजगार बनाए र राचनात्मक कामको सृजना गरे। त्यसैले त अहिले ओली गुटमा लागेका हजारांै नेता कार्यकर्ताहरु उनका लागि बलि दिन तयार देखिन्छन्।

ओली पक्षले मदन भण्डारी प्रतिष्ठानलाई यसरी अगाडि बढाएको देखेपछि नेपाल पक्ष पनि देखासिकी बाटोमा लाग्यो।  अनि खोल्यो मदन भण्डारी अध्ययन केन्द्र। त्यसको हालत पनि माधव नेपालको जस्तै भयो। ठाकुर गैरैलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने पक्ष र बिपक्षमा स्थायी  समितिमा घनश्याम भुसाल, बिष्णु पौडेलबीच तीन घण्टा चर्काचर्की हुँदा कुनामा बसेर माधव नेपालले जीब्रोसम्म बाहिर निकालेनन्। त्यो बैठकलाई माधव नेपाल जसरी निरीह देखिए मदन भण्डारी अध्ययान केन्द्र पनि त्यस्तै अवस्थामा छ यतिबेला। झोकमा जन्मेको त्यो संस्था अहिले शोकमा छ।

पार्टीको आठौं महाधिवेशनसम्म नेपाल गुटमा भएका खिमलाल भट्टराई राष्ट्रिय सभाका सदस्य हँुदैछन। किन कि उनले गुट परिवर्तन गरेर ओलीतिर लागे। नेपाललाई कुरेर बसेका गैरे पटक पटक शहीद भएका छन्। गैरेको नाम अहिले मात्रै चर्चामा आएको होइन। यसभन्दा अघिल्ला निर्वाचनमा पनि आएको हो। ‘२०५१ साल देखि चुनाव लडदै आएका छांै, सम्धी यसपटक तिमी बसेर गैरेलाई टिकट दिउ’ भन्ने हुति नेपालको रहेन।  त्यसैको शिकार बनेका छन् गैरे।

गैरेलाई ओली गुटले शिकार बनाएको भन्न मिल्दैन। बनायो त केवल नेपाल गुटले। किन  कि स्थायी समितिको बैठकमा गैरेको बली चढाउँदा नेपालको मन पोलेन। किन उनी नेपालका सम्धी थिएनन्। तर गैरे जस्ता सयौं नेताको टाउको आफ्नो गुटमा  गनेर नेपालले आफ्नो पोजिसन बलियो बनाउँदै गए। राष्ट्रिय सभाको निर्वाचनसम्म आउँदा माधव नेपालको पोजिसनका लागि गैरे जस्तै जगन्नाथ खतिवडाको पनि बली चढाईयो। नेपालको यो शैली निरन्तर जाने हो भने धेरै कार्यकर्ताको बिचल्ली हुने देखिन्छ। नेपाल गुट केवल माथि भनिए जस्तो संस्थापनसँग असन्तुष्टी पोख्नेहरुको चौतारो मात्र हुने छ।

नेपालीमा एउटा पुरानो भनाई छ ‘नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुनु जाति ।’ बुझ्नेलाई यो कुरा काफी छ। एमालेमा माधव नेपाल अहिले यो  भनाईमा जोड्ने उपयुक्त पात्र भएका छन्। त्यसैले आफ्नो राजनीति कुण्डमा ठाकुर गैरे र जगन्नाथ खतिवडाहरुको बली चढाई रहेका छन्।

ताजा खबर