‘कोमल वलीको उम्मेद्वारी नैतिकताको स्खलन’

प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीको निर्वाचन परिणाम घोषणा हुन बाँकी नै छ । एमाले जनवर्गीय संगठन युवा संघकी केन्द्रीय उपाध्यक्ष दिलकुमारी (दिलु) पन्त समानुपातिक बन्दसूचीकी उम्मेदवार पनि हुन् । तर,उनी उम्मेदवारीको क्रमांकबाटै आफूमाथि अन्याय भएको बताउँछिन् । समानुपातिक तर्फका अधिकांश महिला निर्वाचित भइरहँदा पन्त भने क्रमांकमा तल पारिएकै कारण निर्वाचित हुने अवसरबाट बञ्चित हुने भएकी छन् । त्यसमाथि बुधबार राष्ट्रियसभाका लागि एमाले उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेपछि एमालेबृत्तमा एक किसिमको तरंग पैदा भएको छ । लोकगायिका कोमल वलीको उम्मेदवारीलाई लिएर पार्टीभित्र र बाहिर पनि व्यापक विरोध छ । पन्तसँग यिनै विषयमा सम्पर्क गर्दा उनले आफ्नो धारणा यसरी राखेकी छन् -
कोमल वलीको उम्मेदवारीको सर्वत्र चर्चा छ । तपाईं के भन्नुहुन्छ ?
हाम्रो पार्टीभित्र देखिएको नैतिकताको स्खलन हो यो । हिजोको इतिहास र विरासत सबै भुल्ने काम भएको छ । वर्तमानमा रमाउने प्रबृत्ति विकास भयो । व्यक्ति कोमल वलीसँग हाम्रो आपत्ति होइन । तर, जुन ढंगलबाट प्रदेश नं. ५ मा थुप्रै योग्य आकांक्षी महिलाहरु हुँदाहुँदै अपारदर्शी ढंगले उहाँलाई उम्मेदवार बनाईएको छ, यसले देशव्यापी रुपमा निराशा छाएको छ । हिजोदेखि हामी न्याय र समानताका लागि लड्यौँ । राज्यसँग न्याय र समानता माग्ने हामी आज आफ्नै पार्टीसँग न्याय माग्नुपर्ने दिनमा आइपुगेका छौँ । त्यसैले यो दुःखद् घटना हो ।
यसले एमाले पार्टीमा कस्तो असर पर्ला त ?
पार्टीलाई मजबूत बनाउने कुरामा स्तम्भ भएर उभिएका कार्याकर्ताको खुट्टा धरमरायो भने पार्टी कहाँ पुग्छ ? नेतृत्वले सोच्ने बेला भएको छ । यो निर्णय भइसक्यो । हाम्रो पार्टीको चुनाव चिह्नमा उहाँ उम्मेदवार पनि बनिसक्नुभएको छ । त्यसैले व्यक्तिलाई हैन, पार्टीको चिह्नलाई मतदान गर्ने हामी एमाले कार्यकर्ताको कर्तव्य हो । तर, कार्यकर्ताले बाध्यतामा परेर चित्त बुझाउँदैमा जनताले पार्टीलाई माफ गर्दैनन् । हिजोका बलिया पार्टीहरु ढलेको हामीले देखेका छौँ । नेपाली कांग्रेसले विरोधीहरुलाई सामना गर्न नसकेर यो हविगत व्यहोरेको होइन । उसले एकपछि अर्को गर्दै जनविरोधी, जनमतविरोधी कदम चाल्दा आज उसले सबभन्दा ठूलो पार्टीबाट एउटा कमजोर पार्टीमा रुपान्तरण हुनुपरेको छ । एमाले आज देशको सबभन्दा ठूलो पार्टी छ । तर, म दावीका साथ भन्छु, यही घटनाले पनि पार्टीको छवि धमिलिएको छ । त्यो कुरा परिणाममा आजै देखिँदैन । एकदिन जनताले आफ्नो मतमार्फत जवाफ दिने दिन आउँछ । त्यसैले भएका गल्तीलाई सच्याउने र पार्टीलाई विधिसम्मत तरिकाले चलाउने मौका अझै पनि गुमेको छैन । नेतृत्वले विचार गरोस् ।
पार्टी नेतृत्वले आत्मालोचना गर्ला त ?
म अहिलेकै नेतृत्वबाट पुनर्विचार वा आत्मालोचनाको सम्भावना देख्दिनँ । नेतृत्वमा हैकमवाद र सामन्ती कार्यशैली हावी भइसकेको छ । तर, पार्टीभित्र पार्टीलाई माया गर्ने, जनताको मतलाई सम्मान गर्ने नेतृत्वको ठूलो पंक्ति छ । उहाँहरुले लड्नुपर्छ । हामी देशभरका युवा कार्यकर्तालाई त्यस कामका लागि परिचालित गर्न तयार छौँ ।
कोमल वलीको उम्मेदवारी के–के कारणले अनुचित भन्नुहुन्छ ?
कोमल वली कलाकार । तर, कस्तो कलाकार ? के उहाँले जागरणका गीत गाउनुभयो ? हामी पञ्चायत र शाही शासनका विरुद्ध लडिरहँदा उहाँ कहाँ हुनुहुन्थ्यो ? सधैँभरि शासकहरुको स्तुति गाउनुभयो । एमाले जनतामा आधारित पार्टी हो । यो पार्टीभित्र परिवर्तनका लागि, जनताको चेतनाको विकास र शासकीय ज्यादतीविरुद्ध गीत गाउने असंख्य कलाकार साथीहरु हुनुहुन्छ । के महिला, के पुरुष, जस्तो कलाकार पनि हामीसँग हुनुहुन्छ । कतिपय साथीहरु पार्टी र पार्टीका मोर्चामा रहेर, कतिपय साथीहरु पार्टीको मोर्चाभन्दा बाहिर रहेर पनि पार्टी प्रतिबद्ध हुनुहुन्छ । व्यवसायिक कलाकारको फाँटमा पनि हाम्रा पक्षका थुप्रै साथीहरु हुनुहुन्छ । जस्तो कि, बद्री पंगेनी र प्रिया भण्डारीका गीत बजाएर हामी दुईवटा चुनावमा जनताको बीचमा गयौँ । उहाँहरुले आफ्नो व्यवसायिक जीवनलाई दाउमा राखेर पार्टीका लागि गीत गाउनुभयो । तर, पार्टीले के मूल्यांकन गर्यो ? कोमलजीले गाएका गीतले जनतालाई के सन्देश दिन्छ ? हाम्रो पार्टी जनताका बीचमा कुन छविका साथ स्थापित छ ? उहाँको कलाकारिताले दिएका सन्देश र एमालेका सन्देशको मेल कहाँ हुन्छ ? त्यसैले यो निर्णय गलत छ ।
अब राष्ट्रियसभाका मतदाताले के गर्नुपर्ला ?
निर्णय गलत भए पनि पार्टीको निर्णय हो, मान्नुपर्छ । म प्रदेश ५ का समस्त जनप्रतिनिधि, जसले राष्ट्रियसभा निर्वाचनमा मतदाताका रुपमा भाग लिँदै हुनुहुन्छ, उहाँहरुलाई पार्टी निर्देशनअनुसार मतदान गर्न अनुरोध गर्दछु । तर, हामी यस्तो स्खलित नैतिकताका विरुद्ध भोलि पनि लडिरहनेछौँ । एमालेमा न्याय र विधि स्थापित गर्ने लडाइँमा भोलि सँगै लडौँला, आज पार्टी निर्णयलाई बोकौँ ।