यी हुन् पुरुष स्टाफ नर्स

२०७४ माघ ६ शनिबार ०९:५८:०० मा प्रकाशित

कसरी स्टाफ नर्सको शुरुवात् भएको हो ?

यो नेपालमा २०४२ साल भन्दा पहिला पनि थियो भन्ने थाहा पाएका हौं । हामीले विगतमा शुरुका दिनमा अध्ययन गर्न पायौं तर तथ्याङ्कको हिसाबले कहाँ शुरु भएको कसरी भयो भन्ने कुरा चाहिं मेरो जानकारीमा छैन । यहाँ हामीले २०४२ सालपछि शुरु गर्यौं । मैले आफ्नो पढाई सकेपछि बाहिर जाने बिशेष आग्रहमा आर्मी अस्पतालमा जान रुची देखाएको थिएँ तर त्यहाँ समय परिस्थिति अनुसार अनुकुल नभएर मैले यो परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट नै काम शुरुवात् गरें । अहिले पनि म यहाँ निरन्तर नै छु । अरु अस्पतालमा त्यस्तो जानुपर्ने अवस्था खासै भएन । मेलै यो काम शुरु गरेको आज ३० वर्ष जति हुन लाग्यो ।

नर्सिङ त महिलाको पेशा भनेर जानिन्छ यसमा तपाईं कसरी ?

यसमा सर्वप्रथम हेल्थ क्षेत्रमा जानुपर्छ भन्ने एउटा आफ्नो इच्छा पनि हो । पछि यो क्षेत्रमा प्रवेश गरिसेकपछि हेल्थको क्षेत्रमा नै काम शुरु गर्न सकिन्छ भन्ने उदेश्यले यसमा प्रवेश गरियो । अर्को यो नयाँ कार्यक्रम पनि हो । नयाँ कार्यक्रममा कुनै पनि नयाँ कुरा गर्दा त्यो राम्रो हुनुका साथै ऐतिहासिक रुपमा सफलता पनि हात पर्छ भन्ने कुरा सोचेर बिशेष म यसमा लागेको हो । 

नेपालमा पुरुष स्टाफ नर्स कति छन् ? 

नेपालमा ठ्याकै भन्नुपर्दा यो पेशामा लागेका साथीहरु २० देखि २५ जना भन्दा बढि छैनन् । हुन त बाहिर पढेर आउने पनि छन् तर यहाँको तथ्याङ यो भन्दा बढि छैनन् । पछि हाम्रो साथीहरु यही पेशामा लागेर कोही डाक्टर नै हुनुभयो । कोहि एनजिओ आइएनजिओतिर पनि प्रवेश गर्नुभयो । कतिपय साथीहरु यसैमा निरन्तर लागिरहनु भएको छ । यस्ता कुराहरुहरुले हामीलाई गर्व लाग्छ किनकी हामीले यो पेशालाई निरन्तरता दिईरहेका छौं । नर्सिङ पेशामा महिला मात्र नभएर पुरुष पनि हुँदारहेछन् है भन्ने सन्देश पनि गएको छ ।

कस्को प्रेरणाले यसमा काम गर्न मन लाग्यो ?

म शुरु देखि नै तेज बिद्यार्थीमा गनिन्थे । त्यसोभएको हुनाले म यो मेडिसिन लाइनमा नै आउँदा राम्रो हुन्छ भन्ने सोचें । अर्को कुरा यो क्षेत्रमा लागिसकेपछि हामीले दीनदुःखी गरीबहरुको सेवा गर्नुपर्छ भन्ने बिशेष मलाई यो छाप परेको थियो । प्रेरणाको स्रोत त प्रशस्त छन् तर बाटो बन्द भयो । यो सेवालाई निरन्तरता दिनुपर्छ भनेर हामीले शुरुमा बिभिन्न कार्यक्रम पनि गर्यौं तर बीचमा बाटो नै बन्द भयो । अर्को हामीले जसरी उत्पादन भएकाहरुबाट प्रभावित भएर अति दुर्गम ठाउँमा सेवा संचालन भैरहेको छ त्यो ठाउँमा हाम्रो आवश्यकता छ भन्ने नेपाल सरकारले    ठानेन ।

पहिलो पल्ट कहाँ बिरामी जाँचेको  सम्झनुहुन्छ ?

त्यस्ता घटनाहरु त धेरै छन् । जस्तै म बीर अस्पतालमा स्वास्थ्य केन्द्रको ट्रेनिङमा जाँदा एउटा जलेर आएको केश थियो । त्यो केशलाई देखेपछि मलाई एकदमै भित्रैबाट छोएर उनलाई धेरै राम्रोसँग एकजना क्रिस्टिना बहिनीको सहयोगबाट उपचार गरेका थियौं । सित्तैमा मेडिसिन दिएर ती जलेका बिरामीलाई धेरै राम्रो उपचार गरेर एक महिना पछि घर पठायांै । जलेको भागलाई पनि हामीले प्लास्टिक सर्जरी गरेर राम्रो नै बनाएर घर पठाएका थियौं । त्यो घटना म बारम्बार याद गरिरहन्छु ।

स्टाफ नर्समा केकस्ता गुणहरु आवश्यक पर्छ ?

यसमा त धेरै कुराहरु हुन्छन् । हामीले सबैभन्दा पहिला बिरामी प्रति गर्ने व्यवहार नै परिवर्तन गर्नुपर्ने हुन्छ । अर्को कुरा धैर्यधारण गर्ने क्षमताको बिकास आवश्यक हुन्छ । जस्तोसुकै गाह्रो जस्तोसुकै आफुभित्रका कठिनाई समस्याहरुलाई पनि पन्छाएर बिरामीहरुलाई गुणस्तरीय सेवा दिनुपर्छ भन्ने कुराहरु सँधै याद राख्नुपर्छ । यदि यस्तो धैर्यगर्न सक्दैनन् भने त्यस्ता मान्छेहरुको यो पेशामा आएर खासै उपलव्धि हँुदैन ।

प्रशुति गृहबाहेक अन्यत्र पनि काम गर्नुहुन्छ ?

  यो प्रशुति गृह अस्पताल मात्र नभएर यो तालिम केन्द्र पनि हो । म यहाँ तालिमहरु दिने काम पनि गर्छु । दक्ष प्रशुतिकर्मीहरुलाई हामी तालिम दिन्छौं । त्यस्तै गरेर नेपालमा अहिले मान्यता प्राप्त किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम नेपाल सरकारले शुरु गरेको छ  यो एउटा  पनि तालिम केन्द्र रहेको नाताले तालिम संयोजक भएर मैले अहिलेसम्म ४१ वटा जिल्लालाई तालिम दिइसेकको छु । 

नर्स र बिरामीको सम्बन्ध कस्तो रहन्छ ?

यसमा ९० प्रतिशत त एकदमै राम्रो हुन्छ तर १० प्रतिशतमा तलमाथि हुनसक्छ । हामी हुँदै हुँदैन भन्देनांै । किनभने नर्सले गर्ने व्यवहारले पनि बिरामीलाई ठुलो असर परेको हुन्छ । बिरामीको जे समस्या छ अथवा उसको जुन ठुलो समस्या छ त्यो समस्यालाई संवेदशील रुपमा एउटा डियुटीमा भएको नर्सले बुझिदिनु पर्छ । यदिी उहाँले बुझदिनु भएन भने धेरै त्यस्ता नराम्रा घटना भएका छन् । नर्सले यसलाई सामान्य रुपमा लियो भने त्यो बिरामीको अवस्था जटिल भएर अन्त्यमा मृत्यु भएको घटनाहरु पनि धेरै छन् । अस्पतालमा बिरामी र नर्सको सम्बन्ध भनेको नङ र मासु जस्तै सम्बन्ध हो । बिरामीलाई नर्स चाहिन्छ र नर्सलाई पनि बिरामी अवश्य नै चाहिन्छ । बिरामी नै नभएको अस्पतालमा नर्सको के काम र नर्स नै नभएको अस्पतालमा बिरामीको पनि के काम !

सरकारी अस्पतालमा लापरवाही धेरै भएका समाचारहरु आईरहन्छन् नि !

सरकारी अस्पतालमा अहिले धेरै सेवाहरु निःशुल्क भएको छ । सरकारले अस्पतालमा आमा र बच्चाका लागि सबै कुराहरु निःशुल्क गरेको छ । अझ आङ खसेको रोगको लागि त एक पैसा तिर्नु पर्दैन । त्यसैले पनि यहाँ आउने बिरामीको संख्या त अति नै हुन्छ । यस्तो हुने हुनाले हामीलाई यहाँ व्यवस्थापन गर्नको लागि धेरै समस्या परेको हुन्छ । अर्को कुरा एउटा स्टाफ नर्सले कति बिरामी हेर्ने अथवा एउटा डाक्टरले कति बिरामी जाँच्ने ? यो कुराको यहाँ त्यस्तो केही टुंगो छैन । अहिले पनि एकजना डाक्टरले ओपिडिमा ७० देखि ८० वटा जति केश हेरिरहनु भएको हुन्छ । यसमा हाम्रो लापरवाही भन्ने कि सरकारको ? यस्ता कुराहरुमा सरकारले बिचार गर्नुपर्यो । दरबन्दी थप्नु पर्यो । सुविधाहरु दिनु पर्यो । अनि त्यसपछि कसरी लापरवाही हुन्छ ! अझ हामीले त सकेसम्म लापरवाही नहोस् भन्ने हिसाबले नै काम गरिरहेका हुन्छौं । 

यहाँ सरकारी दरबन्दीका स्टाफ नर्स कति छन् ?

नेपाल सरकारको दरबन्दी यहाँ डाक्टर नर्सहरु ५० जना जतिको छ । यसबाहेक हाम्रो यही अस्पतालको   बिकास बोर्ड समिति अन्र्तगत करिब १८० जना रहेको छ । तर धेरैजसो नर्सहरु स्थायी छैनन् । ज्यालादारी सम्झौतामा रहेको हुनाले उनीहरुको भविष्यको सुनिश्चिता छैन ।  यो एउटा समस्याको रुपमा रहेको छ । 

प्रशुति गृह भएकाले यहाँ त बिरामी कुरुवाको निकै भिडभाड रहन्छ होला नि ? 

हो अवश्य पनि भिडभाड रहन्छ नै । कतिपयसँग समस्या समाधान गर्न सजिलै हुन्छ तर कतिपय भने अप्ठेरा पनि हुन्छन् । सबै बिरामी कुरुवाहरु दुःख दिने नराम्रो खालको हुँदैनन् । कतिपय पढेलेखेका बुझ्ने खालका नै हुन्छन् । हामीहरुले कुरा बुझाउँदा उनीहरुले सजिलै बुझ्ने पनि हुन्छन् तर कुनैकुनैमा डिल गर्न नै गाह्रो हुन्छ । जति भने पनि कुरै बुझ्दैनन् ! 

(परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालका नर्सिङ अधिकृत हाजिर राईसँग सुकृत नेपालले गरेको संवाद)

 
 

  
 

  

 
 
 

 

ताजा खबर