यसरी मोडियो हेडसरको बाटो

२०७४ माघ ५ शुक्रबार १२:०४:०० मा प्रकाशित

स्याङ्जा, ५ माघ । स्याङ्जाको सदरमुकाम पुतलीबजारस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालय पुग्दा कोट पेन्टमा चिटिक्क सजिएका अग्लो कदका कुनै व्यक्ति सरसफाईमा जुटेको देखिए भने सम्झनु तिनै हुन् त्यो विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी ।

लामो समय नेपाल शिक्षक संघ र शिक्षक युनियनको नेतृत्वमा रहेका रेग्मीले २०७२ वैशाखदेखि विद्यालयको नेतृत्व सम्हालेका हुन् ।

उनी प्रधानाध्यापक नियुक्त हुँदा विद्यार्थीको संख्या चार सय पचास मात्र थियो । निरन्तर अभिभावकसँगको भेटघाट,घरदैलो अभियान र विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन थालेपछि एकै वर्षमा तीनसय विद्यार्थी थप भएको रेग्मी सुनाउँछन् । उनकै मेहनतले विद्यालयको स्वरुप नै फेरिएको   छ ।

नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम र  कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने गरेको छ यो विद्यालयमा । साना कक्षामा कम्प्युटरको सहयोगमा पढाउने गरिएको छ  ।  विद्यालयमा कम्प्युटर भने जाइकाले उपलव्ध गराएको हो ।

अहिले त्रिभुवन आदर्शमा केजीदेखि नै इन्ट्रान्स परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्न थालिएको छ । स्याङ्जा जिल्लामै सामुदायिक विद्यालयले इन्ट्रान्स परीक्षा लिएर भर्ना गर्ने पहिलो विद्यालय यही हो ।

शिक्षक युनियन जिल्ला अध्यक्षको रुपमा चार बर्ष काम गर्दा आफैंले पढाउने गणित विषयमा विद्यार्थीले राम्रो नम्बर ल्याउन नसकेपछि रेग्मीले आफ्नो बाटो बदलेका हुन् ।

‘शिक्षा क्षेत्रमा योगदान गर्न युनियनमा काम गरें तर आफ्नै स्कुलमा विद्यार्थीले राम्रो अंक ल्याउन नसकेपछि मलाई ग्लानी भयो’ रेग्मीले सुनाए— ‘मैंले आफैंबाट परिवर्तन सुरु गरें ।’

अहिले उनी विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म विद्यालयमै हुन्छन् ।

विद्यालयमा प्रयोगशाला, बस सुविधा, कक्षा कोठाको राम्रो व्यवस्थापन र कम्प्युटर ल्यावको व्यवस्था गरे । यो सवै कामका लागि विद्यालयसँग पैसा थिएन । रेग्मीले जुक्ति झिके — महायज्ञ लगाउने ।

२०७३ सालमा लगाइएको महायज्ञबाट ८४ लाख रुपयाँ संकलन भयो । त्यही पैसाले विद्यालयको छात्रावास भवन बन्दै छ । उक्त भवनमा नौ वटा कोठा र मल्टी मिडिया सहितको मिटिङ हल बनाउने योजना छ ।

कक्षा कोठा विद्यार्थी मैत्री छन् । पठन पाठनमा मल्टीमिडियाको प्रयोग गरेका छन् । विद्यालय हाताभित्र कागजको एक टुक्रा भेटिन्न । 

प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइल बनाइएको छ । परीक्षाफल प्रकाशित हुने दिन अभिभावक अनिवार्य विद्यालय पुग्नुपर्छ । आफ्नो बच्चाले कस्तो लेखे भनेर अभिभावकले सजिलै हेर्न मिल्छ ।

रेग्मी समाजसँग  भिजेका छन् । भजन चुड्का र गीत मज्जाले गाउँछन् । केही गीत रिकर्ड भएका छन् । छिट्टै एल्वमको तयारी गरिरहेका यी हेडसरले विद्यालयका लागि शिक्षा गीत पनि बनाएका छन् ।

स्कुल बस चलाउने चालक एक जना मात्रै छन् । उनी विदामा बसे भने कहिले काहीँ आपत् पर्छ । सधैं दुईजना चालक भर्ना गर्ने हैसियत विद्यालयको छैन । त्यही भएर उनी आफैंले ड्राइभिङ सिके । अचेल चालक विदामा बसे भने उनी आफैं बस चलाएर विद्यार्थी ओसार्छन् ।

दुई बर्षको वीचमा विद्यालयमा एक हजार एक सय विद्यार्थी पुगिसकेका छन् ।

सामुदायिक विद्यालयमा राम्रो व्यवस्थापन हुने हो भने विद्यार्थीको कमी नहुने उनको अनुभव छ । 

‘नेपाल सरकारको दानापानी खानेले सामुदायिक विद्यालयमै पढाउनु पर्छ ’ रेग्मीको आत्मविश्वास निकै बढेको छ — ‘यति मात्र गर्न सके सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्छ ।’

विद्यालय राम्रो बनाउन व्यवस्थापन समितिका अध्यक्ष तुलसी गिरीको योगदानपनि कम छैन । उनको निरन्तर साथले मात्रै काम गर्न सहज भएको रेग्मी सुनाउँछन् । उनका अनुसार शिक्षकहरुको टिमवर्कले नै काम गर्ने इच्छाशक्ति बढ्दो रहेछ ।
 

ताजा खबर