‘राते काइँला’ को फिल्म हलिउडबाट प्रभावित 

२०७४ माघ ३ बुधबार १९:१८:०० मा प्रकाशित

काठमाडौं, ३ माघ । माघ १९ बाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘शेरबहादुर’ हलिउड फिल्मबाट प्रभावित भएर बनाइएको बताइएको छ । केही समय पहिला चलचित्र ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको विषयमा निर्माण समूहले कोही नबोलिरहँदा मंगलबार उनीहरूले सञ्चारकर्मी सामू फिल्म हलिउडबाट प्रभावित भएको स्वीकारे ।

भूपू आर्मीको कथामा आधारित फिल्म एक हलिउड फिल्मबाट प्रभावित रहेको फिल्मका मुख्य कलाकार सुनिल थापाले बताएका छन्। फिल्मको स्क्रिप्ट पढ्दा खेरी नै यो हलिउडबाट प्रभावित भएको भन्ने थाहा पायौं । त्यसकारणले फिल्म हलिउडबाट प्रभावित भएको भन्नमा कञ्जुस्याइँ गर्दिन,’ उनले भने, ‘हलिउडबाट प्रभावित भए पनि फिल्ममा दर्शकले नेपाली मौलिकता टन्न पाउँनेछन् ।’ शेरबहादुरको चरित्र आफ्नो करिअरकै माइलस्टोन साबित हुने थापाले पत्रकार सम्मेलनमा जानकारी दिए। उनी यो फिल्ममा दृष्टिविहीनको भूमिकामा देखिनेछन्।

यता फिल्मका निर्माता गौरीशंकर धुजुले लामो समयपछि फिल्म निर्माणमा पुनरागमन गरेकाले आफ्नो पुनरागमन सुखद हुने आशा व्यक्त गरे ।
फिल्ममा अभिनेता थापाका साथै कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायत कलाकारको मुख्य भूमिका छ।

प्रमोद क्षेत्रीले लेखेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् भने धिराज प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा गौरीशंकर धुजु र धिरज राजवंशीको लगानी छ ।

ताजा खबर