५६ विद्यालयमा १० भन्दा कम विद्यार्थी

२०७४ माघ ३ बुधबार १५:२८:०० मा प्रकाशित

बेँसीशहर, लमजुङ, ३ माघ । जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।  जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । 

तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार्थी अध्ययनरत रहेको भेटिएको छ ।  बेँसीशहर नगरपालिका–१० बाँझाखेत साँधुमा रहेको बुद्धि विकास प्राथमिक विद्यालयमा एकजना मात्र विद्यार्थी अध्ययनरत पाइएको छ । बेँसीशहर–१० खाँचेकै गणेश प्रावि, मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामको अरुण्यदय प्रावि, मस्र्याङ्दी–३, खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि दुई÷दुई जना मात्र विद्यार्थी छन् । 

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालका अनुसार राइनास नगरपालिकाको मोहोरियाकोटको वीरेन्द्र शान्ति प्रावि र मस्र्याङ्दी–६ बाहुनडाँडा डहरेको हिमालय प्राविमा तीन जना विद्यार्थी अध्ययनरत छन् ।  त्यस्तै, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बाल विकास प्रावि र मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा चार जना विद्यार्थी छन् भने घिम्राङको जनकल्याण प्राविमा पाँच जना, खुदी जिम्दुको देउराली प्राविमा पाँच जना मात्र विद्यार्थी छन् । 

जिल्लाका ३४९ विद्यालयमध्ये करिब १५० विद्यालययमा मुस्किलले २० जनासम्म विद्यार्थी रहेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । गाउँबाट शहर बसाइँसराइ गर्ने क्रम बढ्दो र सामुदायिकभन्दा निजी विद्यालयमा बालबालिका पढाउने संस्कारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटदै गएको हो । 

शाखा अधिकृत बरालका अनुसार सामुदायिक विद्यालयबाट वर्षेनी चार हजार विद्यार्थी घटिरहेका छन् । यसअघि कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज (गाभ्ने) तयारी गरे पनि सफल भएको छैन । यसअघि विद्यार्थी संख्या अत्यन्तै कम भएका लमजुङका २० विद्यालय गाँभिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो । रासस

ताजा खबर