चरिकोटमा बल्छी थाप्ने निम्तो !

२०७४ माघ ३ बुधबार १४:२५:०० मा प्रकाशित

 दोलखा,३ माघ । धित मरुन्जेल हिमाल हेर्ने, बोटिङ गर्ने, फिसिङ गर्ने, बारबेक्यु खाने र टिपिकल खानाको स्वाद पनि चाख्ने चाहना कसको नहोला र ? तर यी सवै कुरा एकै ठाउँमा पाउनु भनेको एककिसिमले दुर्लभ कुरा हो । त्यसमाथि पनि चीसो ठाउँ, ताल तलैया नभएको गाउँमा बोटिङ गर्ने र फिसिङ गर्ने कुरा त रमाईलोका लागि गरिने गफ जस्तै लाग्न सक्छ ।

तर, चिसो ठाउँमा यी सवै सुविधा भए के चाहियो ? चरिकोटका युवा व्यवसायी भरत थापाले यो सवै चाँजोपाँजो मिलाएका छन् भीमेश्वर नगरपालिका वडा नं ६ स्थित सिमपानी भ्यू रिसोर्टमा ।

केहीवर्ष अघिसम्म पोखरी वरिपरी बारबेर गरिएको थिएन । भैंसी आहाल बस्ने त्यही पोखरीलाई स्थानीयबासीले नगरपालिकाको  सहयोगमा व्यवस्थित बनाए । छेउमा पार्क बन्ने तयारी छ । यति भएपछि एउटा उद्यमीलाई के चाहियो ? भरतले जुक्ति निकाले त्यही पोखरीलाई उपयोग गरेर व्यवसाय   गर्ने ।

सिमपानी पोखरीलाई भाडामा लिएर तीन वटा डुंगा चलाएका छन् उनले । छुट्टीको दिन डुंगा चढ्नेको भीडभाड हुन्छ । पा्ेखरीमा विभिन्न जातका चार हजार माछाका भुरा छन् । छेउमै चिटिक्कको रेष्टुरेन्ट छ । कामदार छैनन् परिवारले नै धानेको छ यी सबै काम । रेष्टुरेन्ट, रिसोर्टको कतै नाम छैन । आफ्नै बारीमा फलेका अर्गानिक सागसव्जी खुवाउने गरेका छन् । लोकल कुखुरा रोजिरोजी खान पाइन्छ  । पोखरीमा आफैंले माछा मार्न र त्यही माछा खान पाइने व्यवस्था पनि मिलाएका छन् भरतले । नजिकैको खुल्ला चौरमा क्याम्प फायर गर्ने, वारबेक्यु गर्ने सुविधा छ । टेण्ट राखेर त्यसमै सुत्न पनि सकिन्छ  ।

सिमपानी आफैंमा सुन्दर ठाउँ छ । त्यहाँबाट गौरीशंकर हिमाल हेर्दै साथीभाइसँग जम्नुको झन् बेग्लै मज्जा छ । भरतको रेष्टुरेन्टका धेरैजसो ग्राहक चरिकोटका व्यापारी छन् । बर्थ डे पार्टी र अरु सरकारी गैरसरकारी निकायका मिटिङको लागि पनि भरतको रेष्टुरेन्टले सेवा दिन भ्याई नभ्याई हुन थालेको छ ।

भरतले सात रोपनी क्षेत्रफलमा स्विमिङ पुल सहितको रिसोर्ट तयार गर्दैछन् । १२ कोठाको यो रिसोर्टबाट कालिन्चोक, चरिकोट भ्यू टावर, भीमेश्वर मन्दीर, सुन्द्रावती मन्दीर र महाँकाल भगवतीको मन्दीर जस्ता नजिकैका ठाउँमा साइट सिनका लागि लैजाने योजना बनाएका छन् । केही समय वैदेशिक रोजगारका सिलसिलामा विदेशिएका भरत आफ्नै घरबारीलाई डेकोरेसन गर्दै आर्थिक उपार्जन गर्न लागि परेका छन् । उनको मेहनतले  चरिकोटमा यो स्थल घुम्न जानेहरुका लागि मनोरन्जन र खानाको नयाँ गन्तव्य बनेको छ ।

ताजा खबर