व्रतालुको कठाेर परदेश यात्रा

२०७४ माघ ३ बुधबार १४:१५:०० मा प्रकाशित

काठमाडौँ, ३ माघ । साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा शुरु गरेका छन् ।  माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा शुरु भएको थियो । माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्रयोगिनी र पशुपतिको दर्शन गरेका छन् । 

मंगलबार पशुपतिबाट फर्पिङ बास बसेका व्रतालु आज साँखु फर्कने छन् । माघ ६ गते शनिबार साँखुबाट पनौती बास बस्न जाने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले राससलाई जानकारी दिए  । माघ ७ गते आइतबार पनौतीबाट साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् । 

व्रतालुले माघ ८ गते सोमबार श्रीपञ्चमी पर्व मनाउने छन् । माघ १० गते मंगलबार लगला सप्तमी पर्व मनाएर माघ १२ गते शुक्रबार द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाइन्छ । द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ । माघ १४ गते चाँगुनारायणबाट साँखुमा बास बस्न फर्कने तयारी भएको छ । 

माघ १६ गते मंगलवार देव निमन्त्रणा गरी माघ १७ गते बुधबार अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । माघ १८ गते बिहीबार व्रतालुले माघ गाउने (मिगा पूजा) गरिन्छ । व्रतालुले शिवरात्रिका दिन जाग्राम बस्नुपर्ने नियम रहेको समितिले जनाएको छ । 

परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । यसरी हिँडेर यात्रा गर्दा माधवनारायणको मन्त्र जप गर्छन् । यस वर्ष महिला पुरुष गरी १९७ जनाले माधवनारायणको एक महिने कठाेर व्रत गरेका छन् ।  रासस

ताजा खबर