यज्ञशको ‘भुइयाँ’लाई पहिचान पुरस्कार

२०७४ माघ २ मंगलबार १६:०३:०० मा प्रकाशित

काठमाडौं, २ माघ । यस वर्षको पहिचान पुरस्कार लेखक तथा पत्रकार यज्ञशको गैरआख्यानात्मक कृति ‘भुइयाँ’लाई दिइने भएको छ।बेलायतको लन्डनमा बसेको पहिचान पुरस्कार कोषको आइतबारको बैठकले सो कृतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका भुइँमा रहेका मानिसका कथा पुस्तकमा उतारेको भन्दै कोषले सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ रहेको छ । चैत दोस्रो साता काठमाडौंमा हुने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने कोषले जनाएको छ ।

कृतिमा दलित आन्दोलनका अगुवा बलदेव रामसहितका १० संघर्षशील महिलाहरु सुलो सदा, सावित्री चौधरी, पार्वती डगौरा, सलमा बेहेन लगाएतका कथाव्यथाहरु प्रस्तुत गरिएको छ।

सन् २०१६ बाट प्रदान गर्न थालिएको उक्त पुरस्कार यसअघि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य र अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’लाई प्रदान गरिएको थियो।
 

ताजा खबर