पारि संक्रान्ति मेला वारि नेपथ्यको रमझम

२०७४ माघ २ मंगलबार ०९:२५:०० मा प्रकाशित

नारायणघाट, २ माघ । परम्परादेखि माघे संक्रान्ति मान्नेहरु देवघाटहुँदै नारायणघाटसम्मै नारायणी किनारमा भेलाभएर रमाउँदै आएका छन् । यो वर्षभने धार्मिक जमघटको यसै थलो संगीतमा रमाउने युवा पुस्ताको निम्ति पनि तीर्थ बन्न पुग्यो । जसरी पारी नवलपरासीतर्फ लहरै बनाइएको घाटमा नुहाउन आउने तीर्थालु देखि मेला घुम्नेहरुको भीड लागेको थियो त्यसैगरि बेलुकीपख वारीको किनारा नेपथ्यको लोक रक धुनमा रमाएको देखिन्थ्यो ।

नदी किनारको मैदानलाई तीन सय असी फिट लामो र दुइ सय फिट चौंडा आकारमा घेराबन्दी गरेर कन्सर्टस्थल बनाइएको थियो । त्यसमा अटाएका झण्डै सात हजार दर्शक कार्यक्रम सुरुभएदेखि अन्तिमसम्मै लगातार नाचेका थिए । नारायणी किनारमा अर्कोतर्फ घाम डुब्नु र यता कन्सर्टका निम्ति काठमाडौंदेखि ल्याएर उभ्याइएको विशाल मञ्च, प्रकाश व्यवस्था अनि साउण्ड सिस्टमको प्रभाव एकसाथ जस्तो सुरु भएको  थियो ।

कन्सर्टको सुरुवात नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेशगरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए । ‘हामीले यो गीत तयार पार्दा तपाइहरु मध्ये अधिकांश त जन्मनु पनि भएको थिएन,’ उनले दर्शकदीर्घाका अधिकांश तन्नेरीहरुसँग रमाइलो गर्दै भने, ‘आज फेरि यो गीत गाइरहँदा मलाई तपाइहरुकै उमेरमा पुगेको अनुभूति भइरहेको छ ।’

यतिबेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो । यसरी अघि बढेको कार्यक्रममा उनले नेपथ्यको २५ वर्षे यात्राका एकपछि अर्का लोकप्रिय सिर्जना प्रस्तुत गर्दै गए ।

अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए । कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो ।

त्यसपछि उक्त ड्रमसेट र गितारको चर्को बिटलाई समात्दै कुनै समय रामेश र मञ्जुलले घन्काएको ‘गाउँ गाउँबाट उठ’ गाउँदा दर्शक मात्र होइन सम्पूर्ण माहोल नै नाचिरहेका प्रतित हुन्थ्यो ।

‘गाउँ गाउँबाट उठ’ बाहेक ‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितीसँग नजिक्याउने गित सुनाएपछि कार्यक्रम अन्त्यको घोषणा गरिएको थियो । सोमबार नारायणी किनारमा जम्मा भएका श्रोता दर्शकहरु संक्रान्ति मेलाको ‘मुड’मा थिए । त्यसैले दुइ वर्षअघि यसै ठाउँमा कन्सर्ट आयोजना हुँदाजस्तो तीब्रमात्र होइन सुस्त गतिका गीतहरुमा नाच्नेको पनि उत्तिकै उत्साह देखिन्थ्यो ।

‘नेपथ्यले जस्तो गीत गाउँदा पनि त्यसमा नेपालीपन जोडिएको हुन्छ,’ दर्शक घेरामा रहेका सन्देश लोप्चन भनिरहेका थिए, ‘त्यसैले सबै मानिस यसका सबैजसो गीतमा नाच्न मनपराउँछन् ।’ ११ कक्षामा अध्ययनरत ल्वाङघलेलका सन्देश उक्त कन्सर्टका निम्ति साथीहरुको जमातसहित उपस्थित थिए ।

कार्यक्रममा अमृतले पटक पटक नेपाली भाषा नरहे नेपाल र नेपाली नरहने औंल्याएका थिए । त्यसैगरि प्रत्येक केटाकेटीको स्कुल जाने अधिकारलाई हरेक नेपालीले आफ्नो कर्तब्य सम्झेर पुरा गराइदिनुपर्ने आव्हान पनि उनले गरे ।

‘हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एकरुपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि कलाकार र प्राविधिकसहितको भ्रमणदलदेखि लिएर अत्याधुनिक साउण्ड सिस्टमसहितको यात्रा तीनवटै सहरमा आयोजना गरेका छौं ।’

सँधैजस्तै मुख्य गायक अमृतलाई यसपटक पनि किबोर्डमा सुरज थापा, ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यहाँस्थित ‘दाताज् इभेन्ट म्यानेजमेन्ट’ले कार्यक्रमको आयोजना गरेको थियो । मुलुकको यात्रामा निस्केको नेपथ्य टोली अब माघ ४ गते बिहीबार सोनाम लोसारका दिन बेलुकी छ बजे भैरहवा स्थित पक्लिहवा हाइस्कुलमा मा प्रस्तुत हुनेछ ।

ताजा खबर