त्रिवेणीधाममा माघे सङ्क्रान्ति मेला शुरु

२०७४ माघ १ सोमबार १३:४२:०० मा प्रकाशित

गाईघाट, उदयपुर, १ माघ । उदयपुरको कटारी र सिन्धुलीको दुधौली बीचमा पर्ने कमला नदीको त्रिवेणीधाममा आज बिहानैदेखि १५ दिने माघे सङ्क्रान्ति मेला शुरु भएको छ । 

आज बिहानैदेखि त्रिवेणीमा विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनले त्रिवेणीधाममा मकर नुहाएका अन्य धेरै भक्तजन आउने क्रम जारी रहेको त्रिवेणी मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाले बताए । 

त्रिवेणीधाममा दर्शन गर्न आउने भक्तजनको भीड बढ्दै गए पनि यसपटक धार्मिक मेला भने उदयपुरको कटारीस्थित कमलामाईको त्रिवेणीमा र यता सिन्धुलीको दुधौली नगरपालिकाको मकुर खोलामा समेत गरेर दुई स्थानमा त्रिवेणी मेला सञ्चालन भएको छ । 
कमलामाईस्थित त्रिवेणीधामको दर्शन र कमलेश्वर महादेवको दर्शन तथा महालक्ष्मीको समेत दर्शन र पूजा पनि शुरु भएको अर्का सदस्य नरबहादुर तामाङले जानकारी दिए । मेला व्यवस्थापनमा विभिन्न होटल तथा चर्पीको निर्माणसहित सुरक्षा व्यवस्थासमेत गरिएको छ । 
पन्ध्र दिनभित्र झण्डै पाँच लाखभन्दा बढी भक्तजन मेला भर्न आउने सो समितिको अनुमान छ । प्रत्येक वर्ष त्रिवेणी मेलामा सहभागी हुन तथा कमलामाईको दर्शन गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, सुनसरी, मोरङ, रामेछाप, सिन्धुलीबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । 

यस्तै राजधानी काठमाडाँै, बनेपालगायत नेपालको पूर्वी पहाडी क्षेत्र हुँदै भारतका पश्चिम बंगालका दार्जिलिङ, सिक्कम र विहार प्रदेशबाट समेत ठूलो सङ्ख्यामा भक्तजन त्रिवेणीधामको दर्शन गर्न आउने गरेको मेला व्यवस्थापनका पदाधिकारी सन्तोष कार्कीले बताए । भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, मेलाको अवधिभरि सामान्य प्राथमिक उपचारको व्यवस्था, एम्बुलेन्स सेवासहित सुरक्षा व्यवस्थासमेत गरिएको छ । 

मेलामा स्थानीय घरेलु सामग्रीको बिक्री तथा तथा प्रदर्शनी, ओखलढुंगा तथा सोलुखुम्बुको राडी, पाखी र सोलुको भोटेघोडाको प्रदर्शन तथा किनबेच मुख्य आकर्षण बनेकोे छ । रासस

ताजा खबर