धुर्मुस–सुन्तलीद्वारा सप्तरीमा कम्बल वितरण

२०७४ पौष २७ बिहीबार १३:४४:०० मा प्रकाशित

राजविराज, २७ पाैष । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए । 

तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । यस्तै शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ । 

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।  सप्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म आठ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस

ताजा खबर