बुद्धको क्रिडास्थल तिलौराकोटमा चौथो पटक उत्खनन शुरु

२०७४ पौष २७ बिहीबार ०८:०८:०० मा प्रकाशित

जीतपुर, कपिलवस्तु, २७ पुस । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ । 

प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो । 

विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ । उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने अपेक्षा गरिएको पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले बताए । 

उनका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिनेछ । यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको थियो । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन र अनुसन्धानको कार्य थाल्दै आएका हुन् । 

यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलमा अध्ययन अन्वेषण गरिनेछ । तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया तथा नवलपरासीको रामग्राममा अन्वेषण गरिने भएको छ । उक्त अन्वेषणको काममा भूभौतिक सर्वेक्षण (मेसिनबाट), फिल्ड सर्वेक्षण, भिजिटर सर्वेक्षणलगायतका कार्य पनि गरिने भएको छ । 

यस वर्ष जापानी नागरिक कासाइको सहयोगमा उत्खनन गर्न लागिएको हो । अहिलेसम्मको अध्ययन, अन्वेषणले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत पुगेको पुरातत्वविद्ले जानकारी दिएका छन् । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजात जुटाउने कामसमेत भइरहेको छ । 

उत्खनन टोलीमा बेलायतको डुर्हम विश्वविद्यालयका विज्ञ, नेपाल सरकार पुरातत्व विभाग र लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय तथा लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी छन् ।  रासस

ताजा खबर