‘बाजे बूढा भए भनेर घरबाटै निकाल्न त मिल्दैन नि’ 

नेपाली कांग्रेसको वर्तमान अवस्थाको तपाईं कसरी वर्णन गर्न चाहनुहुन्छ ?

नेपाली कांग्रेसको वर्तमान अवस्था भनेको संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत हो। यसले प्रमुख प्रतिपक्षी दलको भूमिका नमूनाको रुपमा निर्वाह गर्न सक्छ। संविधान कार्यान्वयन, राज्य पुनर्संरचनामा देखिएका समस्याहरुको समाधान र प्रदेशको राजधानी तोक्ने बिषय थाँती रहेका महत्वपूर्ण काम हुन्।  स्थानीय निकायका नियमहरु बनाउने कुरामा धेरै कामहरु गर्न बाँकी नै छन्। यी बिषयहरुमा कांग्रेसले  सकारात्मक रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ र गर्छ। संंसदमा रहेर स्वस्थ आलोचना सहित राष्ट्रिय मुद्दाहरुको किनारा लगाउने काममा नमूना प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गर्ने छ।

निर्वाचनमा जनताले दिएको मतको उच्च सम्मान गर्दै आफ्नो संगठनमा समयानुकूल सुधार र परिमार्जन समेत गरेर अघि बढ्नु कांग्रेसको अहिलेको काम हो। लोकतन्त्रलाई सबै  जोखिमबाट बचाएर देशलाई आर्थिक बिकासको गतिमा बढाउन अन्तत कांग्रेसकै मुख्य भूमिका रहन्छ। 

निर्वाचनपछि पुरानो पुस्तालाई विश्राम गराउने अभियान सुरु भएको हो? 

यस्तो केही होइन। यसमा बिश्राम पनि हुँदैन र विलय पनि हुँदैन। अब तपाईं आफंै भन्नुहोस् घरमा बाजे बूढा भए भनेर घरबाटै निकाल्ने कुरा त हुँदैन नि। अहिले युवा पुस्ताले बहस गरिरहेको बिषय के मात्रै हो भने अब पार्टीलाई बलियो र सशक्त बनाएर अघि बढाउन कसको के भूमिका हुने भन्ने हो। अब म अहिले यो उमेरमा स्कूल जान त मिल्दैन नि। यो समय र आवश्यकता अनुसारको जिम्मेवारी र भूमिकाको बारेमा छलफल भएको हो।

कांग्रेसले अब आउने चुनौतिलाई निश्चित रुपमा स्वीकारेको छ । गएको निर्वाचनमा हार्नुपर्ने मूलकारणहरु के हुन् भने कांग्रेसले आफ्नो संगठन ३० प्लसको आधारमा गर्यो । ३० प्लसको आधारमा गर्दा के भयो भने ३७, ३६, ३५ ल्याउँदा प्रमुख प्रतिपक्ष सरकार बनिरह्यो । तर अहिले हामी चुनाव ५० प्लसको धारणाहरुले लड्यौं । यो चाहि सिधा तरिकाले भयो। अबको संगठन कस्तो गर्नुपर्यो भने  कांग्रेसले अब ५० प्लसको विचारहरुलाई अगाडि लिएर जानुपर्छ र युवाहरुमा जानुपर्यो । अबको नेतृत्व तयार गर्न नयाँ नर्सरी बनाउनुपर्यो । त्यो रुपमा कांग्रेस जान्छ । अहिले हामीहरुले युवा अभियान भनेका छौं त्यसका लागि हामी काम पनि गरिरहेका छौं । कांग्रेसको संगठन बलियो बनाउन हामीले जसरी अभियान सुरु गरेका छौं,त्यसलाई हामी साकार बनाएर नै छाड्छौं। अब यो अभियानलाई उपयुक्त आकार दिन्छौं र मेची महाकालीसम्म त्यसलाई हामी पुर्याउँछौं । बलियो, सुसंगठित सबल, एउटा समाजवादी कांगे्रसको निर्माण अहिले हाम्रो आवश्यक्ता हो । यो समाजवाद भन्ने शब्दभित्र कार्यकर्ताको मान सम्मान, अवसर, भूमिका यी सबैकुराहरु हामी त्यसभित्र पाउँछौ ।

निर्वाचन परिणाम प्रति मूख्य रुपमा को जिम्मेवार छ ? 

यसमा को जिम्मेवार भन्दा पनि कस्तो परिस्थितिमा निर्वाचन भयो भन्ने कुरा हो। यसको मुख्य जिम्मेवार परिस्थिति नै हो । हाम्रो संगठनात्मक अवस्था यसको जिम्मेवार हो। यसमा भातृसंगठनहरुको भूमिकाको पनि कुरा आउँछ। निर्वाचनको बेलामा भातृसंगठन कति परिचालित भए र कति काम गरे भन्ने कुरा पनि हो । यी सबै बिषयको समीक्षा आवश्यक छ। 

तपाईं स्वयं कति जिम्मेवार हुनुहुन्छ ?

म पनि जिम्मेवार छु । पार्टीले मलाई विश्वास गरेर टिकट दिएको थियो तर मैले त्यो जिम्मेवारी पूरा गर्न सकिन। अब पार्टीले मैले किन जिम्मेवारी पूरा गर्न सकिन भन्ने कुरामा बहस गर्नुपर्छ। वडा तहदेखि केन्द्रीय तहसम्म अरुहरुले पनि यसमा बहस शुरु गर्नु उचित हुन्छ ।  

युवा पुस्ता नि ?

युवा पुस्ता भनेर कालखण्ड छैन यसमा हामी सबै जिम्मेवार छौं। 

अब कांग्रेसले तत्कालै गर्नुपर्ने कामहरु ५ वटा उल्लेख गर्नु पर्यो भने के के हुन सक्छन्? 

पहिलो कुरा त पार्टीले कुनै आग्रह पूर्वाग्रह नराखीकन निर्वाचनमा किन हारियो भन्ने कुराको समीक्षा गर्न जरुरी छ। त्यस्तै पार्टीले नयाँनयाँ योजनालाई अघि सार्नु आवश्यक्ता छ। अर्को भनेको भातृ संगठनहरुलाई मजबूत बनाउनु पर्छ। संगठनहरुलाई कसरी परिचालन गर्ने र कस्तो रुपमा परिचालन गर्ने भन्ने कुरा गम्भीर रुपमा सोच्नु पर्यो। ती संस्थाहरुलाई बलियो बनाउनु पर्यो। अर्को भनेको संविधान अनुसारको संगठनात्मक स्वरुप बनाउनु आवश्यक्ता छ। सबैभन्दा महत्वपूर्ण भनेको युवाहरुलाई आश्वस्त र जागरुक बनाउनु पर्यो।

कांग्रेसले आफ्नो परम्परागत मूल्यमान्यता त्यागेकोले मतदाताले साथ दिन छोडेको भनिन्छ नि ?

नेपाली कांग्रेसले आफ्नो मूल्य मान्यता त्यागेको होइन। बरु मुलुक नै नेपाली कांगे्रसको सिद्धान्तमा आएको हो। हिजो बुलेटमा बिश्वास गर्नेहरु आज ब्यालेटमा प्रतिष्पर्धा गर्न आएका छन्। हिजो निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायत व्यवस्था भन्नेहरु बहुदलमा विश्वास गरेर आएका छन् । हिजो साम्यवादी सत्ता हुनुपर्छ भन्ने कम्युनिष्टहरु बुलेट छोडेर ब्यालेटमा आएका छन्। यी सबै समेत सिंगो मुलुक नै कांगे्रसको रोडम्यापमा आएको हो । त्यसो भएको हुनाले कांग्रेसले आफ्नो रोडम्याप छाड्यो भन्न मिल्दैन।

तपाईंहरु पार्टीको पुनरसंरचनाको कुरा गर्दै हुनुहुन्छ तर युवा नेताहरु संगठित भएको देखिँदैन नि ?

यो सत्य होइन । हामी सबै संगठित छौं । केही दिन अघि मात्र हामीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखेका छौं। हामी एक छौं र एक भएर नै पार्टीलाई मजबूत बनाउन काम गर्नेछौं। नेपाली कांग्रेसभित्र सबै कार्यकर्ताहरुले आआफ्नो ठाउँबाट कामहरु गरिरहनु भएको छ। 

प्रस्तुति : सुकृत नेपाल 

ताजा खबर