माघको पहिलो साताभरी योग दिवस 

२०७४ पौष २५ मंगलबार १५:४१:०० मा प्रकाशित

काठमाडौँ, २५ पुस । तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर मनाइने भएको छ । 

शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो। समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ । 

सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो । 

विभिन्न संघ संस्थाको सहयोगमा पहिलो दिन प्रभातफेरी र साताको अन्यतिर योगसम्बन्धी अन्तक्र्रिया गर्ने योग दिवस मूल समारोह समितिले जनाएको छ । तेस्रो योग दिवसका लागि नारा तय गर्न डा हरिप्रसाद पोखरेल र अन्तक्र्रिया सञ्चालनका लागि डा चिन्तामणि योगीको संयोजकत्वमा तथा प्रभातफेरिका लागि ब्रह्मकुमारी राज योग सेवा केन्द्रका प्रतिनिधिको सयोजकत्वमा उपसमिति गठन गरिएको छ । 

छलफलमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वीय दर्शनबाट अभिप्रेरित हामी नेपालीले योगलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पाउनु आफैँमा गौरवको विषय भएको बताए। 

उनले भने, “ हाम्रै ऋषिमुनिले विगतमा योग साधना गरेकाले हामीले पुनर्जीवन दिने प्रयास मात्र गरेका हौँ, योग साधनाले मानिसलाई शान्त र स्वस्थ्य बनाउन योगदान पु¥याउँछ ।” 

मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पूर्वीय दर्शनको अभिन्न अंगका रुपमा रहेको योग साधनालाई मानिसका जीवनशैली बनाउने प्रयासले सुखको अनुभूति दिलाउने बताए। 

छलफलमा सहभागी वक्ताले योगलाई आशन र प्रणायममा मात्र सीमित नराखेर शान्ति, समृद्धि र विकाससग जोडेर हेर्न सुझाव दिएका थिए । 

उनीहरूले योगलाई विद्यालयको प्राथमिकतहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्न, योग सधैका लागि सवैका लागि भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको धारणा व्यक्त पनि गरे । सदाचार, सत्य, धर्म, ध्यानसंगै सिकाइने योग शिक्षा विस्तार गरौँ, जिल्ला जिल्लामा योग दिवस मनाऔँ भन्ने कार्यक्रम बनाउनु आवश्यक रहेकामा पनि जोड दिइएको थियो । रासस

ताजा खबर