‘राज्जा रानी’द्वारा राहत सामग्री

२०७४ पौष २५ मंगलबार १२:२८:०० मा प्रकाशित

राजविराज, २५ पौष । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ । 
‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताए। विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे । 
उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गरे। लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ । 
यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले भने्। आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको बताइएको छ । 
विपन्न समुदायलाई कम्बल 
यहाँका दलित तथा विपन्न समुदायमा चिसो र शीतलहरको प्रभाव परेपछि एक गैरसरकारी संस्थाले सोमबार कम्बल वितरण गरेको छ । पीडितलाई लक्ष्य गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लब लालापट्टीले महादेवा गाउँपालिका वडा नं ६ ढिकलीवासीलाई राहत सामग्री उपलब्ध गराइएको हो । 
शीतलहरले कष्टकर जीवन बिताइरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक एक थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष इ सूर्यनारायण यादवले बताए । 
सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगीलगायतको सहभागितामा सो राहत वितरण गरिएको हो । एक सातायता बढेको चिसो र शीतलहरका कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । प्रहरीले भने छ जना व्यक्तिको मात्र चिसोबाट मृत्यु भएको पुष्टि गरेको छ । रासस

ताजा खबर