त्रिसट्ठी हजार पर्यटकले फन्को मारे

२०७४ पौष २४ सोमबार १६:०७:०० मा प्रकाशित

बाबियाचौर, म्याग्दी, २४ पुस । सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन् २०१७ मा बिरेठाटी हँुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४।४८ प्रतिशतले बढेको छ । 

सन् २०१७ मा बिरेठाँटी हँुदै घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प क्षेत्रको भ्रमणका लागि ६३ हजार ५३७ जना बाह्य पर्यटक भित्रिएको कार्यालयका प्रमुख संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलले बताए। 

बिरेठाँटी यो क्षेत्रमा पर्यटक भित्र्ने मुख्य नाका हो । कार्यालयका अनुसार बिरेठाँटीबाट सन् २०१६ मा ४७ हजार २७४ बाह्य पर्यटक भित्रिएका थिए । सन् २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । 

बिरेठाँटी, शिख र छोमरोङ चेकपोस्टमा घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरणसहितको तथ्यांक राख्ने गरिन्छ । अक्टोबरमा सबैभन्दा धेरै १० हजार ९९८ र जुनमा सबैभन्दा कम एक हजार ६२२ जना पर्यटक भित्रिएका थिए । 

देशको अवस्था शान्तिपूर्ण हुनु, प्राकृतिक विपद्का घटना नभएको, सुविधासम्पन्न होटल खुल्न थाल्नु, सञ्चार सुविधाको विस्तार, पूर्वाधारको विकास र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार भएकाले पर्यटक आगमन बढेको अधिकृत कुइँकेलले बताए। 

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीय क्षेत्रलाई समेटेको अन्नपूर्ण सेञ्चुरी पदमार्गमा पर्यटक आगमन बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराको नजिक पर्ने भएकाले छोटो समयको पदयात्रा गर्ने पर्यटकको लागि आकर्षक गन्तव्य मानिन्छ । 

दशदेखि १४ दिनमा पूरा गर्न सकिने अन्नपूर्ण सेञ्चुरी पदमार्गको मुख्य गन्तव्य पुनहिल, घान्द्रुक, एबिसी क्याम्प, घम्पुस र मार्दी हिमाल हो । बिरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै एबिसी क्याम्प पुग्ने गरेका छन् । सन् २०१७ मा छोमरोङ हँुदै ३१ हजार ६८९ पर्यटक एबिसीतर्फ गएको तथ्यांक छ । 

छोमरोमङमा सन् २०१६ को अप्रिल महिनामा पर्यटक चेकपोस्ट स्थापना भएको थियो । मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृंखला, सूर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो । 

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० र अन्य मुलुकका नागरिकले प्रतिव्यक्ति रु दुई हजारका दरले शुल्क तिर्नुपर्छ । रासस

ताजा खबर