पुरस्कार दिने अनौठो काईदा 

२०७४ पौष २४ सोमबार १५:४०:०० मा प्रकाशित

उर्लाबारी, २४ पुस । सुनसरीको धरानमा जारी पूर्वाञ्चल सिंगिङ स्टार सिजन ५ प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई इमोसनल ब्लाकमेल गरी आयोजकले टिकट बिक्रीवितरण गर्न लगाएको पाइएको छ।

 प्रतियोगितामा प्रतिष्पर्धामा गरिरहेका १५ कलाकारहरुको क्षमता उनीहरुले बिक्री गर्ने टिकटको संख्यालाई आधारमा मानेर निर्धारण गरिने आयोजकले बताएका छन्। जसले धेरै संख्यामा टिकट बिक्री गर्छ उसैलाई क्रमश बिजेता घोषणा गरिने आयोजकले मापदण्ड तोकेकाले यतिबेला कलाकारहरु आफ्नो प्रतिभालाई सशक्त बनाउनेतिर भन्दा पनि धेरै टिकट बेच्ने होडबाजीमा सक्रिय भएका छन्।

प्रतियोगितामा सहभागी मध्येका एक प्रतिस्पर्धीका अनुसार आयोजकले १ सय बराबरको टिकट बिक्री गरे बापत २५ भोट प्राप्त गर्ने उर्दी जारी गरेका छन् । आयोजकले तोकिदिएको शर्त अनुसार, २ सयको बिक्री गरेमा ५० र १ हजारको टिकट बिक्री गरेमा २५० भोट पाउने छन् भने २ हजारको टिकट बिक्री गरे बापत ५०० सम्म भोट मिल्ने छ।

नाम नबताउने सर्तमा ती प्रतिस्पर्धीले आयोजकले वास्ताविक क्षमता हेर्नू भन्दा पनि टिकट बेचेकै भरमा विजेता छनोट गर्ने भएकाले यस्ता प्रतियोगिताले प्रतिस्पर्धी र अभिवावकले सास्ती वेर्होनु परेको गुनासो गरे। यस विषयमा आफूहरुले आयोजकसँग गुनासो राखेको भएता पनि  वास्ता नगरेको र उल्टो आफूहरुले भने अनुसार नगर्ने हो भने प्रतियोगिता छाडेर जानसक्ने सुझाव दिएको पनि प्रतिस्पर्धीले बताए।

ती कलाकारका अनुसार, ६० हजार बराबरको टिकट बिक्रीका लागि वितरण गरिएको भएपनि हालसम्म ३० हजारको मात्रै बिक्री भएको छ।  

भोटिङका लागि एनसेललाई बुझाउनु पर्ने ५ लाख बुझाइन नसक्दा नेपाल टेलिकमबाट मात्रै भोट खुल्ला रहेकाले टिकट बिक्रीलाई महत्व दिएको   आयोजक बागिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राईले बताए।

प्रतियोगितामा १३ जिल्लाका गरी करीव १२ सय प्रतिस्पर्धीले सहभागिता जनाएकामा जजहरुले टप १५ को छनोट गरेका छन्। ५ महिना अघिबाट सुरु भएको प्रतियोगितामा उर्लाबारीका मात्रै ५ प्रतिस्पर्धी रहेका छन् । 

ताजा खबर