इश्वर काका अब सम्झनामा मात्र

२०७४ पौष २४ सोमबार १२:१२:०० मा प्रकाशित

मुम्बई । बलिउडका चर्चित अभिनेता श्रीवल्लभ व्यासको निधन भएको छ । केही वर्ष देखि प्यारालाइसेस र ब्लड प्रेसरले पिडित व्यासको हिजो साँझ निधन भएको हो । उनले अमिर खानको फिल्म लगान मा इश्वर काका को भुमिकामा अभिनय गरेका थिए ।

उनलाई प्यारालेसिस र हाई ब्लड प्रेसरको कारणले केही  समयदेखि अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी दुई वर्षदेखि पत्नी र बच्चाका साथ जयपुरमा बस्दै आएका थिए । २०१३ मा उनको परिवारलाई आर्थिक समस्याको सामना पनि गर्नुपरेको थियो । त्यतिबेला उनलाई कसैले पनि मद्धत गरेका थिएनन् । उनको परिवारलाई बलिउड कलाकार अमिर खान, इमरान खान र मनोज वाजपेयले मात्र मद्धत गरेको उनको श्रीमतीले भारतीय संचार माध्यम जनसत्तालाई बताएकी थिइन ।

श्रीवल्लभले करिब ६० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले कैयौं टेलिभिजन सिरियलमा पनि अभिनय गरेका छन् । यसका साथै उनी थिएटरमा पनि सक्रिय थिए भने उनले केही गैर हिन्दी फिल्ममा पनि काम गरेका थिए ।

सन् २००८ मा स्वास्थ्यमा समस्या आएपछि उनले अभिनयबाट विश्राम लिएका थिए । उनले केतन मेहताको फिल्म ‘सरदार’ मा मोहम्मद अली जिन्नाहको भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट उनले राम्रो तारिफ बटुलेका थिए । साभार : जनसत्ता

ताजा खबर