दृष्टिविहीन भनेर चिनिँदा अपूर्ण लाग्दैन : मेनुका पौडेल

२०७४ पौष २३ आइतबार १६:०५:०० मा प्रकाशित

निरन्तरको साधनाले सफलता हात पार्न सकिन्छ भन्ने कुराको एउटी ज्वलन्त उदाहरण बनेकी छन् गायिका मेनुका पौडेल। केही समय अघि   पहिलो नेपाल आइडलको जति चर्चा भयो त्यति नै चर्चामा थिईन् मेनुका।   त्यस प्रतियोगितामा अरु सबल कलाकार भन्दा पृथक पहिचान बनाउन सफल रहेकी मेनुकाले स्वरको मौलिक स्वादबाट धेरै स्रोताको ध्यान खिच्न सकेकी थिईन्।

नेपाल आइडलमा स्रोता र दर्शकले निकै रुचाएकी गायिका मेनुका प्रतिष्पर्धाको टप ११ बाटै बाहिरिएकी थिइन्। तर उनको बहिर्गमनले धेरै स्रोता,दर्शकलाई खल्लो बनाएको प्रतिक्रियाहरु सामाजिक सञ्जालमा प्रशस्त आएका थिए। आईडल प्रतियोगितामा असफल भएपनि गीत गायनमा भ्याई नभ्याई गायिका मेनुकासँग सरल पत्रिका संवाददाता किशोर श्रेष्ठले उर्लाबारीमा गरेको कुराकानीको सार:

 पछिल्लो समय तपार्इं केमा व्यस्त हुनुहुन्छ?

म अहिले नयाँ गीतहरुको रेकर्डिङ,देशका विभिन्न शहरहरुमा आयोजना हुने गरेका सांगीतिक कार्यक्रमहरु लगायत आफ्ना नयाँ गीतको सिर्जनामा काम गरिरहेकी छु।

 तपाईँको एकदिन कसरी बित्ने गर्छ?

मेरो दैनिकी सामान्य नै हुने गर्दछ। बिहानै उठेर कलेज जान्छु। त्यसपछि कोठामा आएर खाना खाएर आफ्नो समय अनुसार दुई तीन घण्टा रियाज गर्छु। रियाजपछि केही समय आराम गर्छु। अहिले त्यस्तो दैनिकी नै भन्ने त छैन। रेकर्डिङ भयो भने त्यसमा व्यस्त होइन्छ नत्र घर मै बसेर रियाज गर्ने हो।

 नेपाल आइडलमा आउनु अघि कहाँ र कस्तो अवस्थामा गीत गाउनु भएको थियो, याद छ?

म सानैदेखि संगीतप्रति रुची राख्थें। मेरो परिवारका सदस्यहरुले पनि मेरो रुचीलाई हौसला दिने गर्थे, अझै पनि हौसला पाई नै रहेकी छु। म पारीवारिक वातावरणसँगै होस्टेलको वातारणमा पनि हुर्केकी हुँ। होस्टेलमा गाएको पहिलो गीतबाट नै मेरो सांगीतिक यात्रा शुरु भएको थियो। होस्टेलमा आयोजना हुने कार्यक्रमहरुमा गीत गाउँथे। मैले गाएको गीतले सबैजना खुशी भएको थाहा पाउँथैं।

 नेपाल आइडलबाट यति धेरै चर्चा पाउँछु भन्ने सोच्नुभएको थियो?

पहिलो कुरा त नेपाल आइडलमा जाने वा नजाने भन्ने नै टुङ्गो थिएन मेरो। मानिसले सोचे अनुसार जीवन चल्दैन। कहिले कहाँ अनि कस्ता परिवर्तन आउँछन् भनेर भन्नै सकिन्न। मेरो जीवनमा पनि त्यस्तै परिवर्तनको एउटा मोड भएर आइदियो नेपाल आइडल। जुन मैले कहिले पनि सोचेकी थिइन। पहिलो कुरा त नेपाल आइडल नै आउँछ भन्ने मलाई थाहा थिएन,जतिबेला नेपाल आइडल शुरु हुने पक्का भयो त्यसपछि फर्म भरेकी थिएँ। अडिसन दिएँ र कार्यक्रममा सहभागी भएर अगाडि बढ्दै गएँ पनि। टप ११ मा पुगेसँगै भोटिङको कारणले आउट पनि भएँ। तर मलाई दुःख भने लागेन र लागेको पनि छैन। मान्छेको जीवनमा जे पनि हुनसक्छ। आज मलाई नेपाल आइडलकी मेनुना भनेर देश विदेशमा रहनुभएका नेपालीहरुले जुन स्नेह, माया र हौसला दिनुभएको छ। नेपाल आइडलमा सहभागिता नभएको भए पाउँदिन थिएँ होला सायद । 

तपाईंलाई धेरैले चिनेका छन् , कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?

मेरा दर्शक स्रोताले दिएका प्रतिक्रियाहरुले नै मलाई यस क्षेत्रमा अझ सशक्त ढंगले लाग्न प्रेरणा मिलेको छ। धेरैले मेरो प्रशंसा गर्नुहुन्छ, कति कुराहरु आफ्नै कानले पनि सुनिरहेकी हुन्छु। कतिले अप्रत्यक्ष रुपमा मेरो कुरा गरिरहनु भएको हुन्छ । यसले मेरो काम गर्ने क्षमता झन् बढाउँछ। मलाई धेरै खुशी दिएको छ।

 तपाईंलाई त गायिका कोइली देवीसँग दाँजिन्छ नि, कस्तो लाग्छ?

वास्तवमा मलाई यो उपनाम नेपाल आइडलमा जजहरुले दिनुभएको थियो।  अहिले आमदर्शक स्रोताले पनि सोही उपनामले बोलाउने गर्नुहुन्छ। जसलेगर्दा मलाई अझ उत्साह र हौसला समेत मिल्ने गरेको छ। मलाई खुशी नै लाग्छ। यो आफुले भन्नुपर्ने कुरा भन्दा पनि स्रोताहरुले मूल्याङकन गर्ने कुरा हो। त्यसकारणले मेरो लागि स्रोताहरुले जे गर्नु भएको छ,राम्रो गर्नु भएको छ। 

तपाईंको जन्म कहाँ र कहिले भएको थियो?

अठार वर्ष अगाडि झापाको हल्दिबारी गाउँपालिकाको जलथल भन्ने ठाउँमा बुवा टिकाराम पौडेल र आमा पम्फा पौडेलको जेठो सन्तानको रुपमा मेरो जन्म भएको थियो।

 परिवारमा को को हुनुहुन्छ नि? औपचारिक शिक्षा कहिलेबाट सुरु गर्नुभएको थियो?

हाम्रो परिवारमा बुबा, आमा र दुईजना दिदीबहिनी अनि म गरेर पाँच जनाको सानो परिवार रहेको छ। पाँच वर्षको उमेरदेखि झापामा नै रहेको दुर्गा उच्च मा.वि मा ब्रेल लिपीमा पढ्न सुरु गरेकी थिएँ।  हाल म सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा +२ मा अध्यन गरिरहेकी छु।

 तपाईँ जन्मिदै दृष्टिविहिन हुनुहुन्थ्यो कि पछि यस्तो भएको हो?

बच्चा अवस्थाबाट नै म आँखा देख्दिनथें। म जन्मजात नै दृष्टिविहिन हो। जन्मजात दृष्टिविहिन भनेर चिनिँदा न त आफूलाई अपूर्ण लाग्छ न त कुनै अप्ठ्यारो नै। 

आगामी योजना के छन्?

हालसम्म मैले ४० ओटा जति गीतहरु गाइसकेकी छु।  चाँडै नै चलचित्र ‘लिलिविली’ को गीत पनि गाउँदै छु। त्यसकासाथै आगामी दिनमा डान्सीङ गीतहरु पनि दर्शक स्रोतामाझ ल्याउने तयारीमा छु। भविष्यमा अझ सशक्त ढंगले सांगीतिक क्षेत्रमा लाग्ने योजना छ।  
                                           
 

ताजा खबर