संस्कृत भाषाको नाटक देखाइने

२०७४ पौष २३ आइतबार १५:३४:०० मा प्रकाशित

काठमाडौँ, २३ पाैष । पछिल्लो समय रंगमञ्चमा नेपाली नाटक देखाउने क्रम बढेसँगै पहिलो पटक संस्कृत नाटक प्रदर्शन गरिने भएको छ ।  नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको भने यो पहिलो अवसर हो । श्रीपञ्चमीका अवसरमा श्रीकान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का विद्यार्थीले ‘तमसो ज्योतिर्गमय’ अर्थात् ‘मलाई अन्धकारबाट उज्यालोतिर लैजाऊ’ शीर्षक नाटक प्रदर्शन गर्न लागेका हुन् । गुरुकुलको सहयोगका लागि सामाजिक विषयवस्तुमा आधारित नाटक प्रदर्शन गर्न लागिएको हो । 
नाटक आगामी माघ ७, ८ र ९ गते सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सहप्रा डा श्रीराम अधिकारीले जानकारी दिए । गुरुकुलले यसअघि २०७१ साल चैतमा वाल्मीकि विद्यापीठमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि पहिलो पटक नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको हो । 
नाटक त्रिवि संस्कृत अध्ययन संस्थानका पूर्वडिन स्व तोयनाथ पाण्डेयले लेख्नुभएको हो । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गर्नुभएका डा घनश्याम खतिवडाले गर्नुभएको छ । नाटक अपराह्न ४ देखि ६ बजेसम्म प्रस्तुत गरिनेछ । माघ ८ गते श्रीपञ्चमीका दिन भने विद्यार्थीका लागि अतिरिक्त अपराह्न १ देखि ३ बजेसम्म पनि नाटक प्रदर्शन गरिनेछ । रासस

ताजा खबर