‘शेरबहादुरमा राजनीतिक गन्ध नै छैन’

२०७४ पौष २२ शनिबार ०८:४९:०० मा प्रकाशित

अहिले कत्तिको व्यस्तता छ?

अहिलेको व्यस्तता भनेकै चलचित्रको प्रमोसनको हो। माघ १९ बाट चलचित्र ‘शेरबहादुर’ प्रदर्शन हुँदैछ त्यसैको कममा लागिरहेको छु। त्यसैको दौडधुपमा छु,व्यस्त नै हो यतिको काम चलिरहेको छ।

के हो ‘शेरबहादुर’?

यो सामाजिक थ्रिलर चलचित्र हो। यसमा कलाकार सुनिल थापाले मुख्य भूमिका गर्नुभएको छ र यो चलचित्र राजनीतिक कुराहरुसँग सम्बन्धित छैन। शेरबहादुरमा राजनीतिक गन्ध नै छैन। मेनुका प्रधान, रविन्द्र झा, कर्मा शाक्य लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन्। चलचित्रमा सुनिल थापाको क्यारेक्टरको नाम चाहि शेरबहादुर छ।

टेलिफिल्मबाट चलचित्रमा प्रवेश गर्नुको कारण के हो?

मैले चलचित्रहरु पनि गरेकै थिएँ। मेरो क्यारियरको शुरुवात नै ‘कस्तुरी’ चलचित्रबाट भएको हो। महजोडीको ‘फिल्म’ नामको चलचित्र पनि मैले नै खिचेको हो। महजोडीसँग काम गर्न थालेपछि टेलिफिल्महरुमा बढि केन्द्रीत देखिएको हो।

अहिले र पहिलेको चलचित्र क्षेत्रको काम गराईमा के भिन्नता पाउनु भएको छ?

चलचित्र निर्माणको क्षेत्रमा प्राविधिक कुराहरुमा एकदमै परिवर्तन भएको छ। पहिला त कामहरु रिलमा हुन्थ्यो। अहिले कामहरु पुरै डिजीटलमा हुन्छ। सुटिङ, सम्पादन, लाइट सबैकुराहरुको कामको तरिका नै परिवर्तन भएर आएको छ। पहिला हामीले काम गर्दा सेलुलाइड प्रविधिमा गर्नुपर्थ्यो। सेलुलाइडमा गर्दा रिलमा काम हुन्थ्यो अब डिजीटलको युग आएको छ। सबै कामको रेकर्ड अहिले कार्डमा हुन्छ, हार्डडिस्कमा हुन्छ। धेरै फरक भएको छ नि। मेरो लागि पनि यो नयाँ नयाँ जस्तो नै भएको छ।

पहिलाको काम संझदा कस्तो लाग्छ?

मेले सबैभन्दा पहिला गरेको ‘प्रयास’ नामको भिडियो फिल्म थियो। मैले र किरण प्रधानजीले बनाएका थियौं। त्यतिबेला नेपाल टेलिभिजन पनि थिएन। त्यसपछि मैले थुप्रै भिडियो फिल्महरु गरेको छु। सम्बन्ध, आँसु, जीवन, सन्देश लगायतका थुप्रै भिडियो फिल्महरु मैले गरें। मैले सबैभन्दा पहिला नेपाल टेलिभिजनको लागि गरेको रमेश बुढाथोकीको ‘वाचा बिर्सको छैन’ टेलिचलचित्र हो।

कसरी क्यामेरामेन भैयो नि?

त्यतिबेला रहरैरहरमा क्यामरामेन भएको हुँ। त्यतिबेला म व्यापार गर्थें। मेरो न्युरोडमा पसल थियो। त्यो समय मलाई फोटोग्राफिको पहिला देखि नै सौख थियो। साथीहरुले तिमीले खिचेको फोटो राम्रो छ पनि भन्ने गरेका थिए। त्यसपछि मैले भिडियोको ट्रेनिङ गरे। सन् १९७७ मा जोन्स हबटिन विश्वविद्यालयको समूहसँग मैले ट्रेनिङ गरेको थिएँ। त्यसपछि चलचित्रहरुमा पनि मेरो रुची बढ््न थाल्यो। अनि त मैले क्यामेरा चलाउन थालें। त्यतिबेला  म एकलौटी जस्तै नै भएँ,यो क्षेत्रमा अरु थिएनन्। धेरै वर्षसम्म त मेरो यो क्षेत्रमा एकलौटी जस्तै भएर काम गरें। 

यो सिनेम्याटोग्राफी आम मानिसले कसरी बुझ्ने?

सिनेम्याटोग्राफी भन्नाले क्यामेरा संचालन गर्ने काम नै हो। अर्को शव्दमा भन्दा यो भनेको फिल्म खिच्ने नै काम भयो। सिनेम्याटोग्राफी आफंैमा व्याख्या गरिएको नाम हो। सिनेमाको ग्राफलाई मिलाएर खिचिने भएको हुनाले यसलाई सिनेम्याटोग्राफी भनिएको हो। यसलाई बुझाउने सबैभन्दा साधारण शब्द नै यही हो जस्तो मलाई लाग्छ। यसको उतारचढावहरु यसको कमेडी, भावुकता, एक्सन, लाइट जस्तो ग्राफलाई मिलाएर खिच्ने व्यक्तिलाई सिनेम्याटोग्राफर भनिएको हो।

सिनेम्याटोग्राफीमा ध्यान दिनु पर्ने कुराहरु के के पर्छन्?

सिनेम्याटोग्राफी भनेको एउटा फोटोग्राफीको निर्देशन पनि हो। त्यसकारणले यसमा कथावस्तुहरु कसरी चलचित्रमा उतार्ने भन्ने कुराहरुलाई नै ध्यान दिनुप¥यो। दर्शकको आँखालाई नबिझाउने गरी खिच्न सक्नुपर्यो। कथालाई ठीक छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ। मुख्य चलचित्रको कथा कस्तो बनाइएको छ भन्ने कुरा हुन्छ। अब बलिउड, हलिउडको तरिकाले खिच्न मन लाग्न सक्छ तर जबसम्म कथा सही हुँदैन तबसम्म आफुले चाहेर पनि मन लागे जस्तो तरिकाले खिच्न पाईन्न। क्यामेराको काम पनि चलचित्रको कथासँग लिंक हुनुपर्यो। कथा एकातिर प्रविधि अर्कोतिर हुनुभएन। 

काम गर्न सजिलो चैं चलचित्र कि टेलिचलचित्र?

दुबैमा काम गर्ने तरिका त उस्तैउस्तै नै हो। त्यसमा केही फरक छैन। क्यामेरा बोक्नैपर्छ, चलाउन नै पर्छ, फोकस लाइट मिलाउनु नै पर्यो। सबैकुरा गर्नैपर्यो। काम त उस्तै नै हो। पहिला सेलुलाइडमा खिच्दा जोखिम बढि थियो। किनकी क्यामरामेनले जे देख्यो जे खिच्यो र जे बनायो त्यहि नै कसैले हेर्न पाउँदैनथ्यो। अनि एकैचोटी प्रक्रिया सकिएपछि मात्र हेर्न पाइन्थ्यो। अब अहिले सबै बसेर मनिटरमा हेर्न पाउँछन्। अब प्रविधिको बिकास हुँदाँहुदा अहिले त मोबाइलमै हेर्न मिल्छ।

तपाईं त पुरानो पुस्ताको मान्छे, आजकलका कलाकार कस्ता छन्?

पहिला त कलाकारहरुले क्यामरामेन भनेपछि एकदमै सम्मान गर्थे। अहिले त्यो परम्परा अलिकति हराएको हो कि जस्तो लागेको छ। अहिलेका कलाकार त आफ्नो काम गर्यो सकियो हिँड्यो। अरु कसैको मतलब गर्नु छैन। पहिला सुटिङ शुरु हुँदा क्यामेरा ढोग्ने, क्यामरामेनको हात छोएर ढोग्ने एउटा प्रथा थियो,सम्मानको परम्परा थियो। अहिले त्यस्तो केही पनि छैन। अहिले त निर्देशकले एक्सन भनेपछि आफ्नो काम गर्यो अनि सकियो। महजोडीसँग काम गर्दा त हामी पहिला धुप नबाली क्यामेरा खोल्दैनथ्यौं। अझै पनि हाम्रो त्यस्तो चलन कायमै छ ।

यो क्षेत्रमा समय दिएर आफ्नो जिविकोपार्जन चल्छ त?

 पहिला भन्दा धेरै राम्रो भएको छ। अहिले एउटा क्यामरामेनले प्रोजेक्ट र त्यसमा लाग्ने समय  हेरिकन तीन लाखसम्म पारिश्रमिक लिन थालेका छन्। यसमा वर्षमा तीनवटा चलचित्र गर्यो भने त मज्जाले खान पुग्छ नि। अहिले त यसको कमाईले परिवार पालिन्छन्,आम्दानी राम्रै हुन्छ।

तपाईंले त महजोडीसँग पनि काम गर्नु भयो होईन?

ओहो महजोडीसँग काम गर्दा त एकदमै रमाइलो हुन्छ। उहाँहरुसँग काम गर्दा कामको टेन्सन नै हुँदैनथ्यो। सिरियलहरु पनि उहाँहरुले सबै रमाइलो रमाइलो मात्र बनाउनुहुन्छ। मैले महजोडीसँग झण्डै ३० वर्ष काम गरिसकें। तीन दशक काम गर्दा मलाई कुनै एकदिनको पनि नराम्रो अनुभव छैन।

महजोडीमा काम गर्न अझ सजिलो मदनकृष्ण श्रेष्ठ कि हरिवंश आचार्य?

मेरालागि त दुबैजना साथीहरु जस्ता पनि भए। हामी एकअर्कालाई दाजुभाई पनि भन्छौं। दुबैसँग काम गर्न सजिलो छ। दुबैजना एकदमै बुझ्ने खाले हुुनुहुन्छ। फेरि उहाँहरुले लेखेको स्क्रिप्टमा कसरी काम गर्नुपर्छ भन्ने कुरा हामी एकअर्काले बुझ्ने भईसकेका छौं। हामीहरुबीच त्यति धेरै सामिप्यता छ। मलाई दुबैजना बराबरी नै मनपर्छ। अब अलिकति उमेरको हिसाबले नै हेर्ने हो भने हरिवंश दाई अलि फुर्तिलो देखिनुहुन्छ। उहाँहरुले गरेको कामहरुमा मैले आफ्नो बुट्टा भर्नु पाउँदा खुशी नहुने त कुरै भएन। उहाँहरुको काम गराई एकदमै पक्का हुन्छ।  
(नेपालका अनुभवी सिनेम्याटोग्राफर गौरीशंकर धुजु श्रेष्ठसँग सरल पत्रिकाका सुकृत नेपालले गरेको संवाद)

ताजा खबर