'क्रिकेट बोर्ड त छैन , एकेडेमीको कुरै छोडदिउँ'

२०७४ पौष २१ शुक्रबार ११:३४:०० मा प्रकाशित

क्रिकेट एशोशिएसन नेपाल निस्क्रिय छ तर क्रिकेटका प्रतियोगिताहरु भैरहेका छन्,के छ क्रिकेटको खबर ? 

अब प्रदर्शनको हिसाबले हेर्ने हो भने क्रिकेट खेल त राम्रैसँग भइरहेको छ । चाहे त्यो सिनियर टिम होस् या अन्डर– १९ सबैले राम्रै गरिरहेका छन्। तर व्यवस्थापकीय पक्ष चाहिं अलिकति सुधार्नु पर्ने देखिन्छ। अहिलेको स्थितिमा हामीसँग क्रिकेटलाई सन्चालन गर्ने कुनै पनि निकाय छैन। क्रिकेट एशोशिएसन नेपाल (क्यान) पनि सस्पेन्डेड छ। त्यो बाहेक अरु कुनै संस्थाले क्रिकेटलाई प्रशासनिक हिसाबले चलाउने  अवस्था देखिंदैन। क्यान होस् या नेपाल क्रिकेट बोर्ड होस् जोसुकै भएपनि एउटा प्रशासनिक निकाय चाहिं चाहिन्छ। तर दुखको कुरा हो कि हामीसँग संस्थागत रुपमा क्रिकेटलाई अगाडि बढाउने कुनै निकाय नै छैनन्।

तर क्यान बिवादमा हुँदाहुँदै पनि तीन तीनवटा प्रतियोगिताहरु त भए नि यो कसरी संभव भयो?

यो खासमा के हो भने, अन्डर–१६ र अन्डर–१९ त एसियन क्रिकेट काउन्सिलले कन्सल्टेन्टको रुपमा हामीलाई जिम्मा लगाइरहेको हो। यो किनभने उनीहरुको बुझाईमा हामी नेपाली क्रिकेट बुझ्छौं र नेपाली क्रिकेटसँग धेरै समयदेखि जोडिएको हुनाले उनीहरुले हामीलाई बिश्वास गरेर चलाउन दिएको हो। त्यो बाहेक सिनियर क्रिकेट टिम पनि पारस खड्का र जगत टमाटाले हेरिरहनु भएको हो। पूर्ण रुपले उहाँहरुको बुझाईमा चाहिं यी व्यक्तिहरुले नेपाली क्रिकेटमा धेरै समय देखि काम गरिरहेको भएर बिश्वास गरेर अहिलेको लागि जिम्मा लगाइदिएको हो। त्यो बाहेक धेरै कुराहरु छन् जुन कि एउटा आधिकारिक संस्था नभएको खण्डमा खेल संचालन गर्न नसकिने अवस्था छ। त्यो बजेटिङ कै कुरामा होस्, बिकासका पूर्वाधारका कुराहरुमा होस्, चाहे त्यो घरेलु संरचना सुधार्ने कुरामा नै होस्। यी सबै कुराहरुको लागि नै खासमा हामीलाई एउटा आधिकारिक निकाय चाहिएको छ।

व्हीलचेयर क्रिकेटमा नेपालले  जित्यो नि? 

व्हीलचेयर खासमा हाम्रो रेखदेखमा पर्दैन। नेत्रहीन र व्हीलचेयर किक्रेट दुबैलाई सम्बिन्धत निकायले उहाँहरुको आफ्नै संस्था बनाएर हेरिरहनु भएको छ तर अवश्य पनि क्रिकेट एसोसियन नभएको खण्डमा चाहि उहाँहरुलाई पनि त्यतिकै गाह्रो हुन्छ। जस्तो कि अरु क्रिकेट टिमलाई हुन्छ। अहिले नै अब नेत्रहीन बिश्वकप खेल्न जानको लागि टिम ट्रेनमा ट्राभल गर्नुपर्ने अनि दुःख भोग्नुपर्ने अवस्था देखिएको छ। यी सबै कुराहरुका लागि एउटा आधिकारिक निकायले चासो नदेखाइदिँदा चाहिं दुःख लागेको छ।

इपिएलमा जस्तै अरु क्रिकेट प्रतियोगिता वा लिगहरु संचालन गर्न कर्पोरेट क्षेत्रको सहकार्य संभव छैन?

फ्रेन्चाईज क्रिकेट त जहाँ पनि हुन्छ, चाहे त्यो इपिएल, आइपिएल, बंगलादेशको प्रिमियर लिग होस् सबै चल्ने भनेको कर्पोरेटसँग मिलेर नै आयोजना गर्ने हो। प्रिमियर लिगमा चाहिं जहिले पनि कर्पोरेट क्षेत्रहरुको हालिमुहाली हुन्छ। त्यो बाहेक हामीसँग प्रतियोगिताहरु आयोजना गर्नका लागि धेरै कुराहरु आवश्यक छन्। हामीले आफ्नै एउटा घरेलु क्रिकेटको ढाँचा तयार पार्न सकेका छैनौं। हामी आफ्नो अन्डर–१९ र अन्डर–१६ को खेलाडीहरु ती लगायत सिनियल खेलाडीहरुलाई पनि वर्षको पाँच छ महिना क्रिकेट खेल्ने वातावरण बनाउन सकेका छैनौं। त्यसमा हाम्रो कमजोरी बढि छ। इपिएल चाहिं एउटा कस्तो प्लेटफर्म हो भने यो एउटा मनोरञ्जनात्मक क्रिकेट प्रतियोगिता हो। यसले क्रिकेटरहरुलाई आर्थिक रुपमा फाईदा पुर्याउनुको सँगसँगै एउटा प्लेटफर्म तयार पारिदिने हो। एउटा अवसर दिने हो । बिदेशबाट आएका अनुभवी खेलाडीहरुसँग खेल्ने एउटा वातावरण मिलाइदिने हो।

क्यानको अव्यवस्थापनको मुख्य कारण के होला?

अब खासमा अव्यवस्थापनको कारण हामी आफंैले व्यवस्थापन गर्न नसकेर नै यस्तो भएको हो। त्यसलाई कसरी व्याख्या गर्ने भनेर ठ्याक्कै मलाई पनि थाहा छैन। यो किन भएको भन्ने कुरा हामी सबैलाई थाहा छ। किनकी हामी आफंैले व्यवस्थापन गर्न सकेका छैनौं। त्यसमा मलाई लाग्दैन कसैले पनि दुईमत राख्छ होला कि यो असफलताको कारण हामी आफंै हो भनेर। अब यहाँबाट के हो भनेर अगाडिको बाटो हेर्नुपर्ने हुन्छ। यसमा समस्या मान्छेको होइन कि समस्या सोचको हो काम गर्ने तरिकाको हो। नेपालमा काम गर्न जान्ने मान्छे नभएको होइन, काम गर्न जान्ने मान्छे पनि छन् तर गर्न नसकेको चाहि हो। अब त्यो काम गर्न नसकेका मान्छेहरुले काम गर्ने आँट देखाउनु पर्यो र गर्न सक्नु पर्यो।

भर्खरै राम्रा प्रतियोगिताहरु भए, युवा खेलाडीले देशकै नाम राख्नेगरी जिते पनि, यी नयाँलाई निरन्तरता दिने योजना के छ त?

यसमा सबैभन्दा पहिला यदि स्कूल नै राम्रो भएन भने पढ्न आउने मान्छेहरुको चासो कम हुनु स्वभाविक कुरा हो। त्यो स्कूल राम्रो बनाउनका लागि सबैभन्दा पहिला त्यहाँ भएका शिक्षकहरु त्यहाँ भएका व्यवस्थापनका मान्छेहरुले ध्यान दिनुपर्ने हो। त्यसमा हामी पनि पर्छौं। हामीले ध्यान दिएर क्रिकेटको संरचना तयार पारेनौं र भोली गएर यसलाई दिगो रुपमा चल्ने बनाउन सकेनौं भने कहिलेसम्म क्रिकेट यसरी चलिराख्छ भन्ने प्रश्न उठ्छ। यसरी त धेरै लामो चल्दैन। केही समयसम्म राम्रो गरिरहेको छ र त्यसबेलासम्म चल्ला। भोली अरु टिमले पनि राम्रो गर्दैनन्। टुर्नामेन्टहरुमा पनि जित नहोला। त्यसपछि दर्शकको रुची घट्छ किनभने हार्नेको पछि कोही लाग्दैनन्। जित्नेको पछि सबै लाग्छन्। अहिले लागिरहेका छन् र यही मौकालाई हामीले सदुपयोग गरेर यसलाई यसरी नै चल्ने बनाउन सक्यौं भने भोली नेपालमा क्रिकेट रहन्छ र सबल रुपमा प्रस्तुत पनि हुन्छ। यदि यसो हुँदैन भने चाहिं गाह्रो हुन्छ।

खेलाडीलाई टिकाई राख्नको लागि तपाईंको व्यक्तिगत भूमिका के हुनसक्छ त?

हाम्रो देशमा एउटा अनौठो बानी छ सबैको, कि चाहे त्यो राम्रो कुरा होस् या नराम्रो हामी त्यसलाई अलि छिटो नै बिर्सने गर्छौ। यसको लागि म एक्लैले भन्दा पनि हामी सबै क्रिकेटमा लागेका व्यक्तिहरुले के बुझ्नु पर्यो भने क्रिकेट रहुन्जेल हामी रहन्छौं। भोलि क्रिकेट भएन भने हामी पनि आफ्नो बाटो लाग्नु पर्ने हुन्छ। पुरै जीवन क्रिकेटमा बिताइएको छ अर्को बाटो रोज्न अवश्य नै गाह्रो हुन्छ। क्रिकेट टिकेकै छ। भोली क्रिकेट नै रहेन भने आफ्नो जीवन चलाउन पनि त गाह्रो हुन्छ। हामीले क्रिकेटलाई प्राथमिकतामा राखेर क्रिकेटको हक र हितका कामहरु गर्न जरुरी छ। भलै गर्नुपर्ने काम थोरै छन् तर ती महत्वूर्ण छन्।

पूर्वाधार बनाउने काम छ। कतिपय ठाउँमा स्टेडियम बनाउने कुराहरुको पहल भइसकेको छ, यसलाई सक्काउनु पर्यो। अर्को भनेको एउटा हाम्रो आफ्नै राष्ट्रिय क्रिकेटको ढाँचा बनाउनु पर्नेछ। घरेलु क्रिकेटको एउटा संरचना बनाउनु पर्नेछ, जहाँ छ महिना नभएपनि कमसेकम तीन महिनासम्म चाहिँ क्रिकेट खेलाडीहरुलाई क्रिकेटका गतिविधिमा  व्यस्त बनाउन पाइयोस्। यी दुईवटा काम गरिसकेपछि क्रिकेटरहरुको जिवीकोपार्जनको लागि एउटा वातावरण तयार पारिदिनु पर्यो। खेलमा पूर्ण रुपमा समर्पित भएर लाग्दा उनीहरुले खान लगाउनको लागि चिन्ता गर्न नपरोस् ।युवा खेलाडीहरुको औपचारिक शिक्षाको पक्ष पनि खेलकै कारणले नछुटोस्,उनीहरुले उच्च शिक्षा पनि खेल्दाखेल्दै त्यही समयमा पूरा गर्ने भरपर्दो व्यवस्था होस्। यति कुराको सुनिश्चितता हुनसक्यो भने मलाई लाग्दैन नेपालमा क्रिकेटलाई टिकाइराख्न धेरै गाह्रो होला।

तपाईंले भने जस्तै व्यवस्था हुन क्रिकेट एकेडेमीको आवश्यक्ता देख्नुहुन्न?

यहाँ क्रिकेट एकेडेमी टन्नै छन् तर हो एउटा सेन्ट्रल क्रिकेटिङ समूहको धेरै खाँचो छ। हाम्रो देशमा क्रिकेट एसोशिएसन, क्रिकेट बोर्ड नै छैन  एकेडेमीको त कुरै छोडदिउँ। 

प्रस्तुति : सुकृत नेपाल 
 


 

ताजा खबर