दोर्जे शुग्देन सम्मेलनमा २० देश

२०७४ पौष २० बिहीबार १४:४१:०० मा प्रकाशित

काठमाडौं, पुस २० । पहिलो अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्रिय दोर्जे सुग्देन समाजद्धारा होटल याक एण्ड यतिमा आयोजित उक्त सम्मेलनको उद्घाटन विहिबार रक्षामन्त्री भीमसेन दास प्रधानले गरे। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा २० वटा मुलुकबाट प्रतिनिधित्व रहेको आयोजक संस्थाले जनाएको छ ।

विश्व शान्ति, धार्मिक स्वतन्त्रता तथा मानव अधिकारबारे सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजित सम्मेलनबाट एक प्रतिवेदन पारित विश्वको ध्यानाकर्षण गराउने योजना रहेको समाजका अध्यक्ष बसुन्धारा श्रेष्ठले बताईन् । विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्म नेपालमा भएकाले यही भूमिबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि सम्मेलनको आयोजना गरिएको उनको भनाइ छ ।

  उद्घाटन गर्दै रक्षामन्त्री भिमसेन दास प्रधानले नेपाल जस्तो धार्मिक स्वतन्त्रता भएको देश संसारमा विरलै रहेकोले यो सम्मेलनबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । राज्यको कुनै धर्म नहुने भएकाले सबै धर्मलाई समान व्यवहार गर्ने उनको भनाई थियो ।

बुद्ध धर्मको अर्थ त्याग भएको उल्लेख गर्दै मन्त्री प्रधानले भने ‘बुद्ध धर्मको अर्थ त्याग हो । मानव धर्मकै लागि बुद्ध समर्पित थिए । धर्मको अर्थ दिन दुखीको सेवा गर्नु हो भन्ने कुरा बुद्धले फैलाएकाले बुद्धको पञ्चशिल नै संसारमा धर्मको रुपमा स्थापित भएको हो ।’

इटालीबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागि धर्म गुरु गेशे कुनचेक ग्याल्सेनले दलाई लामाले दोर्जे शुग्देन धर्मलाई विभिन्न हिसाबले विरोध र निषेध गरेकाले आफुहरु धार्मिक स्वतन्त्रताका लागि लडाई लडिरहेको बताए। 
 
 

ताजा खबर