बर्दिया घटनामा सरकारले गोली चलाउने आदेश दिएको छैनः गृहमन्त्री

२०७९ जेठ २४ मंगलबार १३:५२:०० मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृण खाँणले यौन हिंसालाई दुरुत्साहन गर्न यस सम्बन्धी कानूनहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाँणले वलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताए । उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जीवन जिउनका लागि आवश्यक पर्ने कानूनी प्रावधानहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताए ।

उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजायको माग गरिने पनि उल्लेख गरे । उनले भने, ‘यस्तो सामुहिक बलात्कार, यौनहिंसा, वलात्कारले प्रश्रय नपाओस् । त्यसका लागि यो घटनामा सहभागी भएकाहरुलाई हदैसम्मको सजायको माग गरी त्यही अनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । माननीयज्यूहरुले भनेजस्तै यौन हिंसालाई कसरी दुरुत्साहन गर्ने, वलात्कार र सामुहिक बलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जिवन जिउनका लागि वातावरण तयार गर्नुपर्ने त्यसका लागि आवश्यक पर्यो भने अहिलेको कानूनी प्रावधानहरु छ । ति कानूनी प्रावधानहरुलाई पनि हामीले संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने आवाजहरु उठिरहेको छ । ति विचारहरुसँग म सकारात्मक धारणा राख्न चाहन्छु ।’

उनले बाँके जिल्लाको राप्ती सोनारी निवासी १६ वर्षकी युवतीमाथि ७ जना युवाले सामूहिक वलात्कार गरेको घटनाको सम्बन्धमा आरोपीहरुलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । मन्त्री खाँणले यौन हिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानूनी कारबाही हुने बारेमा जानकारी दिइनुपर्ने बताए ।

त्यस्तै गृहमन्त्री खाँणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले समिति बनाएको जानकारी दिए ।

सो घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का रहेको पाँच सदस्यीय छानविन समिति बनाइएको उनले जानकारी दिए । उनले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पारे । यो घटनामा पनि गोली चलाउनका लागि आदेश नदिइएको उलने बताए ।


 

ताजा खबर