कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने चेम्बरको माग

२०७९ जेठ २४ मंगलबार ०९:२५:०० मा प्रकाशित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ । राजस्व परामर्श समितिद्वारा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताएका हुन् ।

“लिमिटेड कम्पनीको शेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ”, उनले भने ।

संस्थापक शेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुने बताए ।

सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सकेमात्र यसको तरलता सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ । धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषिजन्य उद्योगमा पनि लागू गर्नुपर्ने माग सो अवसरमा गरिएको थियो ।

ताजा खबर