ब्रिटिश प्रधानमन्त्रीलाई विश्वासको मत

२०७९ जेठ २४ मंगलबार ०८:४९:०० मा प्रकाशित

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन् । ५९ प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए । जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई निर्णायक भनेका छन् ।

यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ । जोनसनले पार्टीभित्र पाएको समर्थनको मत पूर्वप्रधानमन्त्री टरिजा मे सन् २०१८ मा पार्टीका संसदहरूको विश्वासको मत जित्दा प्राप्त गरेको ६३ प्रतिशत मतभन्दा कम हो ।

यसबेला मेले ६ महिनापछि नै ब्रेक्जिट गतिरोधको कारण राजीनामा दिनुपरेको थियो । लेबर पार्टीका नेता केयर स्टामरले विभाजित कन्जरभेटिभ पार्टीले विश्वासको मतमा जोनसनलाई बचाएर सम्हालिन खोजेको बताएका छन् । जोनसन सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए।

ताजा खबर