एकीकृत समाजवादीका मन्त्रीहरु तत्काल परिवर्तन नहुने

२०७९ जेठ २३ सोमबार १६:५९:०० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु परिवर्तन नगर्ने सहमति भएको हो । आइतबार नेकपा एकीकृत समाजवादीले कानुनमन्त्रीबाहेक अन्य पाँच मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बन्नेहरुको सूची बुझाएका थिए । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णयसँगै समाजवादी पार्टीका तर्फबाट मन्त्री भएकाहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई यथावत राखिदिन आग्रह गरेका थिए ।

आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ ,जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई नयाँ मन्त्रीमा सिफारिस गरेको थियो । पार्टीको निर्णयविरुद्ध आफ्ना मन्त्रीहरुले प्रचण्ड र प्रधानमन्त्री देउवासँग यथावत रहन दिएको दबाबप्रति अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।

ताजा खबर