कोभिडले सौराहाका होटलका दक्ष जनशक्ति पलायन

२०७९ जेठ २३ सोमबार १३:३६:०० मा प्रकाशित

चितवन । तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित भएका छन् । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेरेका उनी कोभिडले होटल बन्द भएपछि पेशा नै छाडेर गाउँ फर्कन बाध्य भएका हुन् । विसं २०४७ मा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थालेका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जङ्गल क्राउनमा पाँच/पाँच वर्ष व्यवस्थापकको भूमिकामा रहे ।

कोभिड बढेसँगै युनिक वाइल्ड रिसोर्टबाट ३२ वर्षको अनुभव अन्त्य गर्दै आफ्नै गाउँ गोरखामा फर्किएर कृषि काम थालेका उनी भन्छन्, “अहिले म गोरखाको पालुङ्टारमा भैंसी, बाख्रा र खेतीपातीमै भुलिरहेको छु ।”

देवकोटाजस्तै धेरैको रोजगारी कोभिडले खोसेको थियो । लामो समयसम्म अनुभव बटुलेका दक्षजनशक्ति विस्थापित हुँदा अहिले होटल सञ्चालनमा कठिनाइ भएको छ । क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई ४० प्रतिशत दक्ष जनशक्ति कोभिडसँगै विस्थापित भएका बताउँछन् । कतिपय विदेशिएका छन् भने कतिपय स्वरोजगारीमा लागेका छन् ।

उनी भन्छन्, “काम गर्ने दक्षजनशक्ति पाउनै मुस्किल भयो ।” अनुभवी कुक, वेटर, हाउस किपिङ, म्यानेजर, मालीजस्ता महत्वपूर्ण पदका कर्मचारी र मजदुर नपाउँदा होटल सञ्चालनमा नै कठिन भएको अध्यक्ष भट्टराईको भनाइ छ । विभिन्न देशबाट आउने पर्यटकका लागि त्यसैअनुसारको खाना खुवाउनुपर्ने हुन्छ । भाषा पनि बुझ्नुपर्ने हुनाले सामान्य कर्मचारीलाई काम गर्न होटलमा कठिन हुन्छ । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे धेरैले पेशा नै परिवर्तन गरेको बताउँछन् ।

उनी भन्छन्, “आवश्यकताअनुसार जनशक्ति पाउनै मुस्किल छ ।” धेरैले स्वरोजगारका काम थालेका छन् । कतिपय कृषिमा लागेका छन् । गल्फ र अन्य देश जानेको सङ्ख्या पनि ठूलै रहेको घिमिरेको भनाइ छ । सौराहाको स्थानीय एक विद्यालयमा सिटिइभिटीको डिप्लोमास्तरको होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको छ । केही होटलले त्यही जनशक्तिबाट काम चलाएका छन् । सङ्घकै पहलमा कुक, वेटर, वेट्रेस, हाउस किपिङको पनि तालिम दिन लागिएको छ । सबैभन्दा ठूलो समस्या कुकको भएको व्यवसायीहरु बताउँछन् ।

पूर्णरुपमा काम जानेका जनशक्ति पाउन नै कठिन हुने गरेको सबैको गुनासो छ । सङ्घका महासचिव गुणराज थपलिया राम्रो जनशक्तिलाई जति रकम दिन्छुभन्दा पनि पाउन कठिन भएको बताउँछन् । बीचको समयमा फेरि कोभिड आउँछ कि भन्ने डरमा व्यवसायी रहेका थिए । अबका दिनमा होटल चल्छ भन्नेमा सबै पुगेका छन् ।

उनी भन्छन्, “काम गर्ने जनशक्ति हराए । खोज्दा पनि पाउन मुस्किल भयो ।” पहिले होटलमा काम गर्नेहरु दुई वर्षसम्म बेरोजगार हुँदा फरक फरक पेशामा लागिसकेकाले फर्कन तयार नभएको महासचिव थपलियाको भनाइ छ । सौराहामा १२० होटल सङ्घमा दर्ता भएका छन् । ती होटलमा छ हजार ५०० भन्दाबढी बेड छन् । त्यहाँ पाँच हजार ५०० मजदुरले काम गर्दथे । अहिले झण्डै आधा हाराहारीले होटल धानिरहेका छन् । क्रमशः पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

यतिबेला दैनिक ४०० हाराहारी पर्यटक थपिने गरेको सङ्घको अनुमान छ । कोभिडभन्दा अघि यो सङ्ख्या दुई हजार हाराहारी थियो । व्यवसायीहरु अब क्रमशः पर्यटक बढ्नेमा विश्वस्थ छन् ।

चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु र समुदायमा थारु संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहाका होटलमा ती पर्यटकका लागि अधिकांश स्थानीय मजदुर कर्मचारीलाई रोजगारी दिने गरिएकाले कम पारिश्रमिकमा काम लगाउन सकिने गरिएको थियो । स्थानीयवासीलाई घरपायक हुँदा कम तलबमा काम गर्दा पनि समस्या हुँदैनथ्यो ।

ताजा खबर