बलात्कार मुद्दामा हदम्याद राख्नुपर्छः सांसद चौधरी
2022-06-06-12-54-23.jpeg)
काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी कसुरको मुद्दामा हदम्याद राख्नुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै चौधरीले बलात्कारसम्बन्धी कसुरको मुद्दामा हदम्याद हटाउने कार्य गर्दा धेरै मुद्दाको चाङ लाग्ने भइ मुद्दाको सुनुवाइ नै हुन नसक्ने अवस्था आउन सक्ने बताएकी हुन् ।
उनले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने बताइन् । उनले भनिन्,‘महिला हुँ भन्दैमा महिलाको मात्र भावना राखेर हुँदैन । जबसम्म मन मिल्यो अनि लभ, नमिले बलात्कार हुने गरेका छन्। एउटा व्यक्ति र वर्गका लागि कानुन निर्माण गर्ने होइन । समग्र अवस्थालाई हेरेर कानुन निर्माण गर्नसपर्छ । महिलाले महिलाका लागि मात्रै कानुन बनाउनु हुँदैन ।’
उनले पूर्व सभामुख कृष्णबहादुर महरा अनाहकमा ६ महिना जेल बस्नु परेको बताइन् । उनले पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने बताइन् ।
उनले भनिन्,’विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ,कुन कुन अवस्थाका लागि हदम्याद राख्नुपर्छ भन्ने ख्याल गर्नुपर्छ ।’ उनले विवाह गर्ने उमेर २० वर्षबाट घटाउनुपर्ने पनि बताइन् ।