इम्बोस्ड नम्बरको आतंक बन्द गर्न गगन थापाको माग

२०७९ जेठ २३ सोमबार १२:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा थापाले इम्बोस्ड नम्बरको विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् ।

महामन्त्री थापाले इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भएको बताए। उनले राज्यको स्रोत र साधनले समेत उक्त समयभित्र सम्भव नभएको बताए।

उनले भने, ‘जबर्जस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’ दण्ड र जरिवानाको डर देखाएर सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिएको उनको भनाई छ।

उनले इम्बोस्ड नम्बर राख्न निकै महंगो पर्ने भएकाले पुनर्विचार गर्न समेत आग्रह गरे। सांसद् थापाले ठेक्का पाएको कम्पनी र ठेक्का सम्झौतामाथि पनि प्रश्न उठेको बताए। उनले भने, ’छिमेकीसँग तुलना गर्दा ६ गुणा महँगो तिरेर साउन १ गतेभित्र गर्ने भए गर नभएदेखि देखाइदिन्छु भनेर जसरी धम्की दिइएको छ। धम्कीको यो भाषा गलत छ । यसलाई खारेज गर्नुपर्छ। म तत्काल सरकारसँग माग गर्न चाहन्छु यसको तत्काल पुनरावोलकन होस्। सस्तो होस्। सास्ती नबनाइयोस्।’

राष्ट्रिय परिचयपत्र लिँदासमेत लाइनमा सास्ती व्योहर्नुपरेको उल्लेख गर्दै देवनागरी लिपिमा इम्बोस्ट नम्बर राख्न नसकेको विषयमासमेत थापाले प्रश्न उठाए।

ताजा खबर