अफ्रिकाबाहिर तीन सातामा मंकीपक्स सङ्क्रमितको सङ्ख्या ७८० पुग्यो

२०७९ जेठ २३ सोमबार ०९:२१:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सामान्यतया मङ्कीपक्स भाइरस नपाइने देशहरूमा ७८० जना सङ्क्रमण पुष्टि भएको जनाएको छ । यो कुल सङ्ख्या एक साताअघिको भन्दा तीनगुनाले बढी हो।

गत साता २५७ वटा सङ्क्रमण पुष्टि भएको थियो । डब्ल्यूएचओका अनुसार गत तीन सातामा सङ्क्रमित हुनेको सङ्ख्या सम्भवतः धेरै आक्नुपर्ने किसिमको छैन र विश्वव्यापी जोखिम स्तर मध्यम खालको रहेको छ । मङ्कीपक्सको सङ्क्रमण खासगरी सामान्य खालको हुने गर्छ। तर मध्य तथा पश्चिम अफ्रिकाबाहिर पहिलो पटक व्यापक रूपमा फैलिएको छ ।

अधिकांश नयाँ सङ्क्रमित व्यक्तिहरू युरोप तथा उत्तर अमेरिकामा फेला परेका हुन् । सानो सङ्ख्यामा सङ्क्रमित व्यक्तिहरू मेक्सिको, आर्जेन्टीना, मोरक्को र संयुक्त अरब एमिरेट्समा पनि फेला गरेका छन् बेलायतमा सबैभन्दा धेरै २०७ जना सङ्क्रमित फेला परेका छन् भने स्पेनमा १५६ जना र पोर्चुगलमा १३८ जना सङ्क्रमित पाइएका छन् ।

डब्ल्यूएचओकाअनुसार केही नयाँ सङ्क्रमितहरू यसअघि पुष्टि भएका सङ्क्रमित व्यक्तिहरू सम्पर्कमा पुगेको थाहा नभएका देखिएका छन् । त्यसको अर्थ सङ्क्रमणको चक्र पहिचान नगरिएका सङ्क्रमितसँग जोडिएको हुन सक्ने उसको ठम्याइ छ । अहिले फैलिरहेको मङ्कीपक्स सङ्क्रमणका कारण कसैको मृत्यु भएको तथ्याङ्क छैन ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म पुष्टि भएका सङ्क्रमितमध्ये अधिकांश समलिङ्गी यौन सम्बन्ध राख्ने पुरुषहरू रहेका छन् । मङ्कीपक्स सङ्क्रमण यौनसम्पर्कका कारण सर्छ भन्ने पुष्टि भइसकेको छैन, तर नजिकको सम्पर्कबाट सङ्क्रमण फैलने बताइन्छ । बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ ।

यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन । यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए । सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन् ।

केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ । मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ ।

यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ । अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ । सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ।

ताजा खबर